१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्थानीय निर्वाचनमा मतदाता शिक्षा कमजोर : पर्यवेक्षण प्रतिवेदन

कान्तिपुर संवाददाता

काठमाडौं — स्थानीय तहको निर्वाचन पर्यवेक्षण गरेको डेमोक्रेसी रिसोर्स सेन्टरले स्वयंसेवक बढाएर मतदाता शिक्षालाई प्रभावकारी बनाउने पर्ने जनाएको छ । सेन्टरले स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा प्रयाप्त र प्रभावकारी नभएको उल्लेख गरेको छ ।

स्थानीय निर्वाचनमा मतदाता शिक्षा कमजोर : पर्यवेक्षण प्रतिवेदन

तीनै तहको निर्वाचन पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै उक्त संस्थाका निर्देशक सुदीप पोखरेलले अनुगमन गरिएका हरेक जिल्लामा मतदाता शिक्षालाई लिएर गुनासो भेटिएको बताए । ‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा अत्यन्तै कमजोर देखियो, त्यसले निरक्षर मतदातालाई मतदान गर्न अप्ठ्यारो बनाएको देखियो,’उनले भने ‘आयोगले पद अनुसारको बदर मत प्रतिशत सार्वजनिक त गरेको छैन । तर, बदर मत प्रतिशत धेरै रहेको हाम्रो बुझाई छ ।’ उनले बदर मत सार्वजनिक गर्न समेत आयोगलाई आग्रह गरे । 

उनले विभिन्न भाषामा मतदाता शिक्षा समाग्री आयोगले तयार गरेको भनेपनि त्यस अनुसारका सामग्री मतदाता समक्ष नपुगेको, स्वयंसेवकले मतदाताको हस्ताक्षर लिएको तर मतदानको तरीका नसिकाएको, घरदैलोमा स्वयंसेवक नपुगको जस्ता गुनासाहरु प्रशस्तै आएको बताए । ‘निर्वाचन प्रक्रिया हतारमा र छिटो भइरहेका छन्, सथानीय तहको त्यस्तै भएको थियो,’उनले भने ‘यसपटक पनि समयको चाप रहेको देखिन्छ । फेरि पनि मतदाता शिक्षा प्रभावकारी होला जस्तो देखिँदैन ।’ 

सेन्टरले तीनवटै चरणमा गरी ५३ जिल्लामा निर्वाचन पर्यवेक्षण गरेको थियो । पोखरेलका अनुसार चुनावी प्रक्रियामा देखा परेका महत्वपूर्ण विषयवस्तुलाई प्रतिवेदनमा समेटिएको छ । 

मतादाता नामावली धेरै त्रुटिपूर्ण रहेको, उम्मेदवारी मनोनयन प्रक्रिया अव्यवस्थित रहेको, मतदानका दिन मतदान केन्द्रमा प्रक्रियागत धेरै त्रुटीहरु देखिएको जस्ता विषय प्रतिवेदनमा उजागर गरिएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीहरु समेत मतदानको प्रक्रियाबारे अनभिज्ञ देखिँदा कतिपय जटिलताहरु देखिएको पोखरेलले बताए । ‘अशक्त मतदाताका लागि सहयोगीको व्यवस्थामा पनि कानून मिचिएको प्रशस्तै उदाहरण देखियो,’उनले भने ‘एकैजना सुरक्षाकर्मीले समेत दर्जनौं मतदाताको मतदान गरेको समेत पाइएको थियो ।’उनले आगामी निर्वाचनमा आयोगले त्यस्ता धेरै त्रुटीपूर्ण पक्षहरुलाई सच्याउनुपर्ने सुझाव दिए ।  

प्रकाशित : कार्तिक २५, २०७४ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?