३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दूधकोसीमा पक्की पुल

गणेश राई, कुम्भराज राई

ओखलढुंगा — दूधकोसी खण्डको जयरामघाट पुल निर्माण अन्तिम चरणमा पुगेको छ । ठेक्का लागेको सात वर्षपछि ओखलढुंगा र खोटाङ जोड्ने पक्की पुल सञ्चालनको अन्तिम अवस्थामा पुगेको हो । पुलको ढलान कार्य सकिइसकेकाले अबको डेढ महिनामा सञ्चालनमा आउने ठेकेदार कम्पनीले जनाएको छ ।

सरकारले मध्यपहाडी लोकमार्गलाई ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरेकाले पुल निर्माण उच्च प्राथमिकतामा परेको थियो । ‘९० प्रतिशतभन्दा बढी काम सकिएको छ । बढीमा दुई महिनाभित्र सञ्चालनमा आइसक्नेछ,’ इन्जिनियर दरोगा प्रसादले भने । पुलमा कालोपत्रे गर्न दैनिक ७० जना कामदार खटाइएका थिए । पुलको आयु कम्तीमा पचास वर्षको हुने इन्जिनियर प्रसादको दाबी छ । मंगलबार पुलको कालोपत्रे पनि सकिएको खोटाङका सांसद पीके राईले बताए । 

हुलास स्टिल कम्पनीले १० करोड ६ लाख रुपैयाँ लागतमा ठेक्का लिएको थियो ।  चिनियाँ प्राविधिकहरूको प्रत्यक्ष संलग्नतामा पुल निर्माण भइरहेको छ । पुलको लम्बाई १ सय २० मिटर र चौडाइ ६ मिटर छ । उक्त पुलमा गाडी गुड्ने चौडाइ भने ४ दशमलव २५ मिटर रहनेछ । ओखलढुंगा र खोटाङको सिमानालाई जोड्ने यो नै पहिलो पक्की पुल हुनेछ । हाल पक्की पुल नहुँदा सर्वसाधारण झोलुंगे पुलबाट आवतजावत गर्दै आएका छन् ।  

खोटाङका लागि दैनिक उपभोग्य सामग्री आयात गर्नसमेत असहज हुने गरेको छ । पुल नभएकै कारणले प्रतिकिलो ५ रुपैयाँसम्म मूल्य वृद्धि हुने गर्छ । पूर्वकै चर्चित धार्मिकस्थल हलेसी जाने तीर्थयात्रीहरूसमेत निकै मर्कामा पर्ने गरेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको चियोभन्ज्याङबाट काठमाडौंसम्मको ६ सय ८१ किलोमिटर दूरीमा ३७ वटा पुल बन्नुपर्नेछ ।

काठमाडौं पूर्वतर्फ सुनकोसी नदी किनारको सिन्धुली खण्डको नारिम खोला र सिन्धुली–उदयपुरको सीमा बहादुरा खोलामा पक्की पुल बन्न बाँकी छ । पूर्वतर्फ अरुण र तमोर नदीमा यसअघि नै पुल बनिसकेका छन् । मध्यपहाडी लोकमार्ग पाँचथरको चियोभन्ज्याङ (नेपाल–भारत सीमा) देखि सुरु भएर बैतडीको झुलाघाट (महाकाली नदी) मा टुंगिनेछ ।

 

प्रकाशित : आश्विन २७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?