शिक्षित युवाकै मोह

भवानी भट्ट

कञ्चनपुर — वेदकोट नगरपालिका–९ सुन्दरपुरका कृष्ण बोहरा सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गर्छन् । वाणिज्य संकायअन्तर्गत तेस्रो वर्षमा अध्ययनरत उनी दोस्रो पटक म्यादी प्रहरीमा भर्ना हुने तयारीमा जुटेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सुरु गरिएको भर्ना प्रक्रियाअन्तर्गत बुधबार आवेदन दिए ।

जिल्ला प्रहरी कार्यालयको गेटअगाडि उनीजस्ता धेरै युवाको भीड बढेको छ । कोही फारम भर्नमा व्यस्त छन् । कोही लाइन लागेर आवेदन दर्ता गराउँदै छन् । कतिपय आवश्यक कागजात जुटाउन दौडिरहेका छन् । ‘स्थानीय तहको निर्वाचनका बेला पनि म्यादी प्रहरी भएर राम्रो अनुभव बटुल्न पाइयो,’ कृष्णले भने, ‘केही आम्दानीसँगै सुरक्षाकर्मीको रूपमा काम गर्न पाइयो ।’ सुरक्षा निकायमै भर्ना हुने इच्छाका कारण उनी केही महिना पढाइ छाडेर पनि म्यादीमा भर्ना हुन लागेका हुन् । उनले असईका लागि पनि आवेदन दिएका छन् ।

कृष्णसँगै अध्ययनरत वेदकोट नगरपालिका–९ सुन्दरपुरका रोशन बोहराले पनि दोस्रो पटक म्यादीमा भर्ना हुन आवेदन दिए । उनले २०७० को संविधानसभा निर्वाचनमा पनि म्यादी भएर काम गरिसकेका छन् । ‘भर्ना हुँदा पढाइ खर्चसँगै सुरक्षा निकायमा भर्ना हुन सहज हुन्छ,’ उनले भने, ‘चुनावका बेलाको सुरक्षा केही असहज हुने भए पनि चुनावी माहोलले उत्साहित बनाउँछ ।’

आवेदन भर्न शिक्षित युवा पनि आकर्षित छन् । कतिपय २/३ पटक म्यादी भइसकेका पनि छन् । यसका साथै अवकाशप्राप्त सुरक्षाकर्मी पनि यसतर्फ आकर्षित देखिन्छन् । विगतमा सुरक्षा निकायमा पुरुषहरूकै वर्चस्व थियो । अहिले महिला प्रतिस्पर्धा पनि बढेको छ । पछिल्लो स्थानीय तह निर्वाचनका बेला पनि २५/३० प्रतिशतभन्दा बढी महिला म्यादी प्रहरी भएका थिए । अहिले पनि त्यही अनुपातमा महिलाको आवेदन आइरहेको प्रहरीले जनाएको छ ।

‘दोस्रो पटक भर्ना हुन आवेदन दिए,’ वेदकोट नगरपालिका–६ की रूपा भट्टले भनिन्, ‘सुरक्षा निकायमा भर्ना हुन सजिलो हुने र केही आम्दानी पनि हुने भएकाले यसतर्फ आकर्षित छौं ।’ म्यादीमा भर्ना हुन घरपरिवारबाट पनि साम्रो साथ र सहयोग पाइएको उनले बताइन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आवेदन दर्ता असोज ३० सम्म चल्नेछ । दुई दिनमा ३ सयभन्दा बढीले आवेदन दिएको डीएसपी ज्ञानबहादुर सेठीले बताए । ‘भीड बढेको छ,’ उनले भने, स्नातकोत्तर तहसम्म अध्ययनरत युवा–युवती पनि आएका छन् ।’

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?