उम्मेदवार भोट माग्दै, किसान सिँचाइ

चाकरचौडा (कपिलवस्तु) — जिल्लाका किसान धान भित्र्याएर गहुँ छर्ने तयारीमा छन् । केहीको धान काट्नै बाँकी छ । अधिकांश स्थानीय बासिन्दा खेतमा व्यस्त भेटिन्छन् । यसैबेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनले पनि तताउन थालेको छ ।



यहाँका मतदाताहरू उम्मेदवार व्यक्तिको ‘छवि’ केलाइरहेका छन् । स्थानीय जियाउर रहमानले भने, ‘यहाँका समस्या सरकारलाई सुनाउन सक्नेलाई भोट दिने हो ।’ कपिलवस्तु क्षेत्र नम्बर १ अन्तर्गत रहेको प्रदेशसभा (ख) मात्रै ४८ हजार ४ सय ६ मतदाता रहेका छन् । हुलाकीअन्तर्गत रहेको यो बस्ती मुस्लिम बहुल हो ।

चुनाव मिति नजिकिन थालेपछि यहाँ माहोल तात्न थालेको छ । उम्मेदवारको ओहोरदोहोर र मतदाताका जमघट देखिन थालेको छ । ‘सबैभन्दा ठूलो समस्या सिँचाइको छ,’ मायादेवी गाउँपालिकाका कपिलदेव चमारले भने, ‘वर्षौंदेखि आकासे–पानीको भरमा खेती गर्दै आएका छौं ।’ यहाँ बस्ती नजिकै सिसई नदी रहेको छ । उक्त नदीको पानीले सिँचाइ गर्न कुलो छैन । सिमानामा भारतले बाँध निर्माण गरेको छ । उक्त सिसई बाँधले गर्दा यहाँको सयौं बिघा खेत डुबानमा पर्छ । सिसई नजिकै भारतमा अर्को मर्थी (मझौली) बाँध रहेको छ । दुई बाँधका कारण बर्सेनि यहाँका घर र खेत डुब्ने गरेका छन् । ‘डुबेकाले धान काटन पाइएन,’ चमारले भने, ‘गहुँ छर्न नपाइने भयो ।’ यसअघि जिताएका नेताले सबै समस्या हल गर्छु भने पनि कसैले वाचा पूरा नगरेको उनको गुनासो छ ।

‘हालसम्म भोट हालेर पाएको विकास यही हो,’ मायादेवीकै अब्बु हरेराले भने । यसपालि सीमावर्ती बासिन्दाले डुबानका कारण कसैले पनि धान स्याहार्न नपाएको बताए । ‘यहाँबाट ठूला ठूला नेता भए,’ उनले भने, ‘दक्षिणका बासिन्दालाई कसैले हेरेनन् ।’ यहाँ हाल रासायनिक मल अभाव छ । मुलुकभित्र उपलब्ध नहुँदा भारतबाट तस्करी हुने गरेको छ । गहुँ छर्ने बेला बीउ छैन । उपलब्ध बीउ पनि महँगो छ । यहाँका बासिन्दा बीउका लागि पनि भारतमा निर्भर छन् ।

‘समस्या हल गर्छौं’
यसपालि विभिन्न दलका उम्मेदवारले स्थानीयका समस्यासित परिचित रहेकाले आफूले जितेमा हल गर्ने बताएका छन् । स्थानीयले यहाँ विकास ल्याउने प्रतिनिधिभन्दा प्रदेशसभाका उम्मेदवार जिम्मेवार बन्नुपर्ने बताए । निवार्चन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (ख) का कांग्रेस उम्मेदवार राजेश आचार्यले यस क्षेत्रका शत प्रतिशत बासिन्दा कृषिमा आधारित रहेको जनाए । ‘सिँचाइ मूल समस्या हो,’ उनले भने, ‘आसपास खोलामा साना बाँध बनाएर पानी ल्याउन सकिन्छ ।’

वाम गठबन्धनबाट यहाँका उम्मेदवार फजलर्र रहमानले बच्चैदेखि यहाँका समस्यासित परिचित भएकाले विकास योजना ल्याउन पहल गर्ने बताए । ‘पैसाको लोभी छैन,’ उनले भने, ‘जितेमा यहाँका शिक्षा, स्वास्थ्य र सिँचाइका समस्या हल गर्नेछु ।’ यहाँका स्वतन्त्र उम्मेदवार अससारुद्धिन मुसलमानले १० वर्ष राजनीतिक गर्ने क्रममा घरघरका समस्या बुझेको दाबी गरे । ‘यहाँ अशिक्षा उच्च छ,’ उनले भने, ‘युवा बेरोजगार छन् ।’

यहाँका बासिन्दाको मन जित्न प्रतिनिधिसभाका उम्मेदवार पनि दौडधुपमा छन् । ‘यतिबेला किसानलाई मलको समस्या छ,’ जनमुक्ति पार्टीबाट प्रदेशसभाका उम्मेदवार दिनेशमणि त्रिपाठीले भने, ‘सिँचाइ, बीउ केही छैन ।’

प्रकाशित : कार्तिक २३, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?