मुसहर बस्तीमा कोही पुगेन

कान्तिपुर संवाददाता

नवलपरासी — साउनमा आएको बाढीले घर बगायो । बस्ती डुबानमा परेपछि नजिकैको विद्यालयमा गएर आश्रय लिनुपर्‍यो । स्थानीय तह चुनावमा जनता आवास कार्यक्रममार्फत विपन्न परिवारलाई घर बनाइदिने आश्वासन पाएका प्रदेश ५ अन्तर्गत नवलपरासी पश्चिम प्रतापपुर ६, कठहवाका मुसहर समुदायको दु:ख भने अझै उस्तै छ ।

दैनिक गुजारा चलाउनमै व्यस्त हुने यहांका बासिन्दालाई चुनावबारे खासै चासो नभए पनि नेताको आश्वासनले सधैं झिनो आशा जगाउने गरेको छ । स्थानीय चुनावमा उम्मेदवारले आश्वासन बाँडेर गएपछि बस्तीमा फर्किएका छैनन् । 

स्थानीय मिजर मुसहरलाई पनि चुनावले खासै छोएको छैन । बिरामी भएकाले मजदुरी गर्न नसकेको एक साता हुन लाग्यो । दैनिक ज्यालादारीबाट गुजारा चलाउदै आएका उनलाई सिमापारी भारतीय जमिनदारको खेतमा धान थन्काउने काम थियो । काममा नजाँदा जीविका चल्दैन । ‘अहिलेसम्म भोट माग्न आएका छैनन्, ‘हामी गरिबकोमा को आउनु,’ उनले भने, ‘पहिले भोट हाल्ने अघिल्लो दिन दुई/चार हजार रुपैयाँ लिएर आउथे ।’ अरु बेला कोही फर्कीएर आउदैनन् । धेरै चुनावमा भोट हालियो तर यो समुदायको जिवनस्तर कहिल्यै फेरीएन । अहिलेका उम्मेदवारहरूले पनि पहिलेकाले झै आश्वासन मात्रै देलान् भन्ने स्थानीयलाई पिरलो छ । 

साँघुरो स्थानमा खरको स–साना झुप्रो ४५ घर रहेको बस्ती हुँदै विजुलीको पोल गाडीएका छन् । तर कसैका घरमा उज्यालो छैन । बस्तीको बाटो बर्खामा पुरै डुबानमा पर्छ । ‘जग्गाको लालपुर्जा छैन्, मिटरबक्स र धरौटी राख्नुपर्ने रकम कहांबाट ल्याउनु,’ स्थानीय फौजदार मुसहरले भने । अभाबै अभावमा आफ्नो जिन्दगी बित्न लाएपनि छोराछोरीको भविष्य बनाउने नेताको खाँचो रहेको उनी बताउँछन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?