कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सदरमुकाम रित्तिँदै, गाउँ भरिँदै

कान्तिपुर टिम

रुकुम — दसैंको दिन नजिकिँदै गर्दा जिल्लाका बजार सुनसान बन्दै गएका छन् । बजार आउने किनमेल गर्नेको भीड पनि पातलिँदै गएको छ । विशेष गरी घटस्थापनादेखि बजारको भीडभाड कम हुँदै गएको हो ।

सदरमुकाम रित्तिँदै, गाउँ भरिँदै

दसैंको किनमेल त्यसअघि नै सकेकाहरू घटस्थापनाको दिन गाउँ गाउँ पुगिसकेका थिए । मूल घरमा जमरा राख्ने तथा लिपपोत गर्नका लागि पनि अधिकांश बजारमा बस्नेहरू गाउँमा रहेका घरमा फर्कने गरेका छन् ।

दसैंको दिन नजिकिँदै जाँदा बजार सुनसान हुने र गाउँमा चहल पहल बढ्ने भएकाले बजारमा बस्नै मन नलाग्ने सर्वसाधारणको भनाई छ । जिल्ला भित्रका विभिन्न बजारमा अध्ययन र पेसा, व्यवसाय गरेर बस्ने तथा जिल्ला बाहिर रहेकाहरू पनि गाउँ पुगेपछि गाउँमा चहलपहल बढेको छ । ‘दिनदिनै बजार सुनसान हुँदै गएको छ, किनमेल गर्न आउनेको संख्या पनि घट्दै गएको छ, सदरमुकामको खलंगा बजारका व्यापारी गोकर्ण खडकाले भने, ‘किनमेल गर्नेहरू पनि पहिल्यै काम सकेर गाउँ लागिसकेका छन् ।’ 

विशेषगरी पश्चिम रुकुमको सदरमुकाम खलंगा, चौरजहारी, आठबीसकोट बजारको चहलपहल घट्दै गएको हो । पूर्वी रुकुमको रुकुमकोटमा भने चहलपहल बढेको छ । उक्त बजारबाट गाउँ पस्नेभन्दा उक्त ठाउँमा आउनेको संख्या धेरै भएपछि रुकुमकोटमा दैनिक मान्छेको उपस्थिति बाक्लिँदो छ । बाहिर जिल्ला वा विदेशबाट आएका पनि जिल्लाका बजारमा नबसी सरासर गाउँ गइरहेका छन् । ‘घरै पुगेपछि बजारमा घुमिरहेन मन लाग्दैन,’ आठबीसकोटका मनराज शाहीले भने, ‘बरु गाउँमै पुग्यो उतै रमाइलो हुन्छ ।’ गाउँ जाने मान्छे धेरै भएपछि सवारीको पनि चाप बढेको छ । यसअघि चलिरहेका गाडीले नपुगेर व्यवसायीले अन्यत्रबाटै गाडीको व्यवस्था गरेका छन् । साविकको भन्दा दोब्बर भाडा तिरेर पनि सर्वसाधारण गाउँ गैरहेका छन् । ‘दसैंका बेला भएर कुनै गाडीमा टिकट पाइन्न रहेछ,’ पूर्वी रुकुमको भूमे–३, का रामकुमार श्रेष्ठले भने, ‘दोब्बर भाडा तिरेर बल्ल बल्ल गाडी मिलेको छ ।’ 

सीमामा छैन उल्लास
सिन्धुपाल्चोक– दसैंले दैलो टेकिसकेको छ । गाउँघर रंगिँदैछन्, बजारमा चहलपहल बढ्दैछ । भोटेकोसी गाउँपालिकाका तातोपानी बजारका सन्त थामी भने ऋण तीर्न नसकेकोमा पिरोलिरहेका छन् । ‘टहरा बनाएको ऋण तिर्न सकेको छैन, के दसैं लाग्नु हजुर ?,’ थामीले दुखेसो पोखे, ‘बिहान–बेलुकीको छाक टार्न गाह्रो छ, दसैंको कुनै मतलव छैन ।’ उनले आर्थिक समस्याकै कारणले टहरो बनाउँदा छिमेकीबाट लिएको दुई लाख ऋण तीर्न नसकेको सुनाए । भोटेकोसीको बाढीले घर बगाएपछि चौकीडाँडामा सरेका थामी घरखर्च जुटाउनका लागि मजदुरी गर्न बाह्रबिसे बजार जान थालेको बताए ।

