कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दन्तकाली मन्दिर ग्रेनाइट छानो लगाउन रोक

प्रदीप मेन्याङ्बो

धरान — उपमहानगरपालिका– १४ स्थित विजयपुरको डाँडामा रहेको दन्तकाली मन्दिरमा ग्रेनाइटको छाना लगाउन रोक लगाइएको छ । मन्दिर व्यवस्थापन समितिलाई स्पष्टीकरणसहितको रोक्का पत्र पठाएको उपमहानगरका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए ।

दन्तकाली मन्दिर ग्रेनाइट छानो लगाउन रोक

धरान–१४ विजयपुरको डाँडामा रहेको उक्त मन्दिर नेपालको प्रमुख शक्ति पीठमध्ये एक मानिन्छ ।

मन्दिर व्यवस्थापन समितिले पुरातत्त्व विभाग र धरान उपमहानगरपालिका तथा दक्ष प्राविधिकहरूलाई कुनै जानकारी नदिई ग्रेनाइटको छाना लगाउन सुरु गरेको थियो । धरान उपमहानगरपालिकाका सहरी विकास शाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले तीन दशक अघि बनाएको बिनापिलरको सिमेन्टेड मन्दिरमा ग्रेनाइटको छानो थेग्न नसक्ने भएकाले त्यस्तो छानो लगाउन रोक लगाएको बताए । उनले ग्रेनाइटको छानो लगाउँदा नेपाली वास्तुकला र मौलिकतासमेत गुम्ने बताए । 

उनले भने, ‘पहिले पनि पुरातत्त्व विभागका पदाधिकारी आएको बेला ग्रेनाइटको छानो नलगाउन् भनेर मौखिक रूपमा सुझाव पनि दिएका थिए । तामा वा पित्तलको पाताभन्दा ग्रेनाइट धेरै गर्‍हौं हुने भएकाले धरान उपमहानगरपालिकाका प्राविधिक र पुरातत्त्व विभागसँग सल्लाह गरेर मात्र छानो लगाउन भनिएको थियो ।

मन्दिर व्यवस्थापनलाई स्पष्टीकरणका लागि पनि बोलाएको श्रेष्ठले बताए । धरान उपमहागरले पुरातत्त्व विभागलाई समेत बोधार्थ पठाएको छ । तीन सय वर्षअघिदेखि सेनकालीन र किराती राजाहरूले 
आफ्नो इष्टदेवीका रूपमा मान्दै आएको उक्त मन्दिर पाँच सय वर्ष पुरानो मानिन्छ । 

उक्त मन्दिर ०४५ को भूकम्पपछि प्यागोडा शैलीको छाना हालिए पनि कमजोर बनाबट भएकाले ग्रेनाइटको छानो थाम्न नसक्ने प्राविधिकहरूले बताएका छन् । दाताले मन्दिरलाई आकर्षक बनाउन ग्रेनाइटको छानो हाल्न लगाएपछि मन्दिर व्यवस्थापन समितिले नयाँ छानो लगाउन सुरु गरेको जनाएको थियो । 

मन्दिरमा दर्शनार्थीहरू आइरहने र भीड भइरहने भएका कुनै पनि बेला दुर्घटना हुँदा वा भूकम्प आएका बेला हताहत हुन सक्ने भएकाले गर्‍हौं बस्तुको छानो नलाउन भनिएको इन्जिनियर श्रेष्ठले बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले दाताले दिएको दानले ग्रेनाइटको छानो लगाउन सुरु गरेको बताएका थिए । 

उनले भने, ‘पुरातत्त्व विभागका प्राविधिकसंँ पनि कुरा भएको थियो । त्यस बेला पित्तलको छानो भए राम्रो भन्ने कुरा हुँदा बजेट नभएकाले पित्तलको छानो लगाउन नसकेपछि ग्रनाइटको छानो लगाउन थालिएको थियो ।’ उनले ग्रेनाइटको छानो लगाउन कुनै प्राविधिकसँग सल्लाह भने नगरेको बताए ।

गोरखाका राजा पृथ्वीनारायण शाहका खनाती गीर्वाणयुद्ध विक्रम शाहले आजभन्दा २०६ वर्षअघि अर्थात् वि.स. १८६८ मा तनहुँबाट ल्याएका रामचन्द्र र तुलाराम खनाल दाजुभाइलाई पुजारी बनाएर विर्ता स्वरूप दिएको ताम्रपत्रका आधारमा हालसम्म खनाल वंशले मन्दिरको सबै व्यवस्थापन र आय भोगचलन गर्दै आएका छन् । दन्तकाली मन्दिरको गुठियार खनालहरू छन् । 

प्रकाशित : आश्विन २२, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?