कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘पार्टी होइन, व्यक्ति हेरिन्छ’

उम्मेदवारलाई सुनाउन समस्याको चाङ
विमल खतिवडा

लोथर (चितवन) — विकट गाउँमा भोट माग्न अझै उम्मेदवार पुग्न सकेका छैनन् । उम्मेदवार आउलान् अनि समस्याको पोको खोलेर मन हलुंगो बनाउँला भन्दै बसेकाहरू निराश छन् । बर्सेनि अनिकालको सामना गर्दै आएका गाउँलेहरू हचुवाका भरमा नगरपालिका घोषणा गरिएको भन्दै आक्रोशित छन् । राप्ती नगरपालिका १३, श्यामराङका बासिन्दाले बिनातयारी गरिएको नगरपालिका घोषणाले निराश छन् ।

‘पार्टी होइन, व्यक्ति हेरिन्छ’

यहाँका बासिन्दा समस्यै समस्याले जेलिएका छन् । बिरामी हुँदा उपचार पाउँदैनन् । अकालमा ज्यान गुमाउनुको विकल्प छैन । अहिले खानेपानीको हाहाकार छ । पानी लिन घण्टौं लाइनमा बस्नुपर्छ । तार टाँगे पनि विद्युत् विस्तार भएको छैन । मावि पढ्न ४ घण्टा बढी पैदल हिँड्नुपर्छ । भूकम्पले भत्किएका घर अझै ठडिएका छैनन् । छाप्राको बास छ । कोही बाख्राको खोरमा त कोही गाईगोठमा रात काट्न बाध्य छन् । ‘गाउँमा समस्यै–समस्या छ,’ स्थानीय रेशम चेपाङले भने, ‘पार्टीलाई भोट दिँदादिँदा वाक्क भइयो, अब जुन पार्टीको उम्मेदवारले हाम्रो समस्या बुझेर समाधान गर्छ, त्यसैलाई भोट दिइन्छ ।’

उनले अहिलेको २१ औं शताब्दीमा पनि ढुंगेयुगजस्तो जीवनयापन गर्नुपर्ने बाध्यता रहेको सुनाए । यो समस्या उनको मात्र होइन । नगरपालिकाभित्र पर्ने विकट गाउँका बासिन्दाको अवस्था यही हो । पाखोबारीमा फलेको मकै/कोदोले ६ महिनाभन्दा बढी खान पुग्दैन । अनिकालले गर्दा एक छाक खाएर सास धान्नुपर्ने बाध्यता छ । अहिले चिसो सुरु भएकाले शरीर ढाक्ने न्यानो कपडा छैन । आम्दानीको स्रोत नहुँदा अधिकांश चेपाङ परिवारको दैनिकी जाडोमा भोको पेट काँप्दैमा बित्छ ।

न्यानो लुगा नहुँदा बालबालिकामा निमोनियाँको समस्या देखापर्ने गरेको छ । ‘समस्याको चाङ फुकाइ नसक्नु छ,’ स्थानीय उदय चेपाङले भने, ‘उम्मेदवार बनेका नेता गाउँ उक्लँदैनन्, समस्या कसलाई पोख्नु ?’ उनले पनि हाम्रोभन्दा राम्रो उम्मेदवारलाई भोट दिने सोच बनाएका छन् । यो गाउँ पुग्न भण्डारा–मलेखु चेपाङ मार्गबाट झरेर करिब ३ घण्टा पैदल हिँड्नुपर्छ । ‘समस्या बुझ्ने नेतालाई भोट दिनुपर्छ,’ मैया चेपाङले भनिन्, ‘जितेर गएपछि हामीलाई वास्ता गर्दैनन् ।’

उनले समस्या समाधान गर्न प्रतिबद्धता नगरेसम्म भोटै नदिने बताइन् ।

गाउँमा आधारभूत विद्यालय भए पनि राम्रो पढाइ हँुदैन । ५ कक्षा पढ्नेलाई नाम लेख्न आउँदैन । केहीले सदरमुकाममा खुलेका छात्रावासहरूमा हारगुहार गरी छोराछोरी पढाएका छन् । अधिकांश बालबालिका गाउँकै विद्यालयमा पढ्ने गरेका छन् । शिक्षकले पालो लगाएर पढाउने गर्दा यहाँका बालबालिका किताबी ज्ञान पाउनबाट वञ्चित छन् ।

