कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘यता टाल्यो उता प्वाल’

तुलाराम पाण्डे

कालीकोट — खाँडाचक्र–२ मेग्रका नरी विश्वकर्मा दसैं मनाउन साताअघि भारतको नैनीतालबाट घर फर्किएका छन् । गत मंसिरमा भारत पसेका विश्वकर्माले ९ जनाको परिवारका लागि नयाँ कपडा र केही नगद ल्याएका छन् ।

दसैंमा खसी काट्दा कमाएर ल्याएको रकम सकिने हुँदा छरछिमेकमा खसी वा राँगो जे काटे पनि २/३ हजारको मासु ल्याएर परिवारलाई खुवाउने उनको योजना छ । उनले खर्च बढी हुने सुनाउँदै भने, ‘यता टाल्यो उता कानो (प्वाल) पर्छ ।’ बरु टीका लगाउन आउने आफन्तका लागि दिने ५, १०, २० र ५० का नयाँ नोट पनि उनले जुटाइसकेका छन् । ‘चाडपर्व हो, रमाइलो त गर्ने पर्‍यो,’ सोमबार दिउँसो मान्मस्थित खाद्य संस्थानमा चामल लिन आएका विश्वकर्माले कान्तिपुरसँग भने, ‘गरिबका लागि दसैं दशाजस्तै हुन्छ ।’

पचालझरना ७ नानीकोट मयगाउँका अम्मरे टमट्टाको दसंै पनि भिन्न छैन । यसपालिको दसैंमा घरमा खसीबोका पालेका त छैनन् । तर, बारीभरि पेठो (कुभिन्डो) भने फलाएका छन् । नहुने परिवारले पेठोलाई खसीका रूपमा मार हानेर नवदुर्गाको पूजा गर्ने चलन छ । ‘खसी किन्ने पैसा छैन ।’ दसैंका लागि घरायसी सामान लिन मान्म पुगेका टमटाले भने, ‘पेठोको बलि दिने योजना छ ।’ उनले दसैंका बेला मासु नभए केटाकटी नमान्ने हुँदा छिमेकी कसैको घरबाट २/४ केजी खरिद गरी ल्याउने बताए । उनको घरमा फलेको कुभिन्डो मार हान्न अरूले पनि राखिदिनु भनेका छन् । ‘पहिले त सित्तैमा पाइन्थ्यो,’ टमटाले कुभिन्डो गाउँमै बिक्न थालेको सुनाउँदै भने, ‘अचेल ५० रुपैयाँसम्म पर्छ ।’ 

तिलागुफा नगरपालिका–४ राँचुलीका जनकबहादुर शाहीले यसपालिको दसैंका लागि रतडा गाउँबाट १३ हजारमा खाल्बा (भाले भेडो) खरिद गरी ल्याइसकेका छन् । उनले आफ्नै घरमा मार हान्ने भए पनि भेडाको मासु भने छिमेकका ५ परिवारलाई २/२ हजारका दरले १० हजार बिक्री गर्ने र ३ हजारको मासु आफ्नै घरमा राख्ने सोच बनाएका छन् ।

‘सिंगै खसीको मासु खान सकिँदैन,’ उनले भने, ‘बाँडीचुँडी खाँदा रमाइलै हुन्छ ।’ उनको टोलमा दसैं, तिहार, चैते दसैंजस्ता चाडबाडमा पालैपालो घरमा खसी काट्ने र मासु बाँडेर खाने चलन छ । दसैंतिहारजस्ता चाडबाड कर्णालीवासीका लागि अहिले महँगो बन्दै गएको छ । विगतमा आफ्नो घरमा जेजस्तो पाइन्छ त्यसैमा सन्तोष मानेर चाडबाड मनाइने चलन रहे पनि अचेल देखासिकीमा एक पटकको चाडले वर्षभरि ऋण बोकाएर जाने गरेको छ । घरमा नभए पनि ऋण गरी मदिरा खाने, फजुल खर्च गर्ने प्रवृत्ति बढ्दो छ । अभावमा कर्णाली क्षेत्रमा वस्तु विनिमय निकै राम्रो परम्परा छ । अझै पनि कतिपय गाउँठाउँमा कायमै छ । 

दसैंतिहारजस्ता चाडबाडामा छरछिमेकमा हुनेले नहुनेलाई खाद्यवस्तु, दही, दूध बाँडेर खाने राम्रो चलन छ । कसैको घरमा गाईभैंसी दुहुना छैनन् भने भएका  घरकाले नहुनेलाई चाडबाडको दिनमा घरमै गएर पुर्‍याउने अभ्यास छ । त्यसो गर्दा छिमेकीमा सद्भाव र सहयोगको आदानप्रदान भइ आत्मीयता पनि बढ्ने गरेको खाडाचक्रका पण्डित जयचन्द्र अधिकारीले सुनाए । ‘सधैं सबैको घरमा सबै कुरा हुन्छ भन्ने छैन,’ अधिकारीले सहरको तुलनामा गाउँमा मानवता र सहयोगी भावना बढी भएको सुनाउँदै भने, ‘बाँडेर खाने राम्रो चलन हाम्रो ठाउँमा छ ।’

दसैंले समाजलाई जाड्ने भएकाले महत्त्व रहेको ताडीका ज्योतिष महारूप पाण्डेले सुनाए । ‘घरबाहिर रहेका सबै आफन्त घर फर्किन्छन्,’ ७९ वर्षीय पाण्डेले भने, ‘भेटघाटको माध्यम भएको छ ।’ उनले २० वर्षअघिको दसैं र अहिलेकोमा निकै फरक महसुस हुन थालेको सुनाए । ‘दसैंको बिहान भात, मासु र बेलुकी खीर, टाटेबाबर (पुरी–सेल) पकाएर खाने चलन थियो,’ उनले चाडबाडका नाममा विकृति आएको सुनाउँदै भने, ‘अहिले त मदिरा पिएर गाउँघरमा अशान्ति मच्चाउँछन् ।’

‘पहिले पहिले घरमा अन्नपात धेरै हुने, गाईभैंसी, घोडा भेडा बढी हुने घरलाई धनी भन्ने चलन थियो,’ नागरिक समाजका अगुवा मेघराज न्यौपानेले भने, ‘अचेल जागिर र व्यापार गर्ने सम्पन्नजस्ता देखिन्छन् ।’ उनले हुनेले गरेको खर्चको देखासिकी गर्दा नहुने ऋणमा डुब्नुपर्ने अवस्था रहेको बताए । कर्णालीका कालीकोट, जुम्ला र मुगु सडक सञ्जालसँग जोडिएसँगै सदरमुकाम आसपासका गाउँमा चामल अभाव हुन छाडे पनि सडकबाट टाढा रहेका हुम्ला, डोल्पा र सडकसँग नजोडिएका बस्तीका नागरिक दसैंमा भात खान चामलकै खोजीमा हुन्छन् । 

प्रकाशित : आश्विन १०, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?