नगर प्रमुखको घरजग्गा कब्जा

कान्तिपुर संवाददाता

खोटाङ — विप्लव माओवादीले हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईको घरजग्गा कब्जा गरेको छ । उक्त समूहले घरमा विज्ञप्ति टाँसेर हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारस्थित घरजग्गा नियन्त्रणमा लिएको जनाएको हो ।

सेक्रेटरीबाट हस्ताक्षरित विज्ञप्तिमा मेयर राईको स्वामित्वमा रहेको घर, जग्गा, सम्पत्ति कब्जा गरेर जनतालाई उपभोग गराउने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘खोटाङका जनतालाई गुण्डा र पैसाको बलमा चुनाव जितिसकेर देश लुट्न लागिपरेका राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको हुँदा निजको स्वामित्वका सम्पूर्ण सम्पत्ति हाम्रो पार्टीको नियन्त्रणबाट जनताले उपभोग गर्ने जानकारी गरिन्छ ।’

 

प्रकाशित : कार्तिक २८, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

उपचार गर्न नसकेपछि...

प्रताप विष्ट

हेटौंडा — कम्मरमा डोरी बाँधेर बिहान सवेरै उनलाई दिसापिसाब गर्न आमाले शौचालय लैजाने गरेकी छन् । भात खान पनि उनलाई बाँधेको ठाउँमा दिने गरेको छ । बेलुका सुत्ने बेलामा पनि उनको कम्मरबाट डोरी खोलिँदैन । कम्मर र खाँटको खुट्टामा डोरी बाँधेर भुइँको ओछयानमा सुताइन्छ ।

२ वर्षदेखि डोरीको बन्धनमा बाँधिदै आएकी मकवानपुरका थाहा नपा ७ देउखेलकी १५ वर्षीया वसन्ती खत्री हुन् । 

२५ महिनादेखि उनको कम्मरले डोरीबाट मुक्ति पाएको छैन । मानसिक सन्तुलन गुमाइएकी वसन्तीले ५ वर्षदेखि अरूभन्दा फरक व्यवहार देखाउँदै आएकी थिइन् । भूकम्प गएदेखि झन विक्षिप्त भइन्, स्थानीय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले भने, ‘दुई वर्षदेखि उनलाई २४ सै घण्टा डोरीले बाँधेर राख्ने गरिएको छ ।’ बाँधेर नराखेमा छिमेकीहरूलाई ढुंगाले हिर्काउने, आफू सरहकालाई कपाल भुत्ल्याउने र कराउँदै हिँड्ने गरेकाले वसन्तीलाई दिउँसो घरको दलानमा र राति कोठामा बाँधेर राख्ने गरेको छ । वसन्तीको कम्मरमा बाँधेको डोरी दलानमाथिको काठमा बाँधेर तल ल्याएर जाँतोमा गाँठो पार्ने गरिएको छ ।

 ‘काठमा बाँधेको डोरी फुत्काए पनि जाँतो बोकेर यताउति गर्न सक्दैन भनेर जाँतोमा डोरी गाँठो पारेर बाँध्ने गरेको’ बावु हस्तबहादुर खत्रीले भने, ‘यसरी बाँधेर नराखे छिमेकीहरूलाई ढुंगाले हिर्काउछे, बच्चाहरूलाई भुत्ल्याउने, हिर्काउने गर्छे ।’ घर छेउमा माध्यमिक विद्यालय भए पनि क,खसम्म नचिनेकी वसन्ती एक दिन पनि पढन स्कुल गइनन् । हिँड्न सक्ने भएपछि उनको मनस्थिति नै ठीक भएन ।

‘रोग निको पार्न सुरुसुरुमा गाउँका जान्ने झाँक्रीहरू लगाएर २/३ दिनसम्म ढ्याङग्रो ठोकेर कुखुराको भाले र बोका पनि पूजा गरियो निको भएन,’ हस्तबहादुरले दिक्क मानेर भने, ‘पालुङको अस्पतालसम्म लगेर औषधि उपचार गरियो निकै भएन, भूकम्पपछि झन रोगले च्याप्यो ।’ भूकम्पले हस्तबहादुरको घर पनि भत्केको थियो । वसन्ती जेठी छोरी हुन् । हस्तबहादुरका वसन्ती अनि तीन छोरी र एक छोरा छन् । बिहान बेलुका हातमुख जोर्न समस्या रहेको हस्तबहादुरलाई छोरीलाई मानसिक अस्पताल काठमाडांै लगेर उपचार गर्न आर्थिक कठिनाइ छ । ज्याला गरेर उनले ६ जनाका परिवारलाई पालेका छन् । छोरीलाई यसरी २४ सै घण्टा बाँधेर राख्नुपरेकोमा उनी अत्यन्त चिन्तित छन् । 

पालुङका चिकित्सकले मानसिक अस्पताल लगेर उपचार गर्न सल्लाह दिएका छन् । तर आर्थिक अभावले गर्दा उपचार गर्न सकेका छैनन्, प्रधानाध्यापक थापाले भने । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँमा पुग्न त्रिभुवन राजपथस्थित शिखरकोट बजारबाट १५ किमि दूरी पार गर्नुपर्छ । मानसिक सन्तुलन गुमाएकी जेठी छोरीको उपचार गर्न नसकेर यो खत्री दम्पती पीडामा छन् । गरिबीका कारणले माया र प्रेम दिएर राख्नुपर्ने छोरीलाई रातदिन डोरीले बाँधेर राख्नु परेकोमा खत्री दम्पती दु:खी छन् ।

प्रकाशित : कार्तिक २८, २०७४ ०९:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT