कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्थिक–प्राविधिक मूल्यांकन सुरु

स्मार्ट सिटी
कान्तिपुर संवाददाता

काठमाडौं — सहरी विकास मन्त्रालयले उपत्यकाका चारै दिशामा बन्ने नयाँ सहरको आर्थिक तथा प्राविधिक मूल्यांकन प्रक्रिया अघि बढाएको छ ।

जनसंख्या चाप बढदै गएपछि व्यवस्थित सहरीकरणको विकास गर्न मन्त्रालयले चाँडो प्रक्रिया अघि बढाउन केही दिनअघि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएको थियो । सरकारले मूलपानी–साँखु, भक्तपुरको कटुन्जे, टोखा र भैंसेपाटी छम्पीदेखि सैंबु क्षेत्रमा व्यवस्थित सहरीकरणको विकास गरी ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्ने भएको हो । ‘परामर्शदाता छनोट कार्य अघि बढाइसेका छौं,’ प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले भने, ‘केही दिनभित्र सबै प्रक्रिया टुगिन्छ ।’

बढदो जनसंख्या मध्यनजर गर्दै उपत्यकाको १ लाख ३० हजार रोपनीमा ल्यान्डपुलिङका माध्यमबाट आधुनिक र सुविधा सम्पन्न सहरको विकास गरिने उनले बताए । यसका लागि आवश्यक लगानी, समय र लाभान्वित संख्या तथा स्वरूपको खाकाबारे पनि विस्तृत अध्ययन गरी मन्त्रालयमा पठाइने उनले बताए ।

उपत्यकाको उतर–पूर्वतर्फ जोरपाटी, मूलपानी, साँखु हुँदै भक्तपुरको तेलकोटसम्म करिब १ लाख रोपनीमा नयाँ सहर निर्माण गरिनेछ । पूर्व–दक्षिणतर्फ भक्तपुरको कटुन्जे, गुन्डु, दधिकोट, सिरुटार, सूर्यविनायकदेखि अरनिको राजमार्गको सीमासम्म, दक्षिण–पश्चिमतर्फ बुङ्मती, भैंसेपाटी छम्पीदेखि सैंबु हुँदै फर्सिडोल र दक्षिणमा वाग्मती नदीसम्म र उत्तर–पश्चिममा साङ्ला, झोर, पञ्चेटारलगायत क्षेत्रमा १०/१० हजार रोपनीमा नयाँ सहर निर्माण गरिनेछ ।

गत आवमा सरकारले उपत्यकामा व्यवस्थित सहरीकरणको विकास गर्ने घोषणा गरेको थियो । घोषणाअनुसारै सरकारले ४ व्यवस्थित, आधुनिक र सुविधासम्पन्न सहरको विकास प्रक्रिया अघि बढाएको हो । १ लाख रोपनी भएको १५ महिनाभित्र र १० हजार रोपनी भएको स्थानको ५ महिनाभित्र आर्थिक तथा प्राविधिक मूल्यांकन प्रतिवेदन मन्त्रालयलाई बुझाउने तिवारीले बताए ।

तिवारीका अनुसार सन् २०३० सम्ममा समावेशी र दिगो सहरीकरण, सहभागितामूलक, एकीकृत, दिगो मानवबस्तीको योजना तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने लक्ष्य साथ सरकारले यो अवधारणा अघि सारेको हो । मन्त्रालयका सूचना अधिकारी सुमन चालिसेले प्रक्रिया अघि बढिसकेकाले चांडै टुगो लाग्ने बताए । ‘सम्पूर्ण प्रक्रिया ३ वर्षभित्र सम्पन्न गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित : आश्विन ३०, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?