२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गाउँमा बन्यो सामूहिक आरन

कान्तिपुर संवाददाता

भोजपुर — आमचोक ५, पावला टाङटुकका बासिन्दाले सामूहिक आरन बनाएर कृषि औजार निर्माण, मर्मत र अर्जाप्ने काम थालेका छन् । पहिले यस्तो खास समुदायले मात्रै गर्दै आएको थियो ।

 गाउँमा बन्यो सामूहिक आरन

‘नजिकका विश्वकर्माहरू प्राय: बसाइँ सरे, भएका एक/दुई घरमा पनि युवा वैदेशिक रोजगारी तथा बुढापाकाले काम गर्नै नसकेर छाडे,’ पावला ५ का वडासंयोजक गजेन्द्रबहादुर राईले भने, ‘खेतीपाती गर्नेलाई हतियार/औजार चाहिन्छ, अर्जाप्नुपर्‍यो, नयाँ बनाउनैपर्‍यो, यो त दलितले गर्ने काम हो भनेर त भएन ।’

गाउँका २२ घरले गत वर्ष तिहारमा देउसी खेलेर जुटाएको ४५ सय रुपैयाँले सामूहिक आरन बनाएका हुन् । लिही, सनासो, रेती, छिनोलगायत आरनमा चाहिने सामग्री सुनसरीको चतराबाट किनेर ल्याइएको छ । बोकाएर ती सामान ल्याउँदा २ दिन लागेको थियो । जिल्लामा सडक विस्तार हुन थालेको दशक बिते पनि यो गाउँ अझै जोडिएको छैन । ५४ वर्षीय जितबहादुर राईको पालीमा आरन छ । आरनमा कोदालो, कचियाँ, हँसिया, कुटो, बन्चरो, खुकुरीलगायत कृषि सामग्री अर्जाप्छन् । गोल आफंै लिएर आउँछन् । बलको काम पनि भएकाले छिमेकी भेला भएर काम गर्छन् । यसअघि उनीहरूले ४ घण्टा धाएर साबिकको देवनटार गाविससम्म आरनको काम लिएर पुग्नुपथ्र्यो । ‘गाउँमै आरन राखेपछि सजिलो भएको छ, आवश्यक परेका बेला आयो, अर्जाप्यो, बनायो,’ ६८ वर्षीय मंगलसिंह राईले सुनाए । 

जातीय विभेदका कारण दलितहरूले मात्रै गर्ने पेसाका रूपमा मान्यता पाएको कामप्रति गैरदलितहरूले समान व्यवहार गर्न थालेका छन् । यसले दलित र गैरदलितबीच सहकार्य पनि बढेको छ । आफ्नो पेसाप्रति सम्मान गरेको भन्दै दलितहरू आफैंले गैरदलितकहाँ आरन बनाउन, जानेको काम गर्न सिकाउने गरेका छन् । सल्लाह र परामर्श दिन हच्कँदैनन् । 

गैरदलित पनि दलितहरूको काम र व्यवहारलाई स्वीकार्न थालेका छन् । अधिकांश गाउँमा सामूहिक आरन छन् । कतिपयले व्यक्तिगत आरन पनि राखेका छन् । आमचोककै देवनटारमा, हतुवागढी गाउँपलिकाका ५/६ स्थानमा व्यक्तिगत र सामूहिक आरन बनाइएका छन् ।
यस्तै षडानन्द नगरपालिका, रामप्रसाद राई, पौवादुंमा, टेम्केमैयुङलगायत अन्य नगरपालिका तथा गाउँपालिकामा पनि सामूहिक आरन बनाइएका छन् । 

प्रकाशित : आश्विन २४, २०७४ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?