१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

गाउँमै उपचार पाउने भएपछि चेपाङ हर्षित

विमल खतिवडा

कोलभञ्ज्याङ (चितवन) — इच्छाकामना गाउँपालिका–१ कोलभञ्ज्याङमा अहिले फापर र तोरी लगाउने समय हो । तर, गाउँलेलाई अन्न लगाउन चासो छैन ।

गाउँमै उपचार पाउने भएपछि चेपाङ हर्षित

गाउँमा पहिलोपटक स्वास्थ्यचौकी बन्ने खबर पाएपछि सबैमा खुसी छाएको छ । उनीहरू घरको काम छाडेर चौकीका लागि घडेरी सम्याउन व्यस्त छन् । वर्षमा ६ महिना अनिकाल सामना गर्ने यो गाउँको चेपाङ समुदायलाई अन्न लगाउनेभन्दा बढी पीर स्वास्थ्यचौकी कहिले बन्ला र सहज उपचार पाइएला भन्ने छ । 

गाउँबाट उपचारका लागि बिरामी बोकेर हात्तीबाङ स्वास्थ्यचौकी पुग्न ६ घण्टा लाग्छ । सामान्य घाउचोट र बिरामी हुँदा गाउँलेले उपचार पाउँदैनन् । ‘गाउँमै स्वास्थ्यचौकी नहुँदा सबैभन्दा बढी समस्या गर्भवतीलाई हुने गरेको छ,’ महिला स्वयंसेविका सुकमती चेपाङले भनिन्, ‘व्यथा लागेपछि स्वास्थ्यचौकी पुर्‍याउन ठूलै सास्ती झेल्नुपर्छ, त्यसैले गर्भवतीको ज्यान जाने खतरा बढी छ ।’ स्वास्थ्यचौकी बन्ने भएपछि घडेरी सम्याउन आफू पनि दैनिक आउने गरेको उनले बताइन् । 
चौकी बनाउन बालबालिकादेखि वृद्धवृद्धासम्मले श्रमदान गरिरहेका छन् । दैनिक २५ जनाभन्दा बढी गाउँले जुट्ने गरेका छन् । ‘बिरामी हुँदा साह्रै दु:ख पाइन्छ,’ ५३ वर्षीय रामशरण चेपाङले भने, ‘आँगनमै स्वास्थ्यचौकी बन्ने भएपछि खुसी भएर खन्न आएको हो ।’ जग्गा स्थानीय शुद्ध चेपाङले नि:शुल्क उपलब्ध गराएका हुन् । त्यहाँ २ कोठे भवन र एउटा शौचालय बनाउने योजना छ । यो गाउँका बालबालिकामा बर्सेनि निमोनिया, झाडापखालाजस्ता समस्या देखिने गर्छ । उपचार नपाएर कतिपयको ज्यानै गइसकेको छ । हात्तीबाङसम्म गाउँले हिँडेरै जान्छन्, त्यो पनि ठूलै बिरामी भए मात्र । सामान्य बिरामी हुँदा उनीहरू उपचारै गराउँदैनन् । स्वास्थ्यचौकी टाढा भएकाले घरेलु औषधिका भरमा पीडा सहेर बस्नुको विकल्प हुँदैन । ‘स्वास्थ्यचौकी बन्ने भएपछि गाउँभरमा खुसी छाएको छ,’ गमन चेपाङले भने, ‘हामीले श्रमदान गरेको हो, पैसाको कुरा होइन ।’ 
यो ठाउँमा चेपाङ समुदायको बाक्लो बसोबास छ । गाउँलेको वर्षौंदेखिको माग गाउँमै स्वास्थ्यचौकी निर्माण गर्नुपर्ने भन्ने छ । पाका उमेरका महिला–पुरुष घाँस–दाउरा जाँदा भीरबाट लडेर बढी मात्रामा घाइते हुने गरेका छन् । यस्तो अवस्थामा उनीहरू उपचार गर्न जान सक्दैनन् । ‘गाउँमा जाँदा उपचार नपाएर खुट्टा कुहाएर हिँडेको धेरै पटक देखेको छु,’ इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङले भनिन्, ‘विकटका गाउँलेले समस्या झेलिरहेको अवस्थामा घरगाउँमै सुविधा दिनेगरी स्वास्थ्यचौकी निर्माण थालिएको हो ।’ उनका अनुसार वडा नम्बर २ र ३ मा समेत स्वास्थ्यचौकी बन्नेछन् । २० लाख लागतमा ६ महिनादेखि एक वर्षभित्रमा भवन निर्माण सक्ने योजना रकेको गुरुङले बताइन् । ‘जतिसक्दो चाँडो काम सकेर गाउँलेलाई सेवा दिने तयारीमा छौं,’ उनले भनिन्, ‘अब गाउँलेले सहजरूपमा घरमै बसेर उपचार सेवा पाउनेछन् ।’ 

प्रकाशित : आश्विन १०, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?