मेयरका कारण नगरपरिषद् हुन नसकेपछि विकास डामाडोल

विद्या राई

भोजपुर — षडानन्द नगरपालिका – १ नेपालेडाँडाकी ४८ बर्षिय तिलकुमारी गौतमलाई पहिलो चौमासिकमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझै हात लागेको छैन । एकल महिला भएकाले मासिक एक हजारका दरले पाउनुपर्ने उक्त भत्ता उनले दशै अगाडि नै पाउनुपर्ने थियो

मेयरका कारण नगरपरिषद् हुन नसकेपछि विकास डामाडोल

। चाडवाड मनाउनलाई पनि सहज हुनेथियो । तर चौमासिक सकिन लाग्दा समेत नपाएको गुनासो पोखिन् । ‘पोहोर परार दशैतिहारअघि नै दिन्थे, यो पाला दशैतिहार मनाइ सकियो अझै दिएका छैनन्, गावैमा सिंहदरबार भन्थे, खोई त ?’ उनले भनिन् । 

षडानन्द नगरपालिकामा १४ वडा छन् । १ र २ नं. बाहेकका सबै वडामा विधुतसेवा पुगेको छ । यी दुईवडामा केन्द्रिय प्रसारण लाइन जोड्ने लक्ष्यका साथ भनेर पोल गाडेको ५ बर्ष बितेको छ । स्थानीय तह निर्वाचनबाट आएका जनप्रतिनिधिले बाल्लान् भन्ने आशा अझै अधुरै छ । सदरमुकामसँग जोडिने भोजपुर – दिंला खण्डको सडक बर्षातले बगाएपछि अझै मर्मत हुन सकेको छैन । सवारीका साधन चल्न नसक्दा उत्तरी क्षेत्रका स्थानीयले ३ दिनको पैदल हिडेर सदरमुकाम आउनुपर्ने पुरानै बाध्यता छ । छिमेकी जिल्ला संखुवासभासंगको सिमाना सतिघाटदेखि दिंलासम्मको मुख्य सडकको हालत पनि उहि छ । स्थानीय तहबाट जनप्रतिनिधि आएपनि बिकासको गति भने स्थानीय निकाय भन्दा पनि शुन्य रहेको नगरबासीको गुनासो छ । ‘जनप्रतिनिधि आए, के के न होला भन्ने आशा राखियो, तीन महिनामा बितिसक्यो, बिकासका नाउँमा सिन्को भाँचेका होइनन्, बरु स्थानीय निकाय हुदै बिकास त भा’को थ्यो,’ दिंलाबजारका स्थानीय तोयानाथ गौतमले बताए, ‘जनप्रतिनिधिको चाला देखेर नगरपालिका नै डामाडोल बनाए ।’ अमुल्य भोट दिएर जिताएका जनप्रतिनिधिलाई विकास निर्माणमा ध्यान नदिएको भन्दै नगरबासी आक्रोसित बनेका छन् । केहिले जनप्रतिनिधिसंग गुनासो पनि राखेका छन् । तर मेयर नै महिनौ देखि देखा नपरेकाले सुनुवाइ नभएको बताए ।

विकास निर्माणको सुरुवात नहुनुदेखि सामाजिक सुरक्षा भत्ता समेत वितरण नहुनुका पछाडि नगर परिषद् बाधक बनेको वडाध्यक्ष तथा कर्मचारीहरुको भनाई छ । सबै वडाको वडापरिषद् सकेर असोज ६ मा नगरपरिषद् सक्ने निर्णय भएको भएपनि मेयर बीरबल राई नगरपालिका बाहिरै रहेकाले सम्पुर्ण काममा परिषद् बाधक बनेको वडाध्यक्ष किशोर किरातले बताए । ‘परिषद् गराउन मेयर नै चाहिने, मेयर साब दशैअघिदेखि मेयर काठमाडौ नै बस्नुभएको छ, कार्यकारी छोडेर जानु न त भन्दा छोड्न मान्दैनन्,’ उनले भने , ‘बजेट जति परिषद्ले पास नगरी खर्च गर्न नपाइने प्रावधान छ, अहिले सबै काम समस्यामा छन् ।’ चालु आर्थिक बर्षका लागि यस नगरपालिकाको बजेट कुल ३८ करोड ९६ लाख ८३ हजार  छ । पहिलो चौमासिकको साउन देखि कात्तिकसम्मको बजेट १२ करोड ८९ लाख ९४ हजार छ । अन्य तहकोसँगै एकैचोटी भदौमा निकासा भएको थियो । नगरपरिषद् रोकिएकै कारण पहिलो चौमासिक सकिन लाग्दासम्म बिकास बजेटको एक रुपैया खर्च नभएको उनले बताए । 

