रोजगारीकै चिन्ता

कान्तिपुर संवाददाता

कञ्चनपुर — गाउँमा चुनावको चहलपहल निकै बढेको छ । राजनीतिक दलका नेता कार्यकर्ता मत माग्दै दिनहुँ सभासमारोह र घरदैलो गरिरहेका छन् । चुनाव नजिकिँदै गर्दा चहलपहल झनै बढेको छ । चुनावी रौनक बढे पनि मुगुको सोरु गाउँपालिका ११ धैनका रंग रोकायालाई यसले खासै छोएन ।

गाउँमा चुनावको चहलपहल निकै बढेको छ । राजनीतिक दलका नेता कार्यकर्ता मत माग्दै दिनहुँ सभासमारोह र घरदैलो गरिरहेका छन् ।

चुनाव नजिकिँदै गर्दा चहलपहल झनै बढेको छ । चुनावी रौनक बढे पनि मुगुको सोरु गाउँपालिका ११ धैनका रंग रोकायालाई यसले खासै छोएन । उनलाई मतदानभन्दा पनि जतिसक्दो चाँडो सिमला पुगेर काम पाउने हतारो छ ।

‘चुनाव हुँदासम्म यतै बसे त उता कामै नपाइने अवस्था आउँछ,’ मंगलबार गड्डाचौकी नाका हुँदै भारतको सिमला हिँडेका रंगले भने, ‘गाउँमा खेतीपातीको काम सकियो, अब खाली बसेर परिवारको गुजारा कसरी चलाउने ?’ दसैंका लागि घर आएका उनी गहुँ छर्ने र खेतीपातीको काम सकेर रोजगारीका लागि हिँडेका हुन् ।

रंगसँगै ८ जनाको समूह सिमलातिर लागेको हो । उनीहरूमध्ये एक/दुई जनाबाहेक सबै १८/२० वर्षभन्दा पाका छन् । तर सबैको नाम मतदाता नामावलीमा समावेश छैन । मतदाता नामावली संकलनका बेला भातततिरै हुने भएका कारण पनि उनीहरू म्तदानबाट वञ्चित हुने गरेका हुन् । ‘हामीहरूमध्ये ५ जनाको मात्रै मतदाता परिचयपत्र बनेको छ,’ धैनकै श्रीचन्द्र रोकायाले भने ।

घरबाट भारतका लागि हिँडदा उनीहरूलाई स्थानीय नेता कार्यकर्ताले मतदान गरेर जान आग्रह गरेका थिए । तर उनीहरूले ढिला गएपछि मजदुरीको काम पनि नपाइने हो कि भन्ने डरले स्थानीय नेता कार्यकर्ताको आग्रह नसुनेका हुन् । ‘जति नेता फेरिए पनि हाम्रो अवस्था उस्तै हो,’ रंगले भने, ‘भोट माग्न अनेक आश्वासन दिन्छन्, जितेपछि देख्नै मुस्किल हुन्छ ।’
उनले गाउँमा विकास निर्माणका काम मात्रै सुरु भए पनि रोजगारी खोज्दै भारततिर भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने बताए । गाउमै मजदुरी पाइए भारत जानेको संख्या निकै घट्ने उनले बताए । भारतमा पनि हिमाचल र उत्तराखण्डका विभिन्न ठाउँमा नेपाली कामदारले सडक खन्ने, घर निर्माण तथा होटेल र पसलमा काम गर्दै आएका छन् । ‘हाम्रो पनि बिमा र लगत राख्ने व्यवस्था भइदिए निकै राम्रो हुन्थ्यो,’ काम खोज्दै भारत पस्ने अधिकांश नेपाली कामदार भन्छन्, ‘तर यस विषयमा कसैको चासो नै छैन ।’

जोखिमपूर्ण ठाउँमा सडक निर्माणको काममा नेपालीहरू नै बढी खटिने भएकाले बेला बेला पहिरो खसेर र चट्टान खसेर धेरैले ज्यान गुमाउनुपरेको छ । कामदारको बिमासमेत नगरेरै जोखिमपूर्ण काममा लगाइने गरेका कारण मृतकका आफन्तले कुनै पनि राहत तथा क्षतिपूर्ति समेत पाउँदैनन् । गत वर्ष कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ युवाको हिमाञ्चलमै सडक खन्ने क्रममा चट्टान खसेर मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्

यू–१९ एसिया कप पहिलोपल्ट सेमिफाइनलमा

सुबास हुमागाईं

क्वालालम्पुर (मलेसिया) — नेपाली क्रिकेट टोली पहिलोपल्ट एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई सजिलै ८ विकेटले पराजित गर्‍यो ।

