कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ–गाउँमा चहलपहल

कान्तिपुर संवाददाता

संखुवासभा — खाँदबारी ढुंगेधाराका रामबहादुर श्रेष्ठ घटस्थापना सुरु भएसँगै दसैंको तयारीमा जुटेका छन् ।

उनले घरबाहिर चुन लगाएका छन् भने भित्र रातोमाटोले पोतेर चिटिक्क पारेका छन् । मंसिरमा पाकेको धान दिने वचन गरी छिमेकीसँग दसैं खर्च जुटाएको उनले बताए । उनको खेतमा वार्षिक ३० मुरीभन्दा बढी धान फल्छ ।
१० हजार रुपैयाँ सापटी लिएर उनले नुन, तेल, मरमसला, दसंैलाई एउटा बोकासमेत किनेको बताए । सामान्य कृषक रहेका श्रेष्ठ यो वर्षको दसंै मज्जाले मनाउने तयारीमा छन् । दसंैका लागि १ छोरा र २ छोरीलाई नयाँ कपडासमेत किनिसकेको उनले बताए । ‘छोराछोरीलाई नयाँ कपडा पनि किनिसकें,’ उनले भने, ‘वर्षमा एकपटक आउने दसंैमा रमाइलो त गर्नुपर्‍यो नि ।’
विगतका वर्षमा भन्दा यो वर्ष दसंैको किनमेल गर्दा महँगो भएको उनले सुनाए । अहिले गाउँका प्राय: घर चुना, कमेरो र रातोमाटोले सजिएका छन् । घटस्थापनापछि बाहिरका जिल्लाबाट आउने यातायातका साधनसमेत बाक्लिन थालेको छ । खाँदबारीस्थित बसपार्कमा रोजगारका लागि विदेशिएका र पढ्नका लागि सहर गएकाहरू पनि धमाधम घर फर्किएको देख्न सकिन्छ ।
प्रहरीले पनि दसैं आगमनसँगै जिल्लामा सुरक्षा व्यवस्थालाई कडा बनाउँदै लगेको जनाएको छ । यसका लागि ग्रामीण क्षेत्रसम्म गस्ती बढाएको प्रहरी नायब उपरीक्षक सन्तोष खडकाले बताए ।
चाडबाडमा सवारी दुर्घटना अत्यधिक हुने सम्भावना भएकाले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक चेकिङलाई पनि कडाइ गरिएको छ । जुवातास खेलेको तथा खेलाउने गरेको, मादकपदार्थ सेवन गरी होहल्ला झैझगडा गरेको पाइए तत्काल पक्राउ गरी कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

प्रकाशित : आश्विन १०, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?