कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

४ सय परिवार जग्गाधनी पुर्जाविहीन

मेनुका ढुंगाना

अछाम — मेल्लेख गाउँपालिका–३ का ४ सय परिवार आफूले भोगचलन गरेको जग्गाको लालपुर्जा पाएका छैनन् ।

२०५८ सालमा तत्कालीन माओवादी आक्रमणमा सदरमुकाम मंगलसेनका विभिन्न सरकारी कार्यालयमा आगजनी हुँदा कागजपत्र जलेपछि उनीहरू हालसम्म पुर्जाविहीन भएका हुन् ।

२०७१ सालमा अछामको विशेष टोलीले नापनक्सा गरे पनि लालपुर्जा दिन नसकेको स्थानीय अगुवा हेमराज शाहले बताए । विभिन्न निकायसँग पहल गर्दा पनि सरोकारवाला निकायले चासो नदिएको उनको आरोप छ ।
यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि मन्त्रीसम्म भए पनि समस्या साधानका लागि कसैले चासो नदिएको स्थानीयले गुनासो गरे । सामान्य कृषि ऋण लिनबाट पनि वञ्चित हुनुपरेको स्थानीय खडबहादुर शाहले बताए । ‘विशेष टोलीले नापनक्सा गराए तर दर्ता प्रक्रियामा कसैले सहयोग गरेनन्,’ उनले भने ।
मेल्लेख गाउँपालिका ३ का वडा अध्यक्ष केशबहादुर शाहले गाउँमा नापीको विशेष टोली आएको र पुरानो रेकर्ड खोज्दा नभेटिएपछि लालपुर्जा दर्ता नभएको बताए । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबाट सदरमुकाम मंगलसेनमा आक्रमण हुँदा मालपोत र नापी कार्यालयमा रहेका सबै कागजपत्र नष्ट भएको अध्यक्ष शाहले बताए ।
नापनक्सा भए पनि व्यक्तिका नाममा रहेको जग्गाको प्रमाणका कागजपत्र नभेटिएपछि पुर्जा वितरण गर्न नसकेको विशेष नापी अछामका प्रमुख सियाराम ठाकुरले बताए । मन्त्रालयबाट आदेश नआउँदासम्म केही गर्न नसकिने ठाकुरको भनाइ छ ।

प्रकाशित : आश्विन १०, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?