‘राजपासँग सहकार्य’

कान्तिपुर संवाददाता

भैरहवा — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आउँदो निर्वाचनमा राष्ट्रिय जनता पार्टीसँग सहकार्य गरिने बताएका छन् ।

 ‘राजपासँग सहकार्य’

रूपन्देहीको गैडहवा गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रमको सिलसिलामा बुधबार भैरहवा आइपुगेका उनले सञ्चारकर्मीसँग मधेसी जनताको अधिकार प्राप्तिका लागि एकता गर्नुपर्ने आवश्यकतामा जोड दिए । यादवका अनुसार दुई पार्टीबीच साझा उम्मेदवार तय गरेर चुनाव लड्ने सहमति जुटिसकेको छ । ‘मधेसी जनताको अधिकारका लागि स्थानीय तह चुनाव मिलेर लड्न आग्रह गर्दा राजपाले नमानेपछि अहिले पछुताउनुपरेको छ,’ उनले भने ।

चुनावमा कांग्रेसलगायत पार्टीसँगसमेत सहकार्य गर्नेबारे छलफल चले पनि ठोस निर्णय भइनसकेको यादवले जानकारी दिए । ‘आउँदो चुनावमा सहकार्य गर्न लोकतान्त्रिक शक्तिबीच छलफल चलिरहेको छ,’ उनले भने, ‘गठबन्धनमा कुरा मिले सबै लोकतान्त्रिक शक्ति मिलेर जान्छांै, नभए राजपासँग मात्र सहकार्य हुन्छ ।’
कालान्तरमा लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प नरहेको पनि यादवले प्रस्ट्याए । संघीय समाजवादी फोरम नेपालले एकल, संयुक्त र गठबन्धन गरेर चुनावमा जाने सबै बाटो खुला राखेको उनको भनाइ छ ।

पछिल्लो वाम पार्टीबीचको एकता चुनावमा सिट जित्नका लागि मात्र भएको यादवले दाबी गरे । वाम एकताले माओवादी केन्द्र एमालेमा विलयको सम्भावना देखिएको उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?