कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वविद्यालय बन्ने भएपछि खुसियाली

श्यामसुन्दर शशि

जनकपुर — झन्डै २२ वर्षदेखि प्रक्रियामा रहेको राजर्षि जनक विश्वविद्यालय विधेयक बिहीबार संसदबाट पारित भएपछि जनकपुरवासीले खुसियाली मनाएका छन् । उनीहरूले मिथिलाको प्राचीन शैक्षिक परम्परा पुनर्जीवित हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालय बन्ने भएपछि खुसियाली

‘प्रदेश नम्बर २ को एक मात्र विश्वविद्यालयले यहाँको शैक्षिक स्तरमा महत्त्वपूर्ण सुधार ल्याउनेछ,’ प्राध्यापक डा. सुरेन्द्र लाभले भने ।

उनले विधेयकको ‘कन्टेन्ट’ हेर्न नभ्याए पनि यो केन्द्रीय विश्वविद्यालय हुने आशा राखे । नेपालको संविधानमा प्रादेशिक तथा केन्द्रीय गरी दुई प्रकारका विश्वविद्यालयको प्रावधान छ । प्राध्यापक लाभ यसलाई प्राविधिक विश्वविद्यालयका रूपमा अगाडि बढाउनु पर्ने तर्क गर्छन् । वैदेशिक रोजगारीमा जाने युवाको बाहुल्यता रहेकाले यो प्रदेशमा प्राविधिक शिक्षा अगाडि बढाएर युवा पुस्तालाई राम्रो आयआर्जनमा लगाउन सकिने उनको भनाइ छ ।

‘अहिलेसम्म यहाँका युवा ‘लेबर ड्रेन’ मा जान्थे । अब ‘ब्रेन ड्रेन’ मा जानेछन् । त्यसरी जानेहरू डलर लिएर फर्किन्छन्,’ उनले भने । माओवादी केन्द्रका नेता तथा मिथिला संस्कृतिका जानकार रामचन्द्र झा राजर्षि जनक विश्वविद्यालयको स्थापनासँगै मिथिलाको प्राचीन दार्शनिक परम्परा पुनर्जीवित हुने दाबी गर्छन् । उनले भने, ‘मिथिला शिक्षा, दर्शन, कृषि तथा योगादिको केन्द्र थियो । विश्वविद्यालय स्थानपासँगै यो प्रदेश पुन: शिक्षाको केन्द्र बन्नेछ । 

पूर्वीय दर्शनका षडदर्शनमध्ये चारवटा थिला भूमिमै लेखिएको झाको दाबी छ । जैमिनी, कणाद, गौतम तथा कपिलद्वारा लिखित चार दर्शन अझै पनि लोकप्रिय रहेको उनी बताउँछन् । संसारकै सर्वाधिक मलिलो माटो भएको मिथिलाञ्चलमा स्थापित हुन लागेको विश्वविद्यालयले कृषि तथा पशुपालनलाई प्रमुख विषय बनाउनुपर्ने तर्क झाको छ ।

एमाले पोलिटब्युरो सदस्य एवं सांसद शत्रुघ्न महतोले विश्वविद्यालयको स्थापनाले मिथिलाञ्चलको पुरानो शैक्षिक परम्परा पुनर्जीवित हुने विश्वास व्यक्त गरे । यसैगरी सांसद डा. विजयकुमार सिंहले पनि विधेयक पारित भएकोमा खुसी व्यक्त गरे । ‘यो सकारात्मक कदम हो । यसलाई कुनै पार्टी वा नेताको व्यक्तिगत सफलताका रूपमा अर्थाउनु हुन्न । यो जनकपुरवासीको सफलता हो,’ उनले भने ।

सांसद महतोले विश्वविद्यालयका भीसीलगायतका पदाधिकारी नियुक्ति पार्टीगत रूपमा नभई योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने मागसमेत गरेका छन् । 

प्रकाशित : आश्विन २७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?