कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महँगियो दसैं

पोखरा ब्युरो

काठमाडौं — पर्वतको फलेवास–४ मुडिकुवाकी सरस्वती गौंडेललाई ५ सय ५० रुपैयाँमा दसैं मनाएको सम्झना ताजै छ । ‘साल ठ्याक्कै याद भएन, कुश्मामा गाडी आइसकेको थियो,’ उनले भनिन्, ‘चार सयका लुगाफाटो किनेर बाँकी डेढ सयले घरखर्चका सामान पुगेको थियो ।’

महँगियो दसैं

उनैले शनिबार दसैंका लागि लुगाफाटा र घरमा १४ हजार सिध्याइन् । ‘बाँकी हिसाब गरेकै छैन, घर रंगाउने, मासु खाने र दसैंको दक्षिणा गरी २० हजारभन्दा घटीले हुँदैन,’ उनले भनिन् । किनमेल गर्न शुक्रबार बजार झरेकी कुश्मा–१ पाङकी सरिता विकले ११ हजार सकिन् । तीन छोराछोरी र आफूलाई एक/एक जोर लुगामा पैसा सकिएपछि उनलाई दसैं मान्न चाहिने अरू खर्च कसरी जुटाउने भन्ने चिन्ता सुरु भएको छ । ‘उहाँ (श्रीमान्) ले दसैं मान्नु भनेर १५ हजार पठाउनुभएको थियो,’ उनले भनिन्, ‘एक हजार बाटो खर्चमै सकियो । बाँकी तीन हजारले के गर्नु ? एक किलो मासुमै दुई हजार जान्छ ।’

महँगो बजार र फेरिएको जीवनशैलीका कारण खर्च व्यवस्थापनमा मर्का परेका गृहिणीमध्ये गौंडेल र विक प्रतिनिधि पात्र मात्रै हुन् । आधुनिक फेसन र खानपानमा आएको विविधताले पनि कम आम्दानी भएकाको दसैं महँगो हुँदै आएको छ । लुगा, मोबाइल फोन, टेलिभिजन, फ्रिज आदि वस्तुको किनमेल धेरै परिवारले दसैंको छेको पारेरै गर्छन् ।

यससँगै दसैंमा खानैपर्ने च्यांग्राको मासु छँदैछ । च्यांग्राको भाउ पनि बढेको छ । कुश्माका लेखनाथ शर्माले भने, ‘दसैंमा च्यांग्रो फैसनै भइसक्यो । जति महँगिए पनि नखाई भएन नवरात्रि सुरु भएसँगै कुश्मा र आसपासका बजारक्षेत्रमा दसैंको किनमेल सुरु भइसकेको छ । आम्दानीको दरिलो स्रोत नहुनेहरूले गाउँका धनाढ्य तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर चाड मान्ने चलन छ । दसैंकै लागि गाउँबाट पढ्न र रोजगारी गर्न विभिन्न स्थान गएकाहरू घर फिर्न थालेका छन् । विदेशिएका श्रीमान्ले पठाएको रेमिट्यान्स लिन बजार झर्नेहरूको भीड उस्तै छ । ‘वर्षभरिको एक चौथाइ रेमिट्यान्स दसैंको एक सातामै बाँडिन्छ,’ कुश्माको ग्रामीण विकास कृषि सहकारीका अध्यक्ष राजु शर्माले भने, ‘दसैंका बेला झिकिने पैसा दसैंको रमझममै सकिन्छ ।’ १ लाख ४६ हजार जनसंख्या भएको पर्वतका करिब ३३ हजार युवा वैदेशिक रोजगारीमा गएको अनुमान छ । उनीहरूका परिवारले दसैंमा गर्ने न्यूनतम खर्च १५ हजारका दरले हिसाब गर्दा दसैंमा मात्रै ४९ करोड ५० लाख खर्च हुन्छ ।

