कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एम्बुलेन्स जाममा फस्दा...

कान्तिपुर संवाददाता

धादिङ — बाटो जाम भएर बेलैमा अस्पताल पुर्‍याउन नसक्दा गंगा–जमुना गाउँपालिका ३ का ५० वर्षीय होमबहादुर घलेको एम्बुलेन्समै मृत्यु भएको छ ।

 एम्बुलेन्स जाममा फस्दा...

मंगलबार बस दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राजधानी लैजाँदै गर्दा मृत्यु भएको हो । राजधानी जोड्ने ६७ जिल्लाको मुख्य प्रवेशद्वार त्रिभुवन राजपथमा दिनैपिच्छे हुने जाममा गम्भीर बिरामी बोकेका एम्बुलेन्सले समेत बाटो पाउँदैनन् । जामले गर्दा समयमै अस्पताल पुर्‍याउन नसक्दा घलेको मृत्यु भएको आफन्तले बताए । उक्त बस दुर्घटनाका घाइतेमध्ये २८ जनालाई उपचारका लागि राजधानी लगिएको थियो । उनीहरू पनि बुधबार बिहान मात्र अस्पताल पुगेका थिए ।

घाइतेहरू नौबीसेको जाममा रोकिँदा अस्पताल पुग्न ढिलो भएको थियो । नुवाकोटबाट उपचारका लागि राजधानी लैजाँदै गर्दा केही वर्षअघि पूर्वआईजीपी डीबी लामाको पनि नौबीसेकै जाममा मृत्यु भएको थियो । ‘जामले गर्दा समयमै अस्पताल पुग्न नसकेर मृत्यु हुनेहरूको लेखाजोखा कसैले राख्दैन,’ एक स्थानीयले भने । कहिलेकाहीँ त धार्केदेखि त्रिपुरेश्वरसम्मै जाम हुने गरेको छ ।

पछिल्लोपटक निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या घटनापछि प्रहरीले सुरु गरेको सवारी जाँचले पनि सडक जाम बढेको छ । ‘सकस झनै बढ्यो,’ यात्रु सानुमाया पौडेलले भनिन्, ‘बाटोमा सामान किनेर खाने ठाउँसमेत छैन । भोकभोकै गाडीमा थुनिएजस्तो गरेर बस्नुपर्छ ।’

उकालोमा क्षमताभन्दा बढी भार बोकेर गुड्ने सवारी साधनले पनि समस्या बढेको छ । साँघुरो र घुमाउरो सडकमा सवारी आवागमन पनि बाक्लिएको छ । नौबीसे–नागढुंगा खण्डमा त ४/ ५ घण्टा नै जाम लाग्छ । ‘ओभरटेक’ गर्ने र बिग्रेर बसेका सवारीले पनि बाटो थुनिन्छ । ‘बिग्रेका गाडी तान्ने फलामे डोरी (टुचिन) समेत छैन,’ खानीखोलास्थित इलाका प्रहरीका निरीक्षक जीवन रिजालले भने ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?