कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दाजुभाइकै प्रतिस्पर्धा

कान्तिपुर संवाददाता

राजविराज — सप्तरी क्षेत्र ३ मा वाम गठबन्धनबाट एमालेका ताराकान्त चौधरी र राजपाका चन्द्रकान्त चौधरी आमनेसामने भएका छन् । यी दुवैजना दाजुभाइ हुन् । एउटै क्षेत्रबाट प्रतिस्पर्धामा रहेका दाजुभाइमध्ये परिणाम कसका पक्षमा जाला ? मतदाता उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

यी दुवैजनालाई कांग्रेस उम्मेदवार दिनेशकुमार यादवले टक्कर दिनेछन् । संविधानसभा २ मा एमाले नेता ताराकान्त नै यादवका प्रतिस्पर्धी थिए । त्यतिबेला ताराकान्तले झिनो मत अन्तरले विजय हात पारेका थिए । पूर्व जिविस सभापतिसमेत रहेका कांग्रेस उम्मेदवार दिनेश दाजुभाइको टकरावका बीच आफ्नो जित निकाल्ने दाउमा छन् । ताराकान्तलाई संविधानसभा २ मा जितेको क्षेत्र सुरक्षित गर्ने चुनौती छ । आफ्नै भाइविरुद्ध प्रतिस्पर्धामा उत्रेका राजपाका चन्द्रकान्त माहोल आफ्ना पक्षमा पार्न प्रयासरत छन् । 

क्षेत्र ३ मा साबिक क्षेत्र नं ४ को बहुसंख्यक भाग समेटिएको छ । यसअघि चन्द्रकान्त साबिकको पातो गाविसका अध्यक्ष थिए । गत स्थानीय निर्वाचनमा डाकनेश्वरी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिए । कांग्रेसका जिल्ला सभापतिसमेत रहेका दिनेश तथा एउटै घरका दाजुभाइबीचको प्रतिस्पर्धाका कारण सप्तरी ३ को चुनावी माहोल तातेको छ । डाकनेश्वरी र शम्भुनाथ नगरपालिका तथा बेल्ही चपेना, विष्णुपुर र रुपनी गाउँपालिका मिलाएर यो क्षेत्र बनेको छ । यहाँ यादव, थारू, मण्डल, साह र मुस्लिम समुदायको अत्यधिक बसोबास छ । 

गत स्थानीय तहको निर्वाचनमा बेल्ही चपेना, इटहरी विष्णुपुर गाउँपालिका र शम्भुनाथ नगरपालिकामा कांग्रेसले जित निकालेको थियो । 

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?