पूर्वकमलरी स्वास्थ्य व्यवसायतर्फ आकर्षित

कान्तिपुर संवाददाता

गुलरिया — बाल्यकालमा नेपालगन्जस्थित साहूको घर ६ वर्ष कमलरी बसेकी बर्दिया राजापुर ४, वसन्ताकी २२ वर्षीया पूर्वकमलरी शोभा चौधरी आजभोलि निकै व्यस्त रहन्छिन् ।

उद्धारपछि घर फर्किकी उनले चितवनबाट ल्याब असिस्टेन्टको तालिम लिइन् । उनी बारबर्दियाको कतरनियास्थित बबई पोलिक्लिनिकमा ल्याब असिस्टेन्ट पदमा कार्यरत छन् । खाने, बस्ने सुविधासहित मासिक ७ हजार पारिश्रमिक पाउने उनलाई अहिले बिरामीको चापका कारण रक्त परीक्षणलगायत सेवा दिन भ्याइनभ्याइ छ । जागिरसँगै थप अध्ययन पनि गरिरहेको उनले बताइन् ।

कैलाली बर्दगोरिया–१ बबौनियास्थित अस्पतालमा अनमी पदमा कार्यरत २३ वर्षीया संगीता चौधरी पनि १ वर्ष कमलरी बसेकी हुन् । ५ महिनादेखि अस्पतालमा काम गरिरहेकी उनले पनि प्लस टुको अध्ययन गरिरहेकी छन् । उनी चितवन मेडिकल कलेजबाट १८ महिनाको अनमी तालिम लिई जागिरमा प्रवेश गरेकी हुन् । 

पश्चिम नेपालमा रहेको कमलरी प्रथा २०७० असार १३ मा उन्मूलन भएपछि अधिकांश स्वास्थ्य सेवा, मोबाइल मर्मत, ब्युटीपार्लर, चिया नास्ता पसल, घुम्ती पसललगायत व्यवसायमा संलग्न छन् ।

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायमा कमलरी पठाउने परम्परामाथि सरकारले प्रतिबन्ध लगाएपछि विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाले उद्धार अभियान चलाएका छन् । ५ वर्षअघि उद्धार भएकी कैलाली थापापुरकी २३ वर्षीया अनीता चौधरी लोकसेवा आयोगले लिएको परिक्षामा उत्तीर्ण भई अनमी पदमा स्थायी जागिरमा छिन् ।

बारबर्दिया १० की पूर्वकमलरी कृष्णी थारूले चिया नास्ता पसल चलाइरहेकी छन् । जिल्लामा उद्धार भएका ५१ पूर्वकमलरी विभिन्न व्यवसायमा संलग्न छन् ।

प्रकाशित : आश्विन १०, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?