१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

साख जोगाउने र भत्काउने चुनौती

घनश्याम खड्का

म्याग्दी — प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट एमाले वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका खमबहादुर (खमवीर) गर्बुजा चुनावी प्रतिस्पर्धामा छन् ।

साख जोगाउने र भत्काउने चुनौती

२०७० मा एमालेका नवराज शर्मासँग पराजित पूर्वबेलायती लाहुरे गर्बुजा यसपटक एमालेको किल्ला भत्काउने सुरमा जुटेका छन् । ०४६ सालयता नाराणसिंह पुनले ०५६ सालमा कांग्रेसलाई विजय गराएबाहेक सबै निर्वाचनमा जित्दै आएको एमालेसहितको वाम गठबन्धनलाई आफ्नो साख जोगाउन चुनौती छ ।

‘कांग्रेसको संगठन र मेरो चुनावी अनुभव ०७० सालको अवस्थामा छैन । धेरै मजबुत संगठन र खारिएको अनुभव हामीसँग छ । त्यसैले यसपल्ट उल्ट्याउँछु,’ गर्बुजाले भने, ‘प्रचारशैलीमा परिवर्तन गरी चुनावी मैदानमा छु ।’

हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम अनुसार करिब ८ हजार मतले अगाडि रहेको वाम गठबन्धनका उम्मेदवार थापाका लागि कांग्रेस–राप्रपाको गठबन्धनले असहज बनाइदिएको हो । ‘राजनीतिक स्थिरताको नारासहित चुनामी मैदानमा छु,’ वाम गठबन्धनका उम्मेदवार थापाले भने, ‘यसअघिको वाम साखलाई कायम राख्नेमा ढुक्क छु ।’

उम्मेदवारहरूले चुनाव जितेमा मोटरबाटो, खानेपानी, सिँचाइ, जलविद्युत् र कृषिमा आधुनिकीकरण गर्ने, हरेकको हातमा मोबाइल र घरमा इन्टरनेट पुर्‍याउने तथा हरेक गाउँमा पर्यटकीय ठाउँ बनाइदिने आशा देखाएका छन् । गर्बुजाले जनताको सेवा गर्न बेलायती सेवासुविधा त्यागेर जिल्ला आएको दाबी गर्दै आफूले चुनाव जितेमा जिल्लाको सबै गाविसमा मोटरबाटो पुर्‍याइदिने, पर्यटन तथा ऊर्जामा लगानी वृद्धि गरी रोजगारी दिने, जिल्लाका सबै जग्गाजमिनको आधुनिक नापनक्सा बनाउने, रेमिटेन्सको रकमलाई पर्यटन, जलस्रोत र वनपैदावरको क्षेत्रमा लगानी गर्ने, बेनी–जोमसोम सकड कालोपत्रे गरिदिनेजस्ता आश्वासन बाँडेका छन् ।

थापाले पनि सबै वडा तथा बस्तीमा मोटरबाटो पुर्‍याउने, कृषिमा आधुनिकीकरण गर्ने, जिल्लामा उत्पादन हुने जलविद्युत्मा जिल्लावासीको लगानी सुनिश्चित, पर्यटन विकास, बेनी–जोमसोम, बेनी–दरबाङ, बागलुङ–बेनी कालोपत्रे गर्ने र जिल्लाका सबै स्थानीय सडकलाई कम्तीमा ग्राभेल तहमा स्तरोन्नति गर्नेजस्ता नारा अघि सारेका छन् । मतदाताको मन जित्न सबै दलका उम्मेदवारले ठाउँ र भेगअनुसार फरक–फरक विकासका नारालाई चुनावी एजेन्डा बनाउने गरेका छन् ।

जिल्लाको पश्चिम भेगका बस्तीमा पुग्दा उम्मेदवारहरूले धौलागिरि हिमाल, ढोरपाटन सिकार आरक्षमा पर्यटन विकास गर्ने, पश्चिम भेगका दुर्गम बस्तीमा बिजुली ल्याइदिने भन्दैआएका छन् । त्यसैगरी सबै उम्मेदवारले राहुघाट क्षेत्रमा पुग्दा टोडे, रिखार र धौलागिरि आइसफलमा पर्यटन विकास गर्ने, सबै गाउँमा बिजुली र मोटरबाटो ल्याउने, मध्यक्षेत्रमा पुलस्त्य, गलेश्वर क्षेत्रमा धार्मिक पर्यटन विकास गर्ने, मोटरबाटो स्तरोन्नत गर्ने आशा देखाउने साझा आश्वासन बाँडदै आएका छन् । त्यसैगरी उत्तरीभेगमा पुग्दा बेनी–जोमसोम सडक कालोपत्रे, कालीगण्डकी करिडोर जलविद्युत् आयोजनामा स्थानीयको लगानी सुनिश्चित, पर्यटन विकासजस्ता तत्कालीन र क्षेत्रीय आवश्यकतालाई ‘क्यास’ गर्ने गरेका छन् ।

