कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मैदानमा मन्त्री र पूर्वसांसद

कान्तिपुर संवाददाता

डोटी — राष्ट्रिय राजनीतिमै चर्चा कमाएका दुई नेता मैदान उत्रिएपछि डोटीको चुनावी माहोल रोमाञ्चक बनेको छ । प्रतिनिधिसभाको एक मात्र सिटमा कांग्रेसबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायर र निवर्तमान सांसद प्रेमबहादुर आलेमगर आमनेसामने भएका छन् ।

दुवै नेताको चुनावी दौडधुप बढेको छ । उनीहरू कार्यकर्ताको खटनपटन, प्रचार सामग्री वितरण तथा व्यवस्थापन र मतदाता फकाउन खटिरहेछन् । ‘विगतको मेरो संघर्ष, इमानदारिता, काम गर्ने जाँगर र दीर्घकालीन योजनाबारे जनताले बुझ्नुभएकाले म जित्नेमा ढुक्क छ,’ बलायरले भने, ‘कार्यकर्तामा उत्साह थपिएको छ, पार्टीभित्रको असन्तुष्टि पनि मेटिएकाले सबै प्रचार प्रसारमा हिँडेका छन् ।’ आलेमगर आफू हार्छु भन्ने कल्पनासम्म नगरेको तर्क सुनाउँछन् । प्रतिद्वन्दी बलियो भए पनि वाम गठबन्धन, आफूले गरेको काम र जनतासँगको सम्बन्धले आफू विजयी हुने उनको दाबी छ ।

दुवै उम्मेदवार ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा हारेका हुन् । ०७० को दोस्रो संविधानसभामा भने दुवैले जिते । त्यति बेला बलायर साबिकको १ नम्बर र आलेमगर २ नम्बर क्षेत्रबाट विजयी भएका थिए ।

बलायर कांग्रेसका केन्द्रीय सदस्य हुन् भने आलेमगर एमाले वैकल्पिक केन्द्रीय सदस्य हुन् । ‘दुवै नेता जिल्लाको विकासका लागि आसलाग्दा छन्,’ डोटी बहुमुखी क्याम्पस प्रमुख कृष्ण कठायतले भने, ‘उमेर, काम गर्ने इच्छाशक्ति, प्रखर वक्ता, केन्द्रीय राजनीतिमा प्रभाव पार्ने पहुँच, स्थानीय मुद्दामा खेलेको भूमिका दुवैको बराबरी छ ।’ बलायरले महत्त्वपूर्ण मन्त्रालय सम्हालिरहेका छन् भने आलेमगरले पनि त्यो पद सम्हाल्ने हैसियत बनाइसकेकाले मतदाताले कसलाई चुन्छन् भन्ने ठोकुवा गर्न नसकिने उनले बताए ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?