कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

असुरक्षित भवनमा प्रहरीको बास

प्रताप विष्ट

हेटौंडा — नागरिकलाई सुरक्षा प्रदान गर्न कार्यरत प्रहरीहरू आफैं असुरक्षित अवस्थामा बस्न बाध्य छन् । विकट गाविसका अधिकांश प्रहरी चौकीको आफ्नो भवन नभएर भाडामा घर राखिएको छ । त्यतिमात्र होइन, गाविस भवनको कोठा र पुरानो पाटी पौवामा पनि उनीहरूको बास छ ।

 असुरक्षित भवनमा प्रहरीको बास

भूकम्पले भवन भत्केकाले केही चौकीका प्रहरीहरू त्रिपालमुनि बसिरहेका छन् । 

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङको प्रहरी चौकी उपत्यका बाहिरको मुलुकको पहिलो प्रहरी (थाना) चौकी हो । भवनको अभावमा प्रहरी जवानदेखि अधिकृतसम्म पुरानो ऐतिहासिक जीर्ण पाटीमा बस्दै आएका थिए । भूकम्पले गाह्रो चिरा–चिरा पारिदिएकाले कृुनै पनि बेला गल्र्यामगुर्लुम भत्कने डरले पाटी नजिकै टाँगिएको त्रिपालमुनि सुत्ने गरेका छन् । इप्रका कार्यालय त्यही ऐतिहासिक जीर्ण भवनमा नै राखिएको छ । प्रहरीहरू त्यही भवनमा खाना पकाएर खाने गर्छन् भने हातहतियार पनि त्यही भित्र राख्ने गरेका छन् । भात खाँदा पनि उनीहरू डराई–डराई खाने गरेका छन् । 

उपत्यका र तराई आवत–जावत गर्ने प्रवेशद्वारको रूपमा रहेको चित्लाङमा यात्रुहरूको सुरक्षार्थ २००२ सालमा प्रहरी थाना राखिएको थियो । त्यति बेला १५ जना रहने उक्त थानामा प्याङको टोपी लगाउने मिलेसिया प्रहरी तैनाथ गरिएको थियो । गोश्वाराको मातहत रहने गरी ७२ वर्षअघि प्रहरी थाना चित्लाङको नारायणहिटीको पौवा (पाटी) मा राखिएको थियो । उक्त पाटी भत्केपछि चित्लाङको ऐतिहासिक पौवामा प्रहरी थाना राखिएको ७८ वर्षीय बाबुकाजी मानन्धरले बताए । 

पौवास्थित थानामा मिलेसिया प्रहरी त्यसपछि राम दलको प्रहरी तैनाथ गरिएको थियो उनले भने । चित्लाङ राजधानी प्रवेशद्वार भएकाले यात्रुहरू बास बस्नका लागि करिब २ सय वर्षअघि निर्माण गरिएको काष्ठकलायुक्त पौवा मर्मत सम्भारको अभावमा जीर्ण रहेको अवस्थामा भूकम्पले झन् चिराचिरा पारिदिएको छ । भत्कने अवस्थामा रहेको पौवामा इलाका प्रहरी कार्यालय चित्लाङ रहेको छ । मुसा र सर्पको बिगबिगी रहेको पौवामा प्रहरी कार्यालय छ । ‘पाटीको माथिल्लो तलामा सर्प र मुसाको रजाइँ छ भने माटोको गाह्रो भएकाले कुनै बेला भत्केर किचिने डर छ,’ इप्रकाका प्रमुख दीपक गुप्ताले भने, ‘घर भत्कने डरले नजिक पनि बस्न डर लाग्छ तर के गर्नु, त्यही घरभित्र कार्यालय नै चलाउनु परेको छ ।’ करिब २ सय हात लामो दुई तले पौवाको माथिल्लो तलामा विभिन्न मालसामान राखिएकाले मुसा र सर्पको यहाँ स्थायी बसोबास छ । मुसा र सर्पले माथिल्लो तलाको गाह्रो सबै भत्काइसकेको छ । भूकम्पले गर्दा गाह्रो सबै चर्केको छ । चर्केको ठाउँलाई मुसा र सर्पले सुरक्षित बासस्थान बनाएको छ । 

