१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दसैं मनाउन आएका म्यादी भर्नाले रोकिए

कान्तिपुर संवाददाता

अछाम — जयगढ गाउँपालिका ५ का नवराज साउद स्नाकोत्तर उत्तीर्ण हुन् । शैक्षिक योग्यताका कागजात फोटोकपी गरेर उनी मंगलबार म्यादी प्रहरीका लागि आवेदन दिन हजारौं युवाबीच लाइनमा बसेका थिए । उनी ३ पटक नेपाल प्रहरीका लागि आवदेन दिए पनि अन्तर्वार्ताबाट बाहिरिएका थिए ।

दसैं मनाउन आएका म्यादी भर्नाले रोकिए

नेपाली सेनाको जागिरका लागि पनि २ पटक आवेदन दिँदासमेत सफल हुन नसकेको उनले सुनाए । यसपटक १ हजार २ सय ३४ म्यादी प्रहरी कोटामा उत्तीर्ण हुनेमा उनी आशावादी छन् ।

उनीजस्तै धेरै युवा ५५ दिने जागिरका लागि साता अघिदेखि नै सदरमुकाम मंगलसैनमा अड्डा जमाएर बसेका छन् । भारतलगायत विभिन्न मुलुकबाट दसैंतिहार मान्न घर फर्केका धेरै युवाले म्यादी बन्न सदरमुकाम आएको बताए ।

सामान्य लेखपढ शैक्षिक योग्यता मागिएकाले ५४ वर्षसम्मका व्यक्तिको निवेदन दर्ता भएको जिल्ला प्रहरीका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । म्यादीकै लागि ३ सय ८४ महिला पनि प्रतिस्पर्धामा छन् । आवेदक २ हजार ३ सय १६ बाट १ हजार २ सय ३४ छनोट गरिनेछ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भर्ना गरिए पनि खाली समयमा सामाजिक काममा पनि खटाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले बताए । ‘महिलाको सहभागिता उल्लेखनीय छ,’ सहायक प्रजिअ काउचाले भने, ‘स्थानीय तहमा म्यादीमा भर्ना भएका महिलाको प्रभावले यसपटक धेरै आए ।’

कमलबजार नगरपालिका १ मष्टाबण्डालीकी ४५ वर्षीया प्रेमकला बजगाईं सामान्य लेखपढ गर्न सक्छिन् । उनका श्रीमान् भारततिर कामको खोजीमा गएका र उतै बेपत्ता भएका छन् । म्यादी बन्न पाए आउने पैसाले छोरीलाई प्राविधिक शिक्षा पढाउने उनको सोच छ ।

म्यादी हुन चाहनेमा बर्सेनि काम खोज्दै भारत जाने व्यक्ति बढी छन् । ‘दसैं/तिहार मान्न आएको थिएँ, म्यादीमा खुलेपछि भारतको चौकीदारीमा जान मन लागेन,’ मेल्लेख ७ का गोविन्द नेपालीले भने, ‘१४ वर्षदेखि गर्दै आएको चौकीदारी माया मारिदिएँ ।’ भारतमा पटके रोजगारी गर्ने अधिकांश युवा म्यादी प्रहरी हुन यतै रोकिएका छन् ।

प्रकाशित : कार्तिक ९, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?