इच्छाकामना गाउँपालिका ३, तोलाङका बासिन्दा पनि हाम्रालाई भन्दा राम्रालाई भोट दिने तयारी गरेका छन् । ‘पार्टी हेरेर मात्र गाउँको विकास नहुने रहेछ,’ स्थानीय विकास गुरुङले भने, ‘भोट माग्ने बेला झुटा विकासे नारा बाँड्नेको ओइरो लाग्छ, जितेर गएपछि वाचा पूरा गर्ने त बेग्लै, फर्किएरसमेत आउँदैनन् ।’ गाउँमा खानेपानी समस्या छ । त्यस्तै बालबालिका पढ्ने नजिकै विद्यालय छैन । स्थानीय बासिन्दा समस्याले गाँजिएका छन् । ‘जसले हाम्रो समस्या बुझ्छ उसैलाई भोट दिइन्छ,’ उनले भने । जिल्लामा ३ निर्वाचन क्षेत्र छन् । उम्मेदवारहरू सहर बजारमै भोट माग्न सीमित छन् । सहरी क्षेत्रमा भने उम्मेदवारहरूबीच भोट माग्न प्रतिस्पर्धा चलेको छ ।

मामा–भान्जा प्रतिस्पर्धा

अहिले जताततै चुनावकै चर्चा छ । उम्मेदवार भोट माग्न व्यस्त छन् । दलहरूबीच आआफ्नो पक्षमा मत बढाउने होडबाजी चलेको छ । क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका विक्रम पाण्डेमध्ये कसले चुनाव जित्ला भन्दै बजार, चौतारो र चिया पसलमा दैनिक टिप्पणी सुनिन्छ । तर, दाहाल र पाण्डेबीच हुन लागेको चुनावी प्रतिस्पर्धाले मात्र चर्चा पाएको छैन ।

यही क्षेत्रको प्रदेशसभा सदस्यमा मामा–भान्जा उम्मेदवार बनेपछि थप चर्चा चुलिएको छ । क्षेत्र ३ को (ख) मा कांग्रेसबाट साजनकुमार महतो र माओवादीबाट रामलाल महतो मैदानमा छन् । रामलाल साजनका जेठा मामा हुन् । दुवैले पार्टीबाट उम्मेदवारका रूपमा एकै दिन टिकट पाए । गत कात्तिक १६ गते मनोनयन दर्ताको दिन बिहान साजनले टिकट पाए भने रामलालले अलि ढिलो टिकट पाए । भान्जाले टिकट पाएको थाहा पाउनसाथ उनले फोन गरी बधाई दिए ।

त्यसपछि मामा–भन्जाको भेट भएको छैन । दुवैको घर भरतपुर महानगरपालिका २२, पटिहानीमा पर्छ । मामा–भान्जाको घर एक किमि दूरीमा छ । ‘मामा–भान्जा प्रतिस्पर्धी भएर चुनावी मैदानमा उत्रिएका छौं,’ साजनले भने, ‘घरमा हुँदा मामा–भान्जा हो, अब राजनीतिक रूपमा हामी दुईको विचार फरक छ, चुनावमा दुवै प्रतिस्पर्धी हौं ।’ उनले चुनावले गर्दा दुवैजना एउटै क्षेत्रबाट प्रतिस्पर्धी बन्न पुगेको बताए । अहिले दुवै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

पार्टी महाधिवेशन प्रतिनिधि रहेका साजन पार्टीबाट अघि सारिएका नयाँ अनुहार हुन् । ‘माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो पक्षमा माहोल बनाउन मामालाई अन्तिम समयमा मैदानमा उतारे,’ साजनले भने, ‘त्यही भएर मामा–भान्जा फरकफरक पार्टीबाट चुनावी मैदानमा छौं ।’ उता रामलाल भने संयोगले यस्तो भएको बताउँछन् । ‘चुनाव हारे पनि मामा–भान्जा, जिते पनि मामा–भान्जा नै हो,’ उनले भने, ‘चुनावकै कारण सम्बन्ध टुटाउने कुरा भने हुँदैन ।’

अहिले दुवै फरकफरक ठाउँमा भोट माग्न व्यस्त छन् । दुवैलाई बधाई आउने क्रम पनि जारी छ । मामाले जित्लान् कि भान्जाले ? भन्दै प्रश्न गर्नेको जमात पनि बाक्लो छ । यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १३, १४, २१, २२, २३, २४, २५ र माडी नगरपालिका पर्छ ।

यो क्षेत्रमा थारू समुदायको बाहुल्य बलियो रहेकाले दुवैबीच कडा प्रतिस्पर्धा हुने जानकारहरू बताउँछन् । मामा–भान्जा मात्र होइन जिल्लाका तीनै क्षेत्रबाट प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार बनेकाहरू आ–आफ्नो क्षेत्रमा आयोजना गरिएका चुनावी सभा तथा घरदैलोमार्फत भोट माग्न व्यस्त छन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?