घर फर्किंदै परदेशी

कान्तिपुर संवाददाता

स्याङ्जा — दसैंं सुरु भएसँगै वैदेशिक रोजगारमा गएकाहरू घर फर्किने क्रम बढेको छ । बैदेसिक रोजगारीका लागि डेनमार्क पुगेका पुतलीबजार नगरपालिका ठाडो लाइनका प्रकाश ढकाल पनि लामो समयपछि घर फर्किए ।

‘दसैंमा घर जाउँला भन्दा–भन्दै के मिल्दैन के,’ उनले भने, ‘ठूलो रहरले अहिले घर फर्किएको छु ।’ दुई सन्तान, श्रीमतीसहित आएका उनी तिहारपछिमात्रै फर्किने बताउँछन् । ‘कान्छो छोरा जन्मिएदेखि पहिलोपटक नेपालको भूमि टेक्यो,’ उनले दोहोर्‍याए, ‘ममात्र एक्लै नेपाल आए पनि चाडपर्व मनाउन पाएको थिइनँ । कहिलेकाहीं त दसैंको मुखमा विदेश फर्किनुपथ्र्यो ।’

ढकालजस्तै पढाइसँगै रोजगारी गर्न जापान पुगेका वालिङका विज्ञान क्षेत्री पनि चार वर्ष पछि दसैं मनाउन घर फर्किएका छन् । ‘गएपछि आउने भन्ने यतिकै हुने रहेछ,’ उनले भने, ‘घर जाने भनेपछि दसैं नै पार्न मन लाग्ने । चार वर्षमा घर आउँदा दसैं मनाउने उद्देश्यले नै आएको हुँ ।’ एक महिनाको छुट्टी लिएर आएको बताउने उनी दसैं, तिहार मनाएर मात्र फर्किने बताए । ‘पोहोर, परार आउने रहर हो,’ उनले पुन: भने, ‘देशको परिस्थिति राम्रो भएन । कहिले भूकम्पको त्रास कहिले नाकाबन्दीको ।

त्यसकारण पनि आउन सकिएन । अहिले मनमा पीर नलिई घर आउन पाइएको छ ।’ उनीजस्ता कयौं युवाहरू यति बेला दसैं मनाउन घर आउनेहरूको ठूलो जमात छ । 

अघि पछि घर आउन नपाएकामा खासै दु:ख नलाग्ने उनलाई तर चाडबाडको समयमा भने घरको याद निकै आउने र नरमाइलो लाग्ने गरेकामा यो वर्ष भने घर परिवार, साथीसंगीसँग बसी रमाइलो गरी चाडपर्व मनाउने योजना रहेको बताउँछन् । पुतलीबजार नगरपालिका निवासी गणेश सुनार पनि ६ वर्षको अन्तरालमा दसैं मनाउनकै लागि घर फर्किएका छन् । ‘विदेश भन्ने कुरा रहरभन्दा पनि बाध्यता हो,’ उनले भने, ‘आर्थिक अभावले गर्दा के परिवार, के चाडपर्व । कसरी पैसा कमाउने भन्नेतिरै ध्यान हुन्छ ।’ दिनरात काममा व्यस्त भएपछि घर आउने समय पनि नपुग्ने उनले बताए । उनले पनि यस वर्षको दसैं, तिहार परिवार र साथीभाइकै साथ रमाइलो गरी मनाउने बताए । 

विदेश भएका र रोजगारीको सिलसिलामा जिल्ला बाहिर भएकाहरू गाउँ फर्किने क्रम बढ्दै गएपछि दसैंको छुट्टै रौनक बढेको पुतलीबजारका कमल सुनार बताउँछन् ।

प्रकाशित : आश्विन १०, २०७४ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?