उपत्यका र तराई आवत–जावत गर्ने यात्रुहरू रात बस्नका लागि निर्माण गरिएको पौवा कुनै पनि बेला भत्कने अवस्थामा छ । पुरातात्त्विक विभागको मातहतमा रहेकाले गाविस वा प्रहरीले उक्त पौवाको मर्मत सम्भार गर्न पाउँदैनन् । ‘मर्मत सम्भार गर्न पनि पुरातात्त्विक विभागको स्वीकृति लिनुपर्छ,’ स्थानीय बुद्धिजीवी बुद्धरत्न मानन्धरले भने, ‘पौवाको मर्मत सम्भार नगरिएकाले नगारिकको सुरक्षा गर्न बसेका प्रहरीहरू नै असुरक्षित अवस्थामा छन् ।’ 

उपत्यका बाहिरको पहिलो प्रहरी थाना अहिले इलाका प्रहरी कार्यालयमा बढोत्तरी गरिएको छ । तर भौतिक पूर्वाधारको अभावमा प्रहरीहरू जोखिममा छन् । नेपाल प्रहरी संगठन गठन हुुनुअघि स्थापना भएको चित्लाङको प्रहरी थानाले श्री ५, श्री ३, बेलायती महारानी तथा हजारौं विदेशी र स्वदेशी सुरक्षार्थ प्रदान गरेको इतिहास छ तर चौकी र त्यहाँका प्रहरीहरू भने असुरक्षित छन् । त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि स्वदेशी एव विदेशीहरू चित्लाङ चन्द्रागिरि हुँदै उपत्यका प्रवेश गर्थे । त्रिभुवन राजपथको सञ्चालनसँगै चित्लाङको पाटी पौवा, ढुंगेधारा, चुल्हो, ऐतिहासिक वस्तु र पैदलमार्ग क्रमश: लोप हुँदै गएको हो । चित्लाङका प्रहरीहरूमात्र होइन, बकैया गाउँपालिका अन्तर्गत पर्ने साबिकको ठिंगन गाविसस्थित इप्रकाका प्रहरीहरू गाविस भवनको एउटा कोठामा कोचिएर बसेका छन् । कोठामा पानी चुहिने भएकाले हातहतियार जोगाउन पनि उनीहरूलाई हम्मे परेको छ । यसैगरी, खैराङ, कान्द्राङ, फाखेल, भोर्लेनी र डाँडाखर्क गाविसस्थित प्रहरी चौकी घर भाडामा लिएर राखिएका छन् । उनीहरूको स्थिति असुरक्षित र कष्टपूर्ण छ । थाहा नपास्थित सिमभन्ज्याङका प्रहरीहरूले त्रिपालमुनि बसेर स्थानीयवासीलाई सुरक्षा प्रदान गरेका छन् । भूकम्पले उनीहरू बसेको भवन भत्केकाले २९ महिनादेखि त्रिपालमुनि बसेका छन् । 

०७२ वैशाख १२ को भूकम्प र त्यसपछि परकम्पले जिल्लाका डेढ दर्जन प्रहरी चौकीको भवनमा क्षति पुगेको थियो । प्रहरी चौकी भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि क्षतिग्रस्त अधिकांश प्रहरी चौकीका प्रहरीहरू त्रिपालमुनि बसेर नागरिकलाई उद्धार र राहतमा सहयोग पुर्‍याउनुका साथै सुरक्षा प्रदान गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाका विभिन्न गाविसमा रहेका पुराना अस्थायी प्रहरी चौकीका भवन भूकम्पले क्षतिग्रस्त बनाएको छ ।

प्रकाशित : आश्विन २७, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?