३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फोहोरमैला व्यवस्थापनमा परनिर्भर नगरपालिका

शिल्पा कर्ण

काठमाडौं — महानगरको फोहोरका विषयमा पटकपटक कुरो उठे पनि अन्य नगरपालिकामा समेत ओखरपौवा बन्दको असर पर्ने गरेको छ । त्यसैले केही नगरपालिका उपयुक्त ल्यान्डफिल साइटको खोजीमा छन् ।

फोहोरमैला व्यवस्थापनमा परनिर्भर नगरपालिका

फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीयको गुनासो आउनुका साथै नगर फोहोर देखिने उनीहरू बताउँछन् । नुवाकोटको सिसडोलमै सबै नगरपालिकाले फोहोर फाल्ने गरेकाले त्यहाँ बन्द हुनेबित्तिकै सबै नगरमा फोहोर बढेको छ । 

दक्षिणकाली नगरपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । आगामी ६ महिनाभित्रमा पक्की सडक बनेर पर्यटक बढ्ने भएकाले फोहोरमैला पनि बढ्नेमा जनप्रतिनिधि सचेत छन् । यद्यपि अहिलेसम्म नगरपालिकाले फोहोर फाल्ने डम्पिङ साइट खोज्न सकेको छैन । मेयर मोहन बस्नेतले भने, ‘हाम्रो नगरपालिकामा उत्पादन भएको फोहोर यतै कतै व्यवस्थित गर्न खोजिरहेका छौं । फोहोरलाई प्रशोधन गरि मल बनाउने र अन्य फोहोर फाल्ने स्थानको एक महिनाभित्र खोजी गरिसक्छौँ ।’

दक्षिणकाली नगरपालिकामा जनप्रतिनिधि आउनुअघि नजिकैको त्रिभूवन आदर्श विद्यालय फर्पिङ नजिकको चौरमा फाल्ने गर्दा पटक पटक विवाद हुने गरेको थियो । नपासँग रहेको एकमात्र फोहोर फाल्ने गाडिले भ्याएसम्मको फोहोर ओखरपौवामा फाल्ने गथ्र्यो । अहिले त्यहाँको एउटा गैरसरकारी संस्थाले फोहोर उठाएर चोभारमा फिल्टर गरि गर्ने गरेको छ । तर नगरपालिकासँग समन्वय गरेको छैन । पटकपटकको छलफल भएपनि शुल्क बढी भएको भन्दै कुरा नमिलेको हो । दक्षिणकालीका अधिकांश भू–भाग ग्रामीण इलाका भएकाले खासै फोहोर उत्पादन नहुने मेयर बस्नेतले बताए । 

तारकेश्वर नगरपालिकाको नेपालटारमा केही स्थानमा ‘फोहोर फाले २०० देखि ५०० जरिवाना गरिनेछ’ भनी बोर्ड राखिएको देख्न सकिन्छ । तर नगरमा उत्पादित फोहोर उक्त नपा स्वयंले व्यवस्थापन भने गर्न सकेको छैन, निजी संस्थाकै भर परेको छ । तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालिले घरधनीसँग पैसा उठाएर फोहोर व्यवस्थापन गर्ने गरेको नगरपालिकाको भनाइ छ । तर सहरी क्षेत्र, जहाँ बढी फोहोर उत्पादन हुन्छ सो क्षेत्रमा मात्र उक्त संस्थाको गाडी आउने गरेको छ । दैनिक औसतमा १२ टन फोहोर उत्पादन हुने तारकेश्वरमा जनप्रतिनिधि आएपछि पनि पुरानै फोहोर व्यवस्थापन प्रणाली छ । 

मेयर रामेश्वर बोहोराले लगानी बोर्डले राजधानीका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गरिदिने विषयमा अध्ययन थालेकाले बिचमा कुनै संस्था विशेषसँग फोहोर व्यवस्थापनको सम्झौता नगरिएको बताए । ‘हामीले लगानी बोर्डलाई अनुमति दिइसकेका छौं । अहिले फोहोर उठाइरहेको संस्थासँग राजस्व उठाएका छैनौं,’ बोहोराले भने ।

प्रकाशित : कार्तिक ३, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?