जोखिम घटाउन ‘हाइवे गस्ती’

मध्यपश्चिम ब्युरो

काठमाडौं — चाडपर्वका बेला सवारी दुर्घटना रोक्न र मानवीय क्षति हुन नदिन क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय नयाँ रणनीतिका साथ अगाडि बढेको छ । उसले सवारी साधन जाँचमा कडाइ गरेको जनाएको छ ।

जोखिम घटाउन ‘हाइवे गस्ती’

जतासुकै दसैंको रमझम सुरु भइसकेको छ । खचाखच भरिएका सवारी साधन तीव्र गतिमा गुड्दा दुर्घटनाका सम्भावना पनि बढेका छन् । यस्तोमा यात्रुले सावधानी अपनाउनुपर्ने त छँदै छ, प्रहरी–प्रशासन र यातायात व्यवसायीले पनि पर्याप्त चासो देखाएर लापरबाही नियन्त्रण गर्नुपर्ने देखिएको छ । दसैंका बेला हुने जोखिम कम गर्न प्रहरीले ‘हाइवे गस्ती’ गरिरहेको जनाएको छ । ठाकुरसिंह थारू/नेपालगन्ज, प्रकाश अधिकारी/सुर्खेत र गिरुप्रसाद भण्डारी/प्यूठानको रिपोर्ट : 

क्षमताभन्दा बढी यात्रु बोक्ने, छतमा यात्रु राख्ने, ढोकामा यात्रुलाई उभ्याएर राख्नेलगायतका काम रोक्न विशेष चासो देखाइएको छ । रातिको समयमा जाँच बढाइएको छ । मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई कारबाही भइरहेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले चाडपर्वका बेला हुने दुर्घटना नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गरिरहेको बताए ।

‘पूर्व–पश्चिम राजमार्गको भालुबाङमा ‘रिफ्रेस’ कक्ष स्थापना गरिएको छ । लामो दूरीका चालकलाई केहीबेर आराम गर्न यो व्यवस्था गरिएको हो । दुर्घटना नियन्यत्रका लागि मध्यपश्चिम क्षेत्रका सबै ट्राफिक प्रहरी कार्यालयको सक्रियता बढेको छ,’ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक खडका भन्छन्, ‘गल्ती गर्ने चालकलाई कारबाही गरिरहेका छौं ।’

क्षेत्रीय ट्राफिक प्रहरीको तथ्यांकअनुसार २०७२ को दसैं र तिहारका बेला पनि ४८ दुर्घटना भएका थिए । दुर्घटनामा परी ३९ जनाको ज्यान गएको थियो भने ४५ जना घाइते भएका थिए । ०७१ को दसंै,तिहारका समयमा १ सय ४० दुर्घटना भएका थिए । ७१ जनाको ज्यान गएको थियो भने ४४ घाइते भएका थिए । दुर्घटनाका क्रममा चालकको लापरबाही देखिने गरेको छ । बढी पैसा कमाउने प्रलोभनमा बढी यात्रु राख्दा दुर्घटना भई मानवीय क्षति बढी हुने गरेको हो । गत वर्ष पुनरावेदन अदालत नेपालगन्जले क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, सिट संख्याबाहेक यात्रु राख्न नदिन बाँकेका सुरक्षा अधिकारीको नाममा आदेश दिएको थियो ।

‘हाइवे गस्ती’
अत्यधिक यात्रुको भार, समितिहरूबीचको तीव्र प्रतिस्पर्धाका कारण चाडपर्वका बेला दुर्घटना हुन सक्ने भन्दै प्रहरीले ‘हाइवे गस्ती’ सुरु गरेको छ । सम्भावित दुर्घटना रोक्न प्रहरीले बस व्यवसायीसँगको समन्वयमा सडक सुरक्षा अभियान सञ्चालन गरेको छ । वीरेन्द्रनगरबाट रत्न राजमार्ग, कर्णाली राजमार्ग, छिन्चु जाजरकोट, सुर्खेत–दैलेख, सुर्खेत–दुल्लूलगायतका सानाठूला रुटमा प्रहरीले गस्ती गर्न थालेको छ ।

ट्राफिक प्रहरी, सादा पोसाकका प्रहरी, व्यवसायी समिति र यातायात व्यवस्था कार्यालयका प्रतिनिधिले अनुगमनसमेत थालेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । मध्यपश्चिमको पहाडी सडकमा विशेषगरी छिन्चु–जाजरकोट र कर्णाली राजमार्ग दुर्घटनाको जोखिममा रहेकाले बढी सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख कविराम सेञ्चुरीले राजमार्ग क्षेत्रमा पुगेर क्षमताभन्दा बढी भाडा असुल्ने सवारी साधनको अवस्था अवलोकन गर्नुका साथै आवश्यक कारबाही गरेको बताए । 

