कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रेल मार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरामा

लालप्रसाद शर्मा

पोखरा — नेपालमा रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिकसहितको टोली बुधबार पोखरा आएर अध्ययन गरेको छ ।

रेल मार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरामा



चिनियाँ राष्ट्रिय रेल्वे प्रशासनका उपप्रमुख चेङ चियान नेतृत्वको २३ सदस्यीय टोलीले पोखराको बिरौटा, हेम्जा र विजयपुर क्षेत्रमा सम्भावित रेल्वे स्टेसनबारे अध्ययन गरेको हो । भौतिक निर्माण तथा यातायात मन्त्रालय रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले टोलीले सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरेको बताए । साथै काठमाडौंदेखि पोखरासम्म पहाडी क्षेत्र भएकाले भौगोलिक अवस्थाबारेसमेत जानकारी टोलीले लिएको छ । पुल, सुरुङलगायत पक्षमा पनि विज्ञ टोलीको अध्ययनभित्र परेको छ ।

‘काठमाडौं–पोखरा रेलमार्गको यसअघि नै अध्ययन भइसकेको छ,’ उनले भने, ‘टोलीले लागत र डिजाइनलगायत एउटा खाका तयार पार्नेछ र अन्तिम रूप दिनेछ ।’ धादिङको गल्छीसम्म पृथ्वी राजमार्गसँगै समानान्तर त्यसपछि टोखासम्म अर्कै रुट भएर रेल लैजान सकिने यसअघिको अध्ययनमा छ । यसको लम्बाइ १ सय ८७ किलोमिटर छ ।

यो प्रतिघण्टा दुई सय किलोमिटर दौडने द्रुतगतिको रेलको डिजाइन गरिएको छ । ‘यो प्रारम्भिक अध्ययन मात्रै हो,’ उपाध्यायले भने, ‘चीनले लगानी गर्ने/नगर्ने यकिन भएको छैन । तर, चिनियाँ सरकारी अधिकारीसहितको यो विज्ञ टोली सकारात्मक भएको पाएको छु । आशा गर्ने ठाउँ प्रशस्त छ ।’

पोखरा–लुम्बिनी भने अध्ययन भएको छैन । भूगोल र लागतका कारण पोखरा हुँदै भन्दा पनि मुग्लिङबाट लुम्बिनी लैजाने सोचसमेत चिनियाँको छ । टोली बुधबारै काठमाडौं फर्किएर बिहीबार लुम्बिनी जाने योजना छ । टोली मंगलबार रसुवाको स्याफ्रुबेंसी पुगेर फर्किएको थियो ।

प्रकाशित : कार्तिक २३, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?