चोकचोकमा स्मार्ट आइल्यान्ड

विना थापा

कास्की — पर्यटकीय सहर पोखराको ट्राफिक व्यवस्थापनका लागि यति बेला चोकचोकमा ‘स्मार्ट आइल्यान्ड’ राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वराज अधिकारीका अनुसार अहिलेसम्म ६ वटा स्मार्ट आइल्यान्ड बनिसकेको र दुइटा निर्माण चरणमा छन् ।

 चोकचोकमा स्मार्ट आइल्यान्ड

नयाँ आइल्यान्डमा बसेर ट्राफिकले यातायातका साधनको व्यवस्थापन गर्नुपर्ने हो । तर ट्राफिक प्रहरीले सडकबाटै इसारा गरिरहेको पाइएको छ ।

भर्खरैमात्र बनाइएको आइल्यान्डमा ट्राफिक प्रहरी बसेर यातायातलाई व्यवस्थापन गर्न खोजे पनि कतिपय सवारी चालकले इसारा नबुझेकाले सुरुसुरुमा समस्या आएको उनको भनाइ छ । ‘ट्राफिक प्रहरीले दिएको इसारा अधिकांश सवारी चालकले नबुझ्ने र प्रहरीको पनि बानी नपरेकाले सडकमै बस्नुपर्ने बाध्यता हो,’ उनले भने ।

ट्राफिक प्रहरीका अनुसार जनशक्तिको अभावले पनि चोकमा एक जनामात्रै बस्नुपरेको तर यातायातको साधनको चाप बढी भएकाले सडकमै बस्नुपरेको हो । ‘चोक हेरेर दुई जनादेखि माथि ट्राफिक खटिनुपर्छ,’ उनले भने, ‘बिस्तारै ट्राफिक र चालकमा बानी पर्छ । त्यसपछि आइल्यान्डभित्र बसेर ट्राफिक व्यवस्थापन हुनेछ ।’

स्मार्ट आइल्यान्डले चोक पनि आकर्षक देखिएका छन् । ट्राफिक व्यवस्थापमा आवश्यक सामान राख्न, मोबाइल चार्ज गर्ने लगायतका सेवासुविधा आइल्यान्डमा छ । रात्रिकालीन समयमा पनि उज्यालोको व्यवस्था भएकाले चालकले सहजै देखेर चोक रहेछ भन्ने थाहा पाउने गर्छन् । यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने ट्राफिकको भनाइ छ । महेन्द्रपुल, सभागृह, सिर्जना चोक, राष्ट्रबैंक चोक, बुद्धचोक र हल्लनचोकमा स्मार्ट आइल्यान्ड बनिसकेका छन । रानीपौवा र नदिपुर दुई ठाउँमा पनि छिटै बन्नेछन् । 

सार्वजनिक, निजी साझेदारीमा अवधारणामा सम्झौता भएर फिस्टेल होल्डी प्रालिसँग आइल्यान्ड बनाउने ५ वर्षको सम्झौता भएको पोखरा लेखनाथ महानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडलले बताए । उनका अनुसार एउटा आइल्यान्डका लागि १२ लाख रुपैयाँ खर्च लाग्छ । 

पछिल्लो समय भद्दा भएको र यसले ट्राफिक व्यवस्थापनमा समस्या ल्याएको भन्दै पृथ्वीचोक र जिरो किलोमिटरको आइल्यान्ड भत्काइएको छ । ती स्थानमा समेत स्मार्ट आइल्यान्ड राख्ने तयारी प्रहरीको छ । 

 

प्रकाशित : आश्विन २८, २०७४ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?