प्रहरी चेकपोस्टलाई छलेर सवारी साधनमा अत्यधिक यात्रु बोक्ने प्रवृत्तिलाई कडाइ गर्न हाइवे गस्ती थालिएको उनको दाबी छ । सुर्खेतबाट मध्यपश्चिम, काँक्रेविहार, देउती नागरिक, बुलबुले यातायात समिति सेवा सञ्चालन गर्दै आएका छन् । ‘सिन्डिकेटको समस्या नरहेकाले बस समितिबीच विगतमा जस्तो अनावश्यक प्रतिस्पर्धा छैन,’ उनले भने, ‘तैपनि चाडपर्वका बेला अप्रिय घटना नहोस् भनेर कडा निगरानी गरेका छौं ।’

प्रहरीले राजमार्गमा चालकलाई रिफ्रेसका लागि सेन्टर स्थापना, ट्राफिक नियमबारे जानकारी गराउने गरेको छ । त्यस्तै, सुर्खेत बसपार्कमा नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ । काँक्रेविहार यातायात समितिका सचिव रमेश सापकोटाले पहाडी जिल्लामा गाडी केही अपुग भए पनि व्यवस्थापन गरेको दाबी गरे । ‘नेपालगन्ज–सुर्खेत रुटमा गाडीको समस्या छैन । पहाडी भेकमा समस्या छ । तैपनि, व्यवस्थापन गरिरहेका छौं’, उनले भने, काठमाडौं जाने गाडीलाईसमेत समितिले संकलन गर्ने शुल्क दसैं–तिहारसम्मका लागि मिनाहा गरेका छौं ।’ 

दसैं–तिहारलाई लक्षित गर्दै काँक्रेविहारले दैनिक २५ भन्दा बढी ठूला गाडीबाट यात्रुलाई सेवा दिइरहेको छ । यातायात समितिले यात्रुको चापलाई मध्यनजर गर्दै गाडीको संख्या थपेको जनाएका छन् । 

प्यूठानमा सहज बन्दै यातायात
पछिल्लो समय जिल्लामा नमस्ते यातायात प्रालि थपिएपछि यातायातमा सहज भएको छ । यसअघि स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिति मात्र सञ्चालनमा थियो । दुई महिनाअघि सञ्चालनमा आएको नमस्तेले ७ वटा बस सञ्चालनमा ल्याएको छ । यसले जिल्लाबाट काठमाडौं, तुलसीपुरलगायत स्थानमा सेवा दिएको प्रालिका डिलबहादुर दसौदीले बताए ।

जिल्लाका विभिन्न व्यापारिक केन्द्रमा टिकट काउन्टर सञ्चालन गरी स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समितिले सेवा दिएको छ । समितिले चकचके, दाखाक्वाडी, बिजुवार, जुम्री, बाग्दुला, मच्छी, खलंगा, बरौला, बाहाने, ठूलाबेंसी, बांगेफेदी, भिंगृलगायत स्थानमा काउनटर सञ्चालन गरेको छ । दसैंलाई लक्षित गरी समितिले सेवालाई थप गर्दै लगेको समितिका महासचिव चन्द्रमान श्रेष्ठले जानकारी गराए । काठमाडौंबाट विगतको भन्दा दोब्बर संख्यामा बस छुटाएको उनले बताए । समितिले हाल सानाठूला गरी १ सय ६० वटा बस सञ्चालनमा ल्याएको श्रेष्ठले बताए । छिटै ३० वटा मिनी बस थप गर्ने योजना रहेको उनले जानकारी गराए ।

जिल्लाका आन्तरिक सडकमा भने जोखिम कायमै छ । विगतका वर्षमा जिविसले दसैं,तिहारलाई लक्षित गरी बाटो मर्मत गर्ने गरे पनि यस वर्ष उक्त काम हुन सकेको छैन । जिल्लाका केही स्थानीय तहले मात्र दैनिक सञ्चालन हुने सडकको मर्मत गराएका छन् । अधिकांश गाउँमा पुग्ने ग्रामीण सडकमा यात्रु जोखिम मोलेरै भए पनि यात्रा गर्न बाध्य छन् । जिल्लाका सबै ग्रामीण सडकमा स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समितिले सवारी सञ्चालन गरेको छ । जिल्लाको व्यस्त सडकका रूपमा रहेको बाग्दुला–बाहाने सडक मर्मत नहुँदा यात्रुले धेरै दु:ख पाएको स्थानीय महेश थापाले बताए । 

प्रकाशित : आश्विन १०, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?