उम्मेदवार देख्नै नपाई मत दिन्छन् गुर्जावासी
प्रदेश तथा संघको निर्वाचनका उम्मेदवारहरू मतदाताको घरदैलो र चुनावी सभामा व्यस्त छन् । मतदाताहरू धान, कोदोलगायतका खेतीबाली थन्क्याउने चटारोका बीच दलका कार्यक्रममा पुग्न भ्याइ–नभ्याइ छ तर गुर्जामा भने चुनावको कुनै चहलपहलै छैन ।

जिल्लाको सबैभन्दा दुर्गम र न्यून मतदाता भएको गुर्जामा स्थानीय तहको बाहेक प्राय: निर्वाचनमा उम्मेदवार पुग्दैनन् । गुर्जावासीले सधैं उम्मेदवार देख्नै नपाई मतदान गर्छन् । गाउँका समस्या राख्ने, उम्मेदवारका एजेन्डा र योजना सुन्न नपाउने भएपछि गुर्जावासी एफएम, रेडियो, टिभीका समाचार र गाउँका अगुवाले गर्ने निर्देशनका भरमा मतदान गर्न बाध्य हुन्छन् ।

धौलागिरि गाउँपालिका–१ को गुर्जामा जम्मा ७ सय ६२ मतदाता रहेकोमा गत स्थानीय तह निर्वाचनमा ४ सय ४६ मत खसेको थियो । ‘०७० सालमा माओवादीका लोकेन्द्र विष्टबाहेक गुर्जामा पञ्चायतकालदेखि नै उम्मेदवार आउने गरेका छैनन्’ वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘हामी गुर्जावासी राज्यको मूलधारबाट सधैंका उपेक्षित छौं ।’ विभिन्न पार्टीका प्रतिनिधिसभाका ५ जना उम्मेदवार मात्र होइन प्रदेशसभामा उम्मेदवारहरू पनि गुर्जा पुगेका छैनन् ।

‘पुग्न र फर्कन नै ४ दिन लाग्ने दुर्गम ठाउँ र न्यून मतदाता रहेकाले चुनावी जोडघटाउ गर्दा गुर्जा प्राथमिकतामा नपरेको हो’ लोकतान्त्रिक गठबन्धनका खमबहादुर (खमवीर) गर्बुजाले भने, ‘बेसीका घना बस्तीमा रहेका मतदाताको घरदैलोमा नै सबै पार्टीबीचको समय बित्छ । गुर्जामा प्रतिनिधिले नै प्रचारप्रसार गर्ने गरिएको छ ।’ बस्तीबाहेक नापनक्सा नभएको र जग्गाधनी पुर्जासमेत नभएकाले गुर्जावासीले कामकाजमा सजिलोका लागि गाउँमा वंश परम्परालाई प्राथमिकता दिएका छन् । सामाजिक जीवन सञ्चालन गर्न समुदायले वंश हस्तान्तरणको आधारमा वडा कायम रहने व्यवस्था मिलाएका हुन् ।

गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखीझ्याल पनि हो । समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाइमा गुजुमुच्च परेका परम्परागत शैलीका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालहरूको सबैभन्दा ठूलो बस्ती पनि हो ।

उम्मेदवारलाई लक्षित गरी विस्फोट
लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई लक्षित गरी मंगलबार दिउँसो बेनी नगरपालिका–१ अर्जमछेउ विस्फोट गराइएको छ । घटनामा कुनै मानवीय क्षति नपुगेको प्रहरीले जनाएको छ । प्रतिनिधिसभाका उम्मेदबार खमबहादुर (खमवीर) गर्बुजा, प्रदेश सभा ‘क’ का सदस्य उम्मेदवार राप्रपाका भीमप्रसाद गौचनसमेतको चुनाव प्रचार टोली मंगलबार बेनी नगरपालिका–१ रत्नेचौरमा चुनावी सभा गरी भकुन्डेतर्फ लाग्ने क्रममा दिउँसो विस्फोट गराइएको थियो । विस्फोटनको जिम्मेवारी कसैले लिएको छैन ।

‘हामी रत्नेचौरको कार्यक्रम सकेर गाडीमा भकुन्डेतर्फ जाँदै थियौं । म चढेको गाडी अघि थियो, उम्मेदवार पछिल्लो गाडीमा हुनुहुन्थ्यो, अर्जम नजिक बाँसघारी छेउमा पुग्दा विस्फोट भयो,’ प्रचार टोलीमा संलग्न निर्वतमान सांसद रेशमबहादुर बानियाँले भने, ‘विस्फोटपछि साना ढुंगा र माटोले गाडी छोपियो । १ मिटर पछि परेकाले मानवीय क्षतिबाट जोगियौं ।’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काका अनुसार प्रहरीले घटनास्थलमा साना जीआई पाइपका टुक्रा, केही तारका टुक्रा फेला परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?