सामाजिक सुरक्षा भत्ताका सन्दर्भमा कुकरतिहारका दिन मात्रै निकासा भएको र कर्मचारीहरु चाड मनाउन घर गएका कारण समयमा वितरण गर्न नसकेको वडाअध्यक्ष रामेश्वर भण्डारीले बताए । साउन २२ मा वडा परिषद् सकेर गाउँ छोडेका वडा सचिव रामु शर्मा हालसम्म कार्यथलो नफर्कदा वितरणमा समस्या भएको उनले बताए । 

मेयरसँग नगरपरिषद् र नगरबिकास बारेमा चासो राख्दा कार्यकारी अधिकृतको सरुवा र  दशैतिहार लागेका अन्य कर्मचारी व्यस्त रहेका कारण ढिला भएको बताउँछन् । स्रोतका अनुसार मेयरले नगरको बिकासभन्दा पनि राजनीतिक काम लिएर राजधानी बस्ने र बेखबर बन्ने गरेपछि जनप्रतिनिधिहरु तथा कर्मचारीले खबरदारी गरेका थिए । दशै अगावैदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने कुराले कांग्रेसका नेतालाई टिकट मिलाउन भनि राजधानीतिरै बसेका थिए । उनैका कारण नगरका काम ठप्पजसो भएको जनगुनासोको पेलन कार्यरत कार्यकारी अधिकृत जयनारायण खनालमाथि आउन थालेपछि मेयरसँग कामप्रति तदरुक्ता देखाउन पर्ने सुझाएका थिए । मेयरले नगरको काममा ध्यान नदिएको कुरा ‘बाहिर आउने र अप्ठेरो पर्ने’ भन्दै राजधानीमा नेतालाई ढुकेर खनालको अन्यत्रै सरुवा गराएका छन् । उनको असोज १९ मा सरुवा भएको थियो । ‘कार्यकारी काम जसरी भए नि गर्नैपर्छ भन्ने खालको थ्यो, मेयरलाई त्यति भनिसकेपछि कार्यकारीले पेल्यो भनेर जसरी भएपनि टुगों लाउने भन्ने उसको मेनसाय, काठमाडौ गएर कार्यकारी सरुवा गराएको हो, अर्को ल्याउन सकेको छैन, ऊ आफै नि आएको छैन,’ स्रोतले खुलायो । खनालको सरुवा सफल पारेपछि मेयरले निर्माणबहादुर कार्कीलाई ल्याउन पहलकदमी चालेका थिए । कार्की नआउने भएपछि अरु ल्याउन सकेका छैनन् । 

काठमाडौबाट फर्किसकेका भएपनि उनी संखुवासभाको तुम्लिङटारतिरै रहेका उनले फोनसम्पर्कमा बताए । चाडै नगरपालिका आउने, कार्यकारी पदपुर्ति गर्ने र महिनादिन भित्रमा नगरपरिषद् सक्ने दाबी गरेका छन् । ‘मेयरकै कारण कामकाज ठप्प भयो, बिकासका गति शुन्य भए भनेर जनप्रतिनिधि, कर्मचारी र नगरबासीबाट गुनासो आएको छ नि !’ भन्दा उनी भन्छन्, ‘सबैको इच्छाचाहानालाई एकैचोटी समबोधन गर्न कहाँ सकिन्छ र ? गुनासो आइहाल्छन् नि ! पटक पटक सम्बोधन गर्दै जाने पो हो त, आत्तिनुपर्ने कुरा के छ र ?’

प्रकाशित : कार्तिक १५, २०७४ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?