भोटेकोसी गाउँपालिका लार्चा टोलकी पविना श्रेष्ठको परिवारलाई दसैंको रमाइलो लागेको छैन । घर बनाउँदा लिएको ऋण तिर्न बाँकी हुँदै बर्खाको पहिरोले छोपिदिएपछि श्रेष्ठको परिवार बिचल्लीमा छ । ‘दसैं नआइदिए हुन्थ्यो जस्तो लाग्छ, आफूलाई ऋण तिर्न नसकेको पीर छ,’ उनले भनिन्, ‘यसपालिको दसैं मनाइँदैन, जुन दिन ऋण तिरूँला त्यही दिन दसैं हुन्छ ।’ पहिरोमुनि बसिरहेको उनको परिवारलाई चाडपर्व लागेको छैन ।

दसकिलो बजारको तल्लो भाग कोसीले तानिरहेको छ भने माथिल्लो भागमा पहिरो झरिरहेको छ । सुनसान बजार र गाउँमा पहिरोमुनि बसिरहेका सीमाका बासिन्दालाई दसैंको रौनकले छोएको छैन । गत असार २१ मा आएको भोटेकोसी बाढीले क्षतिग्रस्त सीमाक्षेत्र अझै तंग्रिन सकेको छैन । भौतिक संरचना, सडकखण्ड पुनर्निर्माण भएलगत्तै पाङसेर्पु पहाडको पहिरोले दुई महिनाअघि लार्चा पुल भत्काएपछि सीमागाउँ तातोपानी पूर्णरूपमा थलिएको छ । लार्चा मोटरवेल पुलको स्थानमा बन्न लागेको ५० मिटर लामो बेलिब्रिजले गति लिन सकेको छैन ।

पहिरोको त्रासमा बाँचिरहेका सीमाका प्रायले जमरासमेत राखेका छैनन् । विपत्तीले घेरिएर आर्थिक समस्या झेल्नुपर्दा दसैंले छुन नसकेको तातोपानी चौकीडाँडाका स्थानीय बताउँछन् । 

सीमावर्ती तातोपानी क्षेत्रदेखि बाह्रबिसे नगरपालिका गातीजम्बुसम्मका बासिन्दालाई दसैंले छोएको छैन । अरनिको राजमार्गअन्तर्गतको बाह्रबिसे नपास्थित बाह्रबिसे बजारदेखि बलेफी गाउँपालिका खाडीचौरसम्म रमझम चलिरहँदा सीमाक्षेत्रमा उमंग देखिंदैन । ‘भाग्यमा दसैं हैन दशा मात्रै लेखेको रैछ, पहिरो र ऋणले कहिले छोडेन्,’ तातोपानी बजारमा पसल व्यवसाय गरिरहेकी शान्ति कार्कीले भनिन, ‘यस्तो हालमा दसैं कसरी मनाउनु र !’ 

२२ सयको बसोबास रहेको तातोपानीमा बाढी र पहिरोको जोखिमको त्रासले अधिकांशले घर छोडिसकेका छन् । विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थलोमा बस्न बाध्य छन् । बाँकी रहेको खाद्यान्नले केही समय पुग्ने भए तापनि स्वास्थ्य, शिक्षा, विद्युत् र टेलिफोनविहीन हुँदा उनीहरू समस्यामा परेका हुन् ।

बेपत्ता परिवारको दसैं खल्लो 
धादिङ– ‘ऋण लिएर विदेश उडाउने बेलामा बगाएको आँसु अहिलेसम्म रोकिएको छैन । चाडपर्व आइसक्यो, सबैका घरमा चाडपर्वले रौनक छाइसक्यो तर आफ्नो घरमा चुल्हो पनि बल्न सकेको छैन,’ नीलकण्ठ नगरपालिकाकी खिन कुमारी लम्सालले भनिन् ।

चाडबाड आउँदा परदेशमा बेपत्ता भएकाको याद बढी आउने लम्सालले बताइन् । सबैको छोराछोरी विदेशबाट फर्कन्छन् तर आफनो छोरा भने मलेसियामा बेपत्ता भएको १२ वर्ष भइसक्यो । कमाई गरी पठाउला भन्दा हाल खबरै पाउन सकिएन । सिद्धलेक–६ का देवकी पण्डितलाई यसपालि पनि दसैं खल्लो हुने भएको छ । छोरा दामोदर पण्डित मलेसियामा बेपत्ता भएदेखि उनको पनि दसैंको रौनकले छोएको छैन ।

