१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सबै पार्टीमा आकांक्षी धेरै

कान्तिपुर संवाददाता

पाल्पा — मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुख्य तीन दलमा उम्मेदवार आकांक्षी धेरै देखिएका छन् । खासगरी कांग्रेस र एमालेमा आकांक्षीको सूची लामो छ । एमाले र माओवादीबीच तालमेल हुने भए पनि छुट्टाछुट्टै सूची तयार पारिएका छन् ।

सिफारिसमा परेकाहरू टिकट फुत्काउन समर्थकसहित राजधानीमा व्यस्त छन् । केही आकांक्षी केन्द्रीय नेता भेटेर जिल्ला फर्किएका छन् । ‘आफ्नो शक्ति र पहुँच देखाउने बेला यही हो भन्ने धेरैको बुझाइ छ,’ सिफारिसमा परेका एक कांग्रेस नेताले टेलिफोनमा भने, ‘योग्यता, क्षमता र योगदानभन्दा पहुँच र भनसुनले काम गर्ने भएकाले सबैले नेताको घरदैलो चाहारेका छन् ।’ आकांक्षीहरू आफ्नो पक्षका समर्थक लिएर काठमाडौंमा सम्पर्क सूत्रमार्फत लबिइङ गरिरहेका छन् ।

प्रतिनिधिसभाका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्ष र समानुपातिकमा गरी कांग्रेस, एमाले र माओवादी केन्द्रबाट १ सय ५० भन्दा बढी सिफारिसमा परेका छन् । सबैभन्दा बढी कांग्रेसले ६९, एमालेले ४३ र माओवादी केन्द्रले २१ जना सिफारिस गरेका छन् ।

सर्वसम्मत नाम छान्न नसकेपछि कांग्रेस र माओवादीका जिल्ला नेतृत्वले टिकट टुंगो लगाउने जिम्मा केन्द्रीय समितिकै तजबिजमा छाडेका छन् । ‘सिफारिसमा परेका सबैजसो नेता दलबलसहित काठमाडौं पुगेका छन्,’ एमालेका एक नेताले भने । धेरै नाम सिफारिसमा परेका कारण काठमाडौं धाउनेमा पनि कांग्रेसकै नेता–कार्यकर्ता बढी छन् । माओवादी केन्द्रका नेता, कार्यकर्ताको पनि दौडधुप पनि उस्तै छ । एमालेले प्रदेशस्तरीय कमिटीलाई टिकट टुंगो लगाउन जिम्मा दिएको थियो । कमिटीले सर्वसम्मत नाम छान्न नसकेपछि जिल्लाबाट आएका सबै नाम केन्द्र पठाउने निर्णय गरेको छ ।

प्रकाशित : आश्विन ३०, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?