चहलपहल गाउँमा
खाडी मुलुकमा काम गर्ने पाल्पाको रामपुर–१० गेझाका रमेश थापा दसैं मनाउन फर्केका छन् । उनी नवरात्रमा कोतघर जाने, देवीको पूजा गर्ने, साथीभाइसँग रमाउन व्यस्त छन् । खसी–बोका किन्ने, लिंगे पिङ, रोटे पिङ बनाउने, साथीभाइ जम्मा भएर रमाइलो गर्ने क्रम सुरु भएको छ । बसको यात्रामा भीड बढेको छ । दसैं लागेपछि सरसफाइ, बाटो मर्मत, कोतघरमा पूजा, देवीका थानमा पूजाआजा र रमाइलो गर्ने बढेका छन् । सिलुवाका केशव थापामागर तानसेनबाट क्याम्पस बिदा भएपछि गाउँ फर्किने हतारमा छन् । चाडपर्वका बेला बजारमा भन्दा गाउँमै रमाइलो लाग्ने उनले बताए । ‘बजारमा के हुन्छ भन्ने कुरा हुन्छ, गाउँमा छुट्टै मज्जा हुन्छ,’ उनले भने ।

थापा मात्रै होइन माथागढी, गोठादीका टेकबहादुर ढेंगामगर पनि बजारमा भन्दा गाउँमा दसैंको रौनक बढी हुने अनुभव सुनाउँछन् । ‘चाडपर्वको महत्त्व भनेको गाउँमा बढी हुन्छ,’ उनले भने, ‘त्यसैले बजारमा बसे पनि छोराछोरीको बिदा भएपछि छिटो गाउँ पुग्न मन लाग्छ ।’

भाडामा मनोमानी
जापानबाट आएका बागलुङ, गलकोटका कृष्ण खत्रीले शुक्रबार बागलुङ बजारबाट घर जाने गाडी पाएनन् । शनिबार बिहानको खाना पनि सदरमुकामकै होटलमा खाएपछि बल्ल दिउँसोको जिपमा सिट पाए । ‘चौबीस घण्टासम्म जिपकै लागि कुरेर बस्न बाध्य भएँ,’ उनले भने, ‘गाडी नपाएर बस्नुपर्दा थप दुई हजार खर्च भयो ।’ यस्तो समस्या भोग्ने धेरैजना भेटिएको खत्रीले बताए । दसैंको चहलपहलपछि सदरमुकामबाट गाउँ जाने सवारीसाधनमा भीड लाग्न थालेको छ । जिप चालकहरूले काउन्टरमा टिकट काट्न नदिएर चर्को भाडा असुली गर्न थालेका छन् । सदरमुकामदेखि गलकोटको ४ सय रुपैयाँ भाडा लाग्नेमा पाँच सयसम्म लिने गरेका छन् ।

फूलपातीदेखि ‘क्यु फ्री’ हुने भएकाले अघिल्लो वर्ष पनि दोब्बर भाडा तिर्नुपरेको गुनासो यात्रुहरूको छ । । ‘काम भ्याएर फर्कंदा अष्टमीमा मात्र जान सम्भव छ, त्यतिबेला दोब्बर भाडा लाग्छ,’ हरिचौरकी दुर्गा हमालले भनिन्, ‘पाँच जनाको परिवार गाउँ फर्कंदा १० हजार रुपैयाँ त भाडामै सकिन्छ ।’ सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग भएर गलकोट, खरवाङ, ग्वालीचौर, बुर्तिबाङ, देवीस्थान र बोहरागाउँ हुँदै निसीसम्म जिप चल्छन् । सदरमुकामदेखि निसीसम्मको एकतर्फी भाडादर नै १ हजार ३ सय तोकिएको छ । दसैंको मुख पारेर २ हजारसम्म तिर्न बाध्य पारिने देवीस्थानकी अमिसा कुँवरले गुनासो गरिन् ।

