१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पूर्वी नवलपरासी अब ‘नवलपुर’

कान्तिपुर संवाददाता

नवलपरासी — पूर्वी नवलपरासीको पहिलो सभाले जिल्लाको नाम नवलपुर र त्यसको सदरमुकाम कावासोतीमा राख्ने सर्वसम्मत निर्णय गरेको छ ।

८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसहितको पहिलो जिल्ला सभाले सुस्ता बर्दघाट पूर्वको भागमा पर्ने जिल्लाको नाम नवलपुर राख्ने निर्णय गरेको हो । सदरमुकाम कावासोतीमा राख्ने निर्णय गर्दै सरकारलाई अनुमोदनका लागि अनुरोध गरिएको छ । सरकारले नवलपरासीलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरेपनि जिल्ला र सदरमुकामको नाम टुंगो लगाएको थिएन ।
यसअघि सुस्तादेखि बर्दघाटपश्चिमको भागलाई नवलपरासी (क) र पूर्वको क्षेत्रलाई नवलपरासी (ख) मानेर काम भइरहेको थियो । एउटै जिल्ला २ प्रदेशमा विभाजन भएका कारण यहाँ स्थानीय तहको निर्वाचन पनि दुई चरणमा भएको थियो । स्थानीय विकास अधिकारी पनि २ जना खटाइएको छ ।
स्थानीय विकास अधिकारी विजयराज पौडेलले केही दिनमा जिल्ला समन्वय समितिको निर्वाचन हुने र कावासोतीमै त्यसको कार्यालय राख्न निर्वाचित जनप्रतिनिधिले सर्वसम्मत निर्णय गरेको समेत जानकारी दिए । यसअघि बर्दघाट, सुस्तापश्चिमको क्षेत्रलाई नवलपरासी जिल्ला र त्यसको सदरमुकाम हालको परासीमा नै रहने सहमति भइसकेको छ ।

पाँच महिनापछि जिल्ला समन्वय समिति
पश्चिम रुकुम जिल्ला समन्वय समिति ५ महिनापछि मात्रै पूर्ण भएको छ । पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएको पश्चिम रुकुम समन्वय समिति आइतबार मात्रै गठन भएको हो । साबिकको रुकुम दुई जिल्ला बनाइएपछि जिल्ला समन्वय समिति गठनमा ढिलाइ भएको हो । आइतबार राजकुमार शर्मा प्रमुख रहेको ९ सदस्यीय पश्चिम रुकुम जिल्ला समन्वय समिति गठन भएको छ ।
उपप्रमुखमा इन्दिरा बीएम नाथ निर्विरोध निर्वाचित भइन् । सदस्यमा अमृत बोहरा, धनवीर ओली, टेकबहादुर ओली, नउम घर्ती, निर्मला रसाइली, चिमिली सुनार र विष्णु सुनार रहेका छन् । प्रमुख शर्माले चौरजहारी नगरपालिका–१४ बाट वडा सदस्य जितेका थिए भने उपप्रमुख नाथ बाँफिकोट गाउँपालिका–२ बाट निर्वाचित भएकी थिइन् ।

चार महिनापछि जिसस
पूर्वी रुकुम जिल्ला समन्वय समिति ४ महिनापछि गठन भएको छ । दोस्रो चरण अर्थात् गत असार १४ मा स्थानीय तहको निर्वाचन भए पनि जिल्ला समन्वय समितिको निर्वाचन भने आइतबार भएको हो । आइतबार भएको निर्वाचनबाट निर्विरोध समन्वय समिति गठन भएको हो । भूमे गाउँपालिका–६ बाट निर्वाचित सदस्य गजेन्द्रबहादुर ओली प्रमुख बनेका छन् भने पुथाउत्तरगंगा गाउँपालिका–१ बाट सदस्यमा निर्वाचित भीमकुमारी पुन उपप्रमुखमा निर्वाचित भएकी छन् ।
पूर्वी रुकुम जिल्ला समन्वय समितिको सदस्यमा दयालसिङ पुन, महेन्द्र मल्ल, धनीमान बुढा, जनक कामी, आस्था विक, विष्णु नेपाली र रीता विक निर्वाचित भएका छन् । पश्चिम रुकुम जिल्लाका मुख्य निर्वाचन अधिकृत डण्डपाणि शर्मा र पूर्वी जिल्ला समन्वय समितिका मुख्य निर्वाचन अधिकृत चुरामन खडकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
दुवै जिल्ला समन्वय समितिको पदाधिकारी तथा सदस्य सबै माओवादी केन्द्रका हुन् । ६ वटा स्थानीय तह ६ नम्बर प्रदेश र ३ वटा स्थानीय तह ५ नम्बर प्रदेशमा परेपछि स्थानीय तहको निर्वाचन पनि पहिलो र दोस्रो चरणमा गरी सम्पन्न गरिएको थियो ।

प्रकाशित : आश्विन १०, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?