धादिङको नीलकण्ठ नगरपालिका–२ की अस्मिता पौडेल वैदेशिक रोजगारको लागि कुवेत गएको ४ वर्ष भयो तर उनी अहिलेसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । छोराहरू आमा आउने बाटो कुरेर बसिरहेका छन् ।

दसैं आएपछि आमा कहिले आउने भनेर छोराहरूले सोध्ने गरेको श्रीमान् सानोबाबु पौडेल बताउँछन् । यी माथिका प्रतिनिधि घटना मात्र हुन् । यसरी धादिङमा वैदेशिक रोजगारको क्रममा विदेश गएर बेपत्ता हुने को संख्या ४५ जना रहेका छन् । हराएका परदेशी आउने झिनो आशामा परिवार बसिरहेका छन् । बेपत्ता ४५ मध्ये १४ जना सम्पर्कमा आएका छन् ।

वनकरिया समुदायमा दसैंको खुसियाली
हेटौंडा– दसैंको मुखमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिएकाले वनकरिया समदायमा खुसी छाएको छ । मनहरी गाउँपालिका ४ मुसेधापमा बस्दै आएका यिनीहरूलाई सामाजिक सुरक्षा भत्ता र वन कार्यालयले कमाइ गरेर खानका निम्ति दिएको जमिन वरदान साबित भएको छ । ‘विगतका दसैंमा एक छाक मासु र भात कसरी जुटाउने होला भनेर चिन्ता रहने वनकरियाहरू घर/घरमा खसी काटन सक्ने हैसियत बनाएका छन्,’ स्थानीय रामहरि विष्टले भने, ‘सिंगो वनकरिया समुदायको आर्थिक जीवनमा परिवर्तन आएको छ ।’

बिहान–बेलुका हातमुख जोर्न समस्या रहेको ठूलीमायाको परिवारमा अहिले एक हल गोरु, पाँचवटा गाई, १३ वटा बाख्रा र २ वटा सुँगुर छन् । खानका निम्ति दुई मुरी मकै पनि छ । नातिनातिना स्कुल पढ्न जाने पनि गरेका छन् । गाउँकै सहकारीमा मासिक सय रुपैयाँ जम्मा पनि गर्दै आएकी छन् । यी सबै सामाजिक सुरक्षा भत्ताले सम्भव भएको हो । ठूलीमायाको परिवारले सामाजिक सुरक्षा भत्ता बापत मासिक १६ हजार रुपैयाँ पाउँछ । उनको ८ जनाको परिवार छ ।

ठूलीमायाको मात्र होइन विष्णुमाया वनकरियाको पनि सामाजिक सुरक्षा भत्ता जीवन गुजार्ने भरोसाका रूपमा परिणत भएको छ । खरले छाएको छाप्रोमा बस्दै आएकी विष्णुमायाको सामाजिक सुरक्षा भत्ताले छाना फेरिएको छ । उनले त्यही भत्ताबाट गाई, बाख्रा र सुगुर किनेर पालेकी छन । कबुलियती वनले दिएको जग्गामा माछापालन पनि गरेकी छन् । उनको घरमा सामाजिक सुरक्षा भत्ता वापत मासिक २२ हजार रुपैयाँ भित्रिने गर्छ । उनको ११ जनाको परिवार छ । सन्तमाया वनकरियाको सिंगो परिवारको यो भत्ताले काचुली फेरेको छ ।

छोराछोरीको आङ ढाक्नदेखि पेट भर्नसम्म छिमेकीको भर पर्नुपर्ने यो परिवार अहिले आत्मनिर्भर भएको छ । ‘कसैले देला र खाउला, लाउला भनेर आस गर्नु पर्दैन’ ९ बच्चाकी आमा सन्तमायाले भनिन, ‘सरकारले दिएको भत्ताले गाई गोरु, बाख्राले गोठ पनि भरिएको छ, खान लाउन पनि समस्या छैन ।’ मुसेधापमा बस्दै आएका १८ घरधुरीका ७८ को संख्यामा रहेका वनकरिया जातिले मासिक प्रतिव्यक्ति २ हजार रुपैयाँ पाउने गर्छन् ।

प्रकाशित : आश्विन ११, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?