कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पाँच गुणा यात्रु

अगन्धर तिवारी

पर्वत — जलजला–५ लेकफाँटबाट आइतबार साँझ फर्किने क्रममा गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले उकालो कच्ची बाटोमा उक्लिँदै गरेको जिपका चाललाई सोधे, कति जना यात्री छन् बाबु ? ती चालकले सहजै भने ‘२६ जना ।’ मल्लले जिब्रो काढे ।

पाँच गुणा यात्रु

ट्राफिक नियमको धज्जी उडाउँदै सवारी चालकहरूले ५ देखि ८ गुणासम्म यात्रु कोचेर जोखिमपूर्ण यात्रा गराइरहेका छन् । महिन्द्रा र बोलेरो जिपले हिजोआज हरेक खेपमा २५ देखि ४० यात्रु बोकेर ग्रामीण कच्ची बाटोमा ओहोरदोहोर गरिरहेको देख्न पाइन्छ । 

५ सिटमात्रै क्षमता भएका यस्ता जिपहरूले यात्रीसँगै अटेसम्मका सामान पनि बोक्छन् । दसैं मान्न सहरबजारबाट गाउँ फर्किने तथा बजारमा किनमेलबाट फर्किने गाउँलेलाई भेडाबाख्राझैं कोचेर कच्ची सडक मुस्किलले छिचोल्ने व्यवसायीको दैनिकी छ । जिपको भित्र–बाहिर र साइडमा मात्रै नभएर छतभरि यात्रु कोचेर कच्ची बाटोमा मुस्किलले गन्तव्यमा पुग्न हतारिएकालाई सम्भावित जोखिमबारे भने कुनै प्रवाह छैन । ट्राफिक प्रहरीले पनि यसतर्फ चासो देखाएको छैन । 

जिल्लाका करिब ३५ मुख्य सडकमध्ये एक–दुईबाहेक कुनै पनि सडक दोहोरो सवारी गुड्न सक्ने छैनन् । चल्तीमा आएका सडक पनि वर्षाको बाढीले भत्किएर जीर्ण बनेका छन् । बाढीले ठूल्ठूला खोल्सा पारेको सडकमा माटोले पुर्दै र धकेल्दै गन्तव्यमा पुग्न सहज छैन । 

हाल चलनचल्तीमा आएकामध्ये कतिपय सडकको रुट परमिटसमेत छैन । त्यस्ता सडकमा सवारी गुडाएर कुनै क्षति भए त्यसको क्षतिपूर्ति बीमा कम्पनीले समेत व्यहोर्दैन । परमिट पाएका सडकमा पनि ५ सिटमात्रै मान्छे बस्न मिल्ने सवारी दुर्घटना भएर धेरै मानवीय क्षति भए त्यसको क्षतिपूर्ति सवारीधनीले नै व्यहोर्नुपर्ने ट्राफिक प्रहरीको भनाइ छ । 

‘सिटबाहेकको क्षतिपूर्ति कुनै निकायबाट आउँदैन,’ ट्राफिक प्रमुख महेन्द्र रानाभाटले भने, ‘त्यस्ता धेरै कुरा हामीले पटकपटक भनेका छौं । लुकीछिपी यात्रु कोच्ने क्रम घटदैन ।’ प्रमाणसहित आएका उजुरीउपर नियमानुसार कारबाही गरिएको ट्राफिक प्रहरीको दाबी छ । ‘जिपले धेरै यात्री बोक्यो भन्ने गुनासो आउँछ,’ रानाभाटले भने, ‘फलानो नम्बरको यात्री भनेर आए कारबाही गर्न सहज हुन्थ्यो ।’ छोटो समयमा पैसा कमाउने लोभमा व्यवसायी भने ट्राफिक प्रहरी र नियामक निकायको आँखा छलेर सर्वसाधारणको जीवनसँग खेलवाड गरिरहेका छन् । ‘आम्दानीको मुख्य सिजनै यही हो,’ एक चालकले भने, ‘अरु बेला खालीखाली हिँड्नुपर्छ । यो बेला पाएका मान्छे छाड्ने कुरै भएन ।’ 

चाडपर्वलाई खाद्यान्नको जोहो गर्न तथा सदरमुकाम आउजाउ गर्दा सवारी अनिवार्य भएकाले कोचिएरै भए पनि यात्रा गर्नु बाध्यता भएको सर्वसाधारण बताउँछन् । ‘आवश्यक परेकै बेला गाडी पाइन्न,’ लेकफाँटका प्रेमलाल सुवेदीले भने, ‘दिनमा एक–दुई मात्रै चल्ने गाडीमा जति भीड भए पनि चढ्नैपर्‍यो ।’ ग्रामीण सडकको स्तरोन्नति र सवारीसाधनको सहज पहुँच भए जोखिमको यात्रा कम हुने स्थानीयको बुझाइ छ । ग्रामीण सडकले गाउँवासीको हिँड्ने बानी हटेकाले सवारीको यात्रा जस्तोसुकै जोखिम भए पनि त्यसको विकल्प नभएको रविन सुवेदीले बताए ।

दसैं मुखैमा आइसक्दा पनि ग्रामीण क्षेत्रमा वर्षाले क्षतिग्रस्त सडक मर्मत नहुँदा पनि यात्रामा जोखिम बढेको छ । यसपालि मनसुन नरोकिँदै दसैं सुरु भएकाले दसैंअघि सडक मर्मत गर्न समस्या परेको सरोकारवाला बताउँछन् ।

प्रकाशित : आश्विन १०, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?