नाम टुंग्याउन साना दल अगाडि

कान्तिपुर संवाददाता

महोत्तरी — प्रतिनिधि र प्रदेश सभाका लागि अधिकांश दलले उम्मेदवार सिफारिस गरिसकेका छन् । तीन ठूला दललाई उछिन्दै राजपा, संघीय समाजवादी फोरमलगायतले सुरुमै नाम केन्द्रमा पठाएका थिए ।

कांग्रेसले मंगलबार राति मात्र नाम सिफारिस गर्न सक्यो । पार्टीले प्रतिनिधिसभाका लागि क्षेत्र १ बाट पूर्वसांसद वसन्त गुरुङ, केन्द्रीय सदस्य कल्याण गुरुङ, सांसद सीताराम भण्डारी, समाजसेवी चिरञ्जीवी हमाललाई सिफारिस गरेको छ । गुरुङद्वय बाबुछोरा हुन् । कांग्रेसले क्षेत्र २ बाट सांसद किरण यादवसमेत ३ जना, ३ बाट पनि तीनै जनाको नाम सिफारिस गरेको छ भने ४ बाट पार्टी जिल्ला सभापति महेन्द्रकुमार रायको नाममा सर्वसम्मति जुटाएको छ ।

एमाले जिल्ला सचिव भानुभक्त पोखरेलका अनुसार पार्टीले क्षेत्र १ बाट ३ जना, २ बाट एक जना, ३ बाट सांसद रामदयाल मण्डलसहित ३ जना र ४ बाट पनि अर्का सांसद रामदयाल मण्डलसहित २ जनाको नामा सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि एमालेले समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि प्रत्यक्षतर्फ २३ र समानुपातितर्फ ४१ जनाको नाम पठाइएका पोखरेलले जानकारी दिए ।

माओवादीले भने अहिलेसम्म नाम टुंगो लगाइसकेको छैन । जिल्ला संयोजक राजु खड्काले नेकपा संयुक्तसँग एकता हुने भए पछि नाम पठाउन केही ढिलाइ हुने बताए । ‘एकतापछि नयाँ पार्टीका साथीको नामसमेत सिफारिस गर्नुपर्ने भएकाले निर्धारित समयमा टुंगो लगाउन नसकिएको हो,’ उनले भने, ‘बिहीबारसम्म सिफारिस टुंगो लगाउने प्रयासमा छौं ।’

राजपाले भने सबै क्षेत्रबाटनाम सिफारिस गरिएको जनाएको छ । केन्द्रीय सदस्य तथा जलेश्वर नपाका मेयर रामशंकर मिश्रले आफूहरू राजधानीमा रहेकाले कुन क्षेत्रबाट कति जना र को–को सिफारिस गरिए भन्ने तत्काल भन्न नसकिने बताए । संघीय समाजवादी फोरमले पनि उम्मेदवारको नाम केन्द्र पठाइसकेकोजिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

‘राजपासँग सहकार्य’

कान्तिपुर संवाददाता

भैरहवा — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आउँदो निर्वाचनमा राष्ट्रिय जनता पार्टीसँग सहकार्य गरिने बताएका छन् ।

रूपन्देहीको गैडहवा गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रमको सिलसिलामा बुधबार भैरहवा आइपुगेका उनले सञ्चारकर्मीसँग मधेसी जनताको अधिकार प्राप्तिका लागि एकता गर्नुपर्ने आवश्यकतामा जोड दिए । यादवका अनुसार दुई पार्टीबीच साझा उम्मेदवार तय गरेर चुनाव लड्ने सहमति जुटिसकेको छ । ‘मधेसी जनताको अधिकारका लागि स्थानीय तह चुनाव मिलेर लड्न आग्रह गर्दा राजपाले नमानेपछि अहिले पछुताउनुपरेको छ,’उनले भने ।

चुनावमा कांग्रेसलगायत पार्टीसँगसमेत सहकार्य गर्नेबारे छलफल चले पनि ठोस निर्णय भइनसकेको यादवले जानकारी दिए । ‘आउँदो चुनावमा सहकार्य गर्न लोकतान्त्रिक शक्तिबीच छलफल चलिरहेको छ,’ उनले भने, ‘गठबन्धनमा कुरा मिलेसबै लोकतान्त्रिक शक्ति मिलेर जान्छांै, नभए राजपासँग मात्र सहकार्य हुन्छ ।’
कालान्तरमा लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प नरहेको पनि यादवले प्रस्ट्याए । संघीय समाजवादी फोरम नेपालले एकल, संयुक्त र गठबन्धन गरेर चुनावमा जाने सबै बाटो खुला राखेको उनको भनाइ छ ।

पछिल्लो वाम पार्टीबीचको एकता चुनावमा सिट जित्नका लागि मात्र भएको यादवले दाबी गरे । वाम एकताले माओवादी केन्द्र एमालेमा विलयको सम्भावना देखिएकोउनले बताए ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्