कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बन्ध्याकरण गर्न आएकाहरू जंगल भागे

प्रताप विष्ट

हेटौंडा — महिला स्वयंसेविकाहरूको प्रयासबाट घरबाट बल्लबल्ल राजी भएर नि:शुल्क स्थायी बन्ध्याकरण शिविरमा आएका भीमफेदी गाउँपालिका चुनियाका ३३ वर्षीय दलबहादुर लामा पत्तै नदिई हिँडे ।

जनस्वास्थ्य कार्यालय हेटांैडाले शुक्रबार भीमफेदी गाउँपालिकाको भैंसेमा बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो । ‘बन्ध्याकरण गर्न आएका दलबहादुर शिविरमा आउने वित्तिक्कै फुत्तै भागे,’ भैंसेकी महिला स्वयंसेविका सावित्री रानामगरले भनिन्, ‘बल्लबल्ल राजी बनाएर परिवार नियोजन गर्न घरबाट ल्याइएका थियौं ।’

६ वटा बच्चाका बाबु दलबहादुर परिवार नियोजन गर्न शिविरमा आउन मानेकै थिएनन् । महिला स्वयंसेविकाहरूले सम्झाएर बुझाएर शिविरसम्म ल्याएका थिए । तर उनी त्यहाँबाट भागे । उनीसँगै अरू तीन जना पनि भागे । परिवार नियोजन गरेपछि बारी खन्न, घाँसदाउरा गर्न र भारी बोक्न सकिँदैन भन्ने भ्रम उनीहरूमा छ । सम्झाउँदा,सम्झाउँदा हुन्छ परिवार नियोजन गर्छौं भनेर शिविरसम्म आएर यहाँबाट भागे स्वयंसेविका रानामगरले भनिन् ।

भंैसेमा मात्र होइन आइतबार मनहरी गाउँपालिकाको रजैयामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको थियो । बध्याकरण गर्न १५ पुरुषले नाम लेखाएका थिए तर एक जनाले मात्र स्थायी बन्ध्याकरण गरे । ‘नाम लेखाएका पुरुषहरू नै आएनन्,’ जनस्वास्थ्य कार्यालय मकवानपुरकी परिवार नियोजन कार्यक्रमकी पब्लिक हेल्थ नर्स मिलन घिमिरेले भनिन्, ‘बल्लबल्ल नाम लेखाएकाहरू शिविरमा नै आएनन्, दिनभरिमा एक जनाको मात्र स्थायी बन्ध्याकरण गरियो ।’

यसैगरी थाहा नगरपालिका ७ को डाँडाबासमा बिहीबार नि:शुल्क स्थायी बन्ध्याकरणको शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा बन्ध्याकरण गर्न १७ जना पुरुष र ६ महिलाले नाम लेखाएका थिए । तीमध्ये ५ जना महिलाले परिवार नियोजन गराएका थिए । घरबाट ल्याएर २ जना पुरुषको पनि बन्ध्याकरण गरियो पब्लिक हेल्थ नर्स घिमिरेले भनिन्, ‘नाम लेखाएका १५ पुरुषहरू बन्ध्याकरण गर्नुपर्छ भनेर बिहानै जंगल गएर लुकेर बसे ।’ राजधानीसँग जोडिएको जिल्लाको करिब सुगम क्षेत्रमा राखिएको नि:शुल्क स्थायी बन्ध्याकरण शिविरमा परिवार नियोजन गर्नेको संख्या अत्यन्त न्यून छ । परिवार नियोजनप्रति नै गाउँका बासिन्दाहरूमा भ्रम छ ।

उनीहरूलाई अन्धविश्वासको भारीले थिचेको छ । ‘शिविर सञ्चालन कार्यक्रमको प्रचारप्रसार व्यापक रूपमा गरियो,’ पब्लिक हेल्थ नर्स घिमिरेले भनिन्, ‘थाहा नपाएर होइन, परिवार नियोजनप्रति नै भ्रम भएर हो ।’ परिवार नियोजन गरेपछि ढाड दुख्छ, काम गर्न सकिँदैन भन्ने भ्रम यस क्षेत्रका बासिन्दाहरूमा छ । भर्खरै २३ वर्षमात्र टेकेका छन् भइसेका गणेशबहादुर भोम्जन तर उनका चार वटा छोराछोरी छन् । ‘जीवनभर भारी बोकेर खानुपर्छ, परिवार नियोजन गरेपछि भारी बोक्न सकिँदैन भोम्जनले भने, ‘जति वटा छोराछोरी भए पनि फरक पर्दैन, उनीहरूको पनि कमाइ गरेर खाने हातखुट्टा हुन्छ ।’

परिवार नियोजनप्रति मकवानपुरको सुगम क्षेत्रका बासिन्दाहरूको सोच र चिन्तन यस्तो छ भने अझ दुर्गममा कस्तो होला,’ जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले भने, ‘परिवार नियोजनप्रति यस क्षेत्रका बासिन्दालाई अझै बुझाउन सकिएको रहेनछ ।’ परिवार नियोजनका बारेमा
कसरी गाउँका बासिन्दाहरूलाई भ्रम मुक्त गराउने भन्ने चिन्ता जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरलाई परेको छ ।

प्रकाशित : आश्विन २८, २०७४ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?