मलेसियामा भइरहेको प्रतियोगितामा अन्तिम चरणका खेलमा आफूअनुकूल नतिजा आएपछि नेपाल उपविजेता बन्दै दोस्रो चरणमा पुगेको हो । समूहको अर्को खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपालको भाग्य खुलेको थियो । बंगलादेश सबै ३ खेल जितेर समूह विजेता बनी सेमिफाइनल पुग्यो । नेपालले २ जित र १ हारको नतिजा निकाल्यो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा यसअघिका तीनै प्रतियोगिता जितेको भारतले समूह ‘ए’ मा १ खेलमात्र जित्न सक्यो । मलेसियाले सबै खेल हारेको छ ।

प्रशिक्षक विनोद दासले माथिल्लो स्तरको प्रतियोगितामा लगातार राम्रो प्रदर्शनले उत्साहित बनाएको जनाए । ‘हामीले टेस्ट राष्ट्रहरूलाई टक्कर दिइरहेका छौं । मलेसियाविरुद्ध जसरी हावी भयौं, त्यसले टोली कत्तिको बलियो छ भन्ने देखाउँछ । बितेको एक वर्षमा यो टिमले गरेको मिहिनेत अहिले सार्थक भइरहेको छ,’ दासले भने । वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा टस जितेको नेपालले मलेसियालाई १५.३ ओभरमा ४५ रनमै अलआउट गर्‍यो । नेपालले ५.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । मंगलबार नै भएको अर्को खेलमा बंगलादेशले भारतलाई पराजित गरेको खण्डमा मात्र नेपाल सेमिफाइनलमा पुग्थ्यो । पहिला ब्याटिङ गरेको भारतले ३२ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाई १ सय ८७ रन बनायो । डकवर्थ लुइस पद्धतिमा १ सय ९० रनको लक्ष्य पाएको बंगलादेशले त्यसलाई २८ ओभरमा नै पूरा गर्‍यो ।

नेपाल यसअघिका तीनै संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । नेपालको छनोटसँगै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाट बाहिरिएको छ ।

नेपालले सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । समूह ‘बी’ को अन्तिम खेलमा यूएईलाई पराजित गरेको अफगानिस्तान समूह विजेताका रूपमा दोस्रो चरणमा प्रवेश गर्‍यो । उक्त समूहबाट पछिल्लो संस्करणको उपविजेता श्रीलंका समूह चरणबाटै बाहिरियो । सेमिफाइनलको यात्रा तय गर्न महत्त्वपूर्ण भूमिका खेलेका कप्तान दीपेन्द्रसिंह ऐरी प्रशिक्षण टोलीको विश्वास र खेलाडीको प्रदर्शनले टोली यहाँसम्म आइपुगेको बताउँछन् । ‘हाम्रो प्रशिक्षण टोलीले खेलाडीमा खुलेर खेल्ने साहस दिनुभएको छ । पहिलाको तुलनामा टोलीमा ठूलो परिवर्तन आएको महसुस भएको छ । बलिङ र फिल्डिङ मात्र हैन ब्याटिङमा पनि अहिले हामी आत्मविश्वासी भएका छौं,’ उनले भने । एसिया कपको सेमिफाइनलमा पुग्ने पहिलो कप्तान बन्नुको श्रेय उनले पूरै टोलीलाई दिए । ‘हाम्रो टोली एकीकृत भएर नै यो सफलता प्राप्त भएको हो । सबैले आफ्नो ठाउँबाट सक्दो मिहिनेत गरेका छौं । एकअर्कालाई भरोसा गरेर अगाडि बढदा टोलीले राम्रो नतिजा ल्याइरहेको छ । सेमिफाइनलमा पनि त्यसैलाई निरन्तरता दिने प्रयास गर्नेछौं,’ उनले थपे ।

‘अहिले टोलीले राम्रो क्रिकेट खेलिरहेको छ । प्रत्येक बलमा सबै खेलाडीले उत्तिकै मिहिनेत गरेका छन् । दिनप्रतिदिन प्रदर्शनमा निखार आएको छ । अफगानिस्तानसँग पछिल्ला प्रतियोगितामा प्रदर्शन नराम्रो भए पनि हामीले सधैं डटेर खेलेका छौं । उनीहरूलाई पनि थाहा छ, नेपालसँगको खेल सहज हुने छैन,’ दासले भने ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्