कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चामल माग्दै धर्ना

जयबहादुर रोकाया

हुम्ला — नेपाल खाद्य संस्थानले चामल ढुवानी नगर्दा स्थानीयलाई चाडपर्व मनाउन समस्या परेको भन्दै जनप्रतिनिधि प्रदर्शनमा उत्रिएका छन् । सदरमुकाममा मंगलबार थाल ठटाउँदै चामल माग गरेका उनीहरूले संस्थानको कार्यालयमा धर्ना दिए ।

सिमकोट बजारलगायत आसपासका स्थानीयले अभाव झेल्नुपरेपछि जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतको नेतृत्वमा जनप्रतिनिधि प्रदर्शनमा उत्रिएका हुन् । जिसस पदाधिकारी, गाउँपालिका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष र सदस्यसहितको प्रदर्शनमा स्थानीय बासिन्दा पनि सहभागी थिए । जनप्रतिनिधिले अविलम्ब खाद्यान्न ढुवानी गर्न माग राखी जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कर्मचारी परिचालन गर्न पनि खाद्यान्न मौज्दात राख्नु आवश्यक छ । खाद्यान्न अभावमा ठूलो समस्या निम्तिएकाले सरकारको ध्यानाकर्षण गराउन बाध्य भएको जिसस संयोजक रावतले बताए ।

संस्थानका शाखा प्रमुख नारायणसिंह केसीका अनुसार जिल्लाबाट बारम्बार खाद्यान्न ढुवानीका लागि केन्द्रीय कार्यालयमा पत्र पठाए पनि सुनुवाइ भएको छैन । जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्ष तथा प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाले सोमबार बसेको समिति बैठकमार्फत मंसिर १० गतेको निर्वाचनका लागि तत्काल ३ हजार क्विन्टल चामल माग गरिएको बताए ।

यसअघि असारमा खाद्यान्न ढुवानीको माग गर्दै सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामालगायत जनप्रतिनिधिको टोली काठमाडौं पुगेर संस्थानको कन्द्रीय कार्यालयमा धर्ना बसेको थियो । तत्कालीन महाप्रबन्धकले तुरुन्तै ढुवानी गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू जिल्ला फर्किएका थिए ।

त्यसपछि केही खाद्यान्न ढुवानी भए पनि दसंैअघिबाट ठप्प छ । शाखा प्रमुख केसीका अनुसार अहिले गोदाममा ४४ क्विन्टल चामल मात्र छ । चालु आवका लागि ढुवानी नगरिएकाले चामल अभाव भएको हो ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?