धौलागिरि यातायात जिप व्यवसायी समितिले भने सदरमुकामबाट दैनिक १ सय ५० जिप गाउँमा छुट्याएको ‘क्यु’ प्रमुख कुशल खड्काले बताए । केही जिपले काउन्टर छलेर चर्को शुल्क उठाएको गुनासो आएपछि समितिले छानबिन गरी कारबाही पनि गरेको छ । ‘यात्रीलाई समस्या नहोस् भनेर पहल गरिरहेका छौं तर केही यात्री अझै ठगिएको गुनासो आएको छ,’ उनले भने । धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले पनि मुख्य बजार क्षेत्रमा बस चलाएको छ । बिहुँ, कुश्मीसेरा, लेखानी र हरिचौरलगायतका स्थानमा जिपसँगै बस पनि चलेकाले यात्रुलाई केही सहज छ ।

खर्च जुटाउन मजदुरी
गोरखाको गुम्दा गाउँकी ५५ वर्षीया तिसमाया गुरुङलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले पिरोलेको छ । उनी बिहानैदेखि घर बनाउने इँटा र बालुवा बोक्छिन् । साहूले दिए दैनिक ८ सय र ठेकेदारले दिए ६ सय रुपैयाँ हात पर्छ । ‘दसैं त आयो । कामले कहिल्यै छाडेन,’ ३० वर्षदेखि बेंसीसहरको सहजीमा बस्दै आएकी उनले भनिन्, ‘दु:खको कुरा भनिसाध्यै छैन ।’ श्रीमान् पनि घर बनाउने काम गर्छन् । छोरा–छोरी पढ्छन् ।

१५ वर्षदेखि लमजुङमा रहेका गोरखा लाप्राकका कान्छा गुरुङ अग्लाअग्ला घरमा कुनै डोरी वा बेल्टबिनै इँटा थप्ने र प्लास्टरको काम गर्छन् । सिजनका बेला उनी कहिलेकाहीं पर्यटकको भरिया बोकेर मनाङ जान्छन् । श्रीमती बुमानी पनि उनीसँगै मजदुरी गर्छिन् । ‘कहिले काम पाइन्छ । कहिले पाइँदैन । काम नपाएको दिन पैसा हुँदैन,’ बुमानीले भनिन्, ‘जसोतसो पेट पाल्ने हो । कहिलेकाहीं त लाग्छ, चाडबाड पनि नआए हुन्थ्यो ।’ दसैंमा पैसाबिना सबै कुराको खाँचो पर्ने उनले बताइन् । ‘सबैभन्दा बढी अरूको देखासिखीले समस्या भयो, बच्चाहरू मान्दैनन्,’ उनले भनिन् ।

बेंसीसहर, सुन्दरबजार, भोटेओडार, भोर्लेटार, खुदी र भुलभुलेलगायत क्षेत्रमा अस्थायी बसोबास गरी वर्षौंदेखि गोरखा, धादिङ, चितवनलगायत जिल्लाका बासिन्दा मजदुरी गर्दै आएका छन् । पुरुष घर बनाउन खटिन्छन् । महिला बालुवा र ढुंगा बोक्छन् । हिउँदमा उनीहरू बालुवा चाल्ने काम गर्छन् । स–साना बालबालिका पनि अभिभावकसँगै काम गर्छन् । ज्यालामजदुरी गर्नेहरूमध्ये धेरै परिवार चाडपर्वमा पनि गाउँ फर्कन सक्दैनन् । ‘गाउँ टाढा पर्छ । हिँडेर जाने कुरा भएन । गाडीमा जाँदा लाग्ने खर्चले यहाँ दसैंतिहार मनाउन पुग्छ,’ गोरखाका भद्रबहादुर गुरुङले भने ।
(अगन्धर तिवारी/पर्वत, माधव अर्याल/ पाल्पा, प्रकाश बराल/बागलुङ र आश गुरूङ/लमजुङ र प्रतीक्षा काफ्ले/स्याङ्जा, सुदीप कैनी/गोरखा)

प्रकाशित : आश्विन ८, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?