कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

जलाशय परिसरमा छठ

देवनारायण साह

मोरङ — तराई मधेसको महान् पर्व छठको बुधबार दोस्रो दिन व्रतालुले खर्ना पूजा गरेर छठीमाईको आहान गरेका छन् । कात्तिक शुक्लपञ्चमीका दिन खर्ना पूजा गर्ने परम्परा छ । व्रतालुले बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर व्रतको सुरु गर्नेछन् ।

 जलाशय परिसरमा छठ

बुधबार व्रतालु दिनभरि निराहार बसेर राति कुल देउताको पूजा गर्ने कोठामा माटाको नयाँ चुलोमा दूध, सख्खर, अरुवा चामल हालेको खिर पकाएर खर्ना पूजा गरेका हुन् । खीर तयार भएपछि स्नान गरेर कुल देउताको पूजा गरेर उक्त पूजाकोठामै केराको पातमा दुई ठाउँमा खीर, केरा, लड्डु, पान, सुपारी, फूलको नज चढाएर विधिवत् पूजा गरी छठीमाईको आहान गरेको सिरहा महिसोथाका रापरीदेवी यादवले बताइन् । उनले उक्त खीर व्रतालुले प्रसादका रूपमा ग्रहण गरेर पानी खाएपछि पुन: निराहार बसेर बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत पूरा हुन्छ । 

छठ पर्वमा कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो सूर्यको उपासना र सप्तमीको उदाउँदो सूर्यको उपासना गरिन्छ । भगवान् राम १४ वर्षको वनवास अवधिमा रावणको वध गरेका थिए । उक्त अवधि पूरा हुनासाथ कात्तिक औंसीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।

उक्त दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको आठौं दिनमा छठ पूजा हुने गर्छ । भगवान् राम अयोध्या फर्केपछि राजकाज सञ्चालन गर्नुभन्दा अघि ब्राह्मण (रावण) हत्याको पापबाट मुक्त हुन ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिइएको थियो ।

अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै उक्त अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त भएका थिए । सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा गर्न थालिएको धार्मिक जनविश्वास छ । यी दुइटै महत्त्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी माता र सूर्यको उपासना गरी पर्व मनाइन्छ । यो पर्व कृषिमा आधारित रहेको छ । यसमा बाँसका नयाँ टोकरी, कोनिया, पंखाका साथै प्रसादका रूपमा केरा, उखु, फलफूल, पान, सुपारी, भन्टा, मूला, सुथनी, औकुरी, अल्हुवा, जुटा चलाइन्छ । 

 

प्रकाशित : कार्तिक ९, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?