२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

म्यादी बन्न दौडधुप

शंकर आचार्य

पर्सा — जिराभवानी गाउँपालिकाकी ६५ वर्षीया पार्वती माझी बुधबार वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पुगिन् । उनी मंगलबारबाट खुला गरिएको म्यादी प्रहरीको आवेदन भर्न आएकी हुन् । ‘के गर्नु हामी गरिब महिला । जीवन नै मिहिनेत, मजदुरी गरेरै बित्यो,’ उनले भनिन्, ‘म्यादी प्रहरीमा पनि राम्रै कमाइ हुन्छ भन्ने थाहा पाएर आवेदन दिन आएकी हुँ ।’

म्यादी बन्न दौडधुप

मंसिर तेस्रो साता हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन खुला गरिएको छ । २ छोराकी आमा पार्वती एक नातिनीकी हजुरआमा हुन् । उनलाई म्यादी प्रहरीको तालिम लिन कठिन भए पनि आफूले गर्न सक्ने आत्मविश्वास छ । ‘यी हातले उमेरमा पत्थर पनि फोरेका छन्,’ उनले भनिन्, ‘म्यादी प्रहरीको काम त्योभन्दा कठिन त पक्कै नहोला नि ।’

पार्वतीले यस्तो भनिरहँदा उनीसँगै गाउँबाट आवेदन दिन आएका ११ जनाको महिला समूहमा अर्की अधबैंसे कुमारीदेवी मुसहरिन पनि समर्थनमा टाउको हल्लाउँदै थिइन् । ५२ वर्षीया उनले पनि म्यादी प्रहरीमा राम्रो तलब सुविधा पाउने सुनेर आफू पनि रुचि लिएर आएको बताइन् । ‘अहिले खेतीपातीको चटारो पनि छैन,’ उनले भनिन्, ‘म्यादी प्रहरीको ड्युटी सकेर तलब थापेर जाँदा बल्ल धान भित्र्याउने बेला हुन्छ, खाली बस्नुभन्दा समयको सदुपयोग गर्नु राम्रो ।’ युवाहरूको पनि अर्को समूह थियो । पर्सागढी नगरपालिका एकटाँगाका २२ वर्षीय युवा साधु यादवले एसएलसी उत्तीर्ण गरेका छन् । उनी पनि आवेदन खुलेको थाहा पाएर आएको बताउँछन् ।

‘साथीभाइहरू पनि आएका छन्,’ उनले भने, ‘लहलहैमा म पनि आएँ, नयाँ अनुभव र राम्रै आम्दानी पनि हुन्छ ।’ जगरनाथपुर गाउँपालिकाबाट आवेदन दिन आएका ३६ वर्षीय सुरेश राउत कुर्मी यसअघिको संविधानसभा निर्वाचनमा पनि म्यादी प्रहरीको जागिर खाइसकेका अनुभवी हुन् । यसपटक पनि काम पाइन्छ कि भन्ने आशा छ उनलाई । ‘म अनुभवी पनि भएकाले अवसर पाइन्छ कि भन्ने आशा लिएर आएको हुँ,’ उनले भने, ‘अहिले खेतीपातीबाट फुर्सद मिलेको छ, त्यसैले आएको हुँ ।’ म्यादी प्रहरीको आवेदन खुलेको दोस्रो दिन बुधबार जिल्ला प्रहरी कार्यालयको सडकमा आवेदक महिला तथा पुरुषहरूको भीडले झन्डै मेलाको रूप लिएको छ । हजुरआमादेखि नाति पुस्तासम्मका पाका तथा युवा आइपुगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रेमबहादुर शाहीले केन्द्रबाट कोटा नआए पनि यसअघिको स्थानीय निर्वाचनमा करिब १ हजार ४ सय म्यादी प्रहरी जिल्लाबाट छनोट गरिएकाले त्यसकै हाराहारीमा छनोट गरिने बताए ।

‘असोज ३० सम्म आवेदन फर्म बुझिन्छ, त्यसबीचमा केन्द्रले पनि कोटा निर्धारण गरेर सूचना दिनेछ,’ उनले भने, ‘प्राप्त निर्देशनअनुसार नै हामीले काम गर्ने हो ।’ म्यादी प्रहरीको सेवा सुविधाबारे पनि हालसम्म केन्द्रबाट थप जानकारी नआइसकेकाले स्थानीय निकायको निर्वाचनमा दिइएकै सरहको सेवा सुविधा केन्द्रले दिने सम्भावना रहेको उनले बताए ।

स्थानीय निकायको निर्वाचनअघि जिल्ला प्रहरीले म्यादी प्रहरीका लागि कुल ३ हजार १ सय २१ आवेदकमध्ये १ हजार ४ सय ९२ लाई छनोट गरेको थियो । तीमध्ये १ सय २५ महिला र बाँकी पुरुष थिए ।

छनोट नभएकामध्ये २ सय २४ लाई वैकल्पिकमा राखिएको थियो । म्यादी प्रहरीलाई प्रहरी जवान बराबरको तलब, रासन र पोसाकको सुविधासमेत उपलब्ध गराइएको थियो । यसबाहेक उनीहरूको बिमाको व्यवस्था पनि गरिएको थियो ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?