कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बादी समुदायमा बढ्यो उल्लास

वसन्तप्रताप सिंह

बझाङ — विगतका दसैंंमा टोल छिमेकमा रमझम हुन्थ्यो । छिमेकीले खसीबोका काटेको, नयाँ लुगा लगाएको र मीठोमसिनो खाएको देखेर छोराछोरी आफलाई पनि चाहियो भन्दै कराउँथे । थलारा गाउँपालिकाकी पुनी बादीका आँखा आँसुले भरिन्थे । केही सिप नलागेपछि मीठोमसिनो माग गर्ने बच्चालाई थप्पड लाएर चुप लगाउँथिन् । उनी अर्काे कुनामा फर्केर रुन्थिन् ।

‘यो अवस्था पुनीको मात्र होइन थलाराका २८ बादी परिवारको यथार्थ हो । स्थानीय मदन बादी भन्छन्, ‘दसैंंतिहार आयो कि हुनेखानेका घरमा खुसी फैलन्थ्यो । हाम्रो टोलमा भने दु:खका दिन भित्रिन्थे । अरूको देखासिकी गरेर केटाकेटीहरूले मीठो खाना र लुगा मागेर हैरान पार्थे ।

दसैं आउनुअघिदेखि नै चिन्ता सुरु भइहाल्थ्यो ।’ यो दसैंमा भने गाउँका अन्य टोलभन्दा बादी टोलको चमकधमकमा कमी छैन । ‘घटस्थापनाको दिन देखि नै टोलमा खसी ढाल्न थालिसके,’ स्थानीय कृष्ण बादीले भने, ‘बालबच्चादेखि बूढाबूढी सबै खुसी देखिएका छन् ।’ वर्षौंदेखि प्लास्टिकका टुक्राको ओतले बचाएका छाप्रामा बस्दै आएका विपन्न बादी समुदायको यो खुसी सरकारको जनता आवास कार्यक्रमले फर्काएको हो । कार्यक्रमले घर बनाउन अनुदान दिएपछि टोलमा उल्लास देखिएको छ । ‘कोही सिकर्मी काम गर्छौं, कोही डकर्मी छौं,’ घर बनाउँदै गरेका गणेश बादीले भने, ‘केहीसीप नभएकाहरू ढुंगा बोक्ने, गाह्रो मुछ्ने काम गर्छन् । सबैले काम पनि पाएका छौं । पैसा पनि पाएका छौं ।’ आफ्नो नयाँ घर पनि पनि हुने र काम गरेबापत दैनिक आम्दानी पनि हुन थालेपछि यो टोलमा अहिले कोही पनि बेरोजगार छैनन् । 

प्रत्येक परिवारले महिनामा ४०/५० हजार रुपैयाँ कमाइ गरेको उनले सुनाए । सबै काम समुदायकै व्यक्तिले गरेको र नजानेको कामका लागि मात्र ज्यालामा अरूको सहयोग लिने गरेको उनले बताए ।

‘यो जुनीमा मेरो आफ्नै पक्की घर होला । आफ्नै हातले घर बनाउँला भनेर कहिल्यै सोचेको थिइनँ,’ ५९ वर्षीय दिल्फे बादीले भने, ‘अहिले सबैका पक्की घर एकैपटक बन्न लागेको देख्दा त सपनाजस्तै लाग्छ ।’ जिल्लाका विपन्न दलित परिवारका लागि भनेर जनता आवास कार्यक्रमले सय घर निर्माण गर्न लागेको छ । साबिक थलारा र चैनपुर गाविसमा पहिलो चरणमा २८ घर निर्माण भइरहेको निर्माण उपभोक्ता समिति अध्यक्ष अमर बादीले बताए ।

कार्यक्रमले घर निमार्णका लागि प्रतिपरिवार २ लाख ५० हजारका दरले ३ किस्तामा रकम उपलब्ध गराउने सम्झौता गरेको उनले बताए । घर निर्माण सुरु भएपछि पहिलो किस्ताबापत प्रतिपरिवार ५८ हजार र दोस्रो किस्ता ७० हजार गरी १ लाख २८ हजार रकम पाइसकेको र तेस्रो किस्ता पनि निकासाको प्रक्रियामा रहेको अमरले बताए ।

प्रकाशित : आश्विन १०, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?