कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नगरको चिन्ता फोहोर व्यवस्थापन

शिल्पा कर्ण

काठमाडौं — आफ्नो नगरमा उत्पादित फोहोरको व्यवस्थापन नगरपालिकाले गर्न नसक्दा नगरवासीहरू चिन्तित भएका छन् । नगरपालिकाहरूले भने ल्यान्डफिल्ड साइट बन्दलगायतले समस्या भएको जनाउँदै समाधानका लागि विकल्प खोजेको दाबी गरेका छन् ।


गोकर्णेश्वरवासीलाई फोहोर व्यवस्थापनमा समस्या हुने गरेको जनप्रतिनिधि बताउँछन् । मेयर सन्तोष चालिसेले दैनिक लगभग ७ ट्रक फोहोर उत्पादन हुने बताए । नपाका अनुसार ६ वटा ट्रकबाट ठेकेदारहरूले फोहोर उठाउँछन् । प्रतिघर मासिक २ सय ५० रुपैयाँ लिने गरेको छ । नगरसँग भएको एउटा ट्रकबाट पनि फोहोर उठाउने गरिन्छ ।

‘हामी ल्यान्डफिल साइट खोजिरहेका छौं तर भेटिएको छैन,’ मेयर चालिसेले भने, ‘पटक पटक सिसडोल बन्द हुँदा फोहोर उठेन भनेर फोन आउन थाल्छ ।’ बस्ती विकास भइरहेकाले उक्त क्षेत्रमा ल्यान्डफिल साइटका लागि स्थान हतपत नभेटिने र भेटिए नजिकका बस्तीकाले विरोध गर्ने गरेको उनको भनाइ छ । कागेश्वरी मनोहरा नगरपालिकाले भने बल्ल फोहोर व्यवस्थापनतर्फ ध्यान दिएको छ ।

‘डाँछी, मूलपानीलगायत दुई–चार ठाउँबाट मात्र फोहोर उठाइरहेका छौं,’ मेयर कृष्णहरि थापाले भने, ‘अब ठाउँठाउँमा डस्टबिन राख्ने र प्रतिपरिवार लगभग २ सय १९ रुपैयाँ उठाएर सरसफाइको जिम्मा नपाले लिने विषयमा छलफलको क्रममा छौं ।’
सन् २०१८ को अप्रिलदेखि बञ्चरेडाँडामा फोहोर फाल्ने सरकारको तयारी रहेकाले अहिले नै आफूहरूले हतार नगरेको उनले बताए । ओखरपौवाबाट झन्डै दुई किमि टाढा पर्ने बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको तयारी भइरहेको छ । पूर्वी क्षेत्रका तीनै नगरपालिका मिलेर फोहोरबाट आय हुने गरी कुनै ठोस योजना ल्याउन छलफल गरिरहेको उनले जानकारी दिए ।

बूढानीलकण्ठ पनि फोहोर उठाउने कामका लागि निजी संस्थामाथि नै निर्भर छ । सडक बढार्ने कुचिकार भए पनि फोहोर उठाउने र फाल्ने काम ८ वटा समूहले गरिरहेको नपाले जनाएको छ । नपासँग दैनिक कति फोहोर उठ्छ भन्ने तथ्यांक नरहे पनि १२ हजार घरधुरीबाट फोहोर संकलन हुने अनुमान छ । अढाईदेखि ३ सय मासिक उठाइने गरेको मेयर उद्धव खरेलले बताए । ‘अहिले सिसडोलमै फाल्ने गरेका छन् । फोहोर व्यवस्थापन गरी ऊर्जा उत्पादनका विषयमा वैकल्पिक ऊर्जासँग छलफल गर्दैछौं,’ खरेलले भने । टोखा नगरपालिकामा पनि महानगरसँगैको सहकार्यमा फोहोर फाल्ने गरेको कार्यकारी अधिकृत नवराज ढुंगानाले बताए । व्यापारिक केन्द्रदेखि जनसंख्याको चाप निकै कम भएको ग्रामीण क्षेत्रसमेत नपाभित्र पर्ने भएकाले नपाले अहिले खासै चासो दिएको छैन । ‘लगानी बोर्डकै भर परेका छौं,’ ढुंगानाले थपे, ‘निजी र गैसससँगको समन्वयमा अहिलेसम्म फोहोर व्यवस्थापन भइरहेको छ ।’

चन्द्रागिरि नगरपालिकाको कुनै सार्वजनिक स्थलमा फोहोर देखे उठाउन नपासँग एउटा गाडी छ । अन्य दैनिक उत्पादन हुने फोहोर व्यवस्थापनका लागि ६ संस्था कार्यरत रहे पनि उनीहरूको कार्य सन्तोषजनक नरहेको मेयर घनश्याम गिरीले बताए । ‘२/अढाई सय मासिक उठाएर फोहोर उठाउने गर्छन्,’ उनले भने, ‘तर सडकछेउ, सार्वजनिक स्थलमा फोहोर त्यत्तिकै हुन्छन् ।’ सवा लाखको हाराहारीमा जनसंख्या भएको चन्द्रागिरिमा अहिलेका संस्थासँगको सम्झौता टुटेपछि माघपछि अर्को संस्था खोजिने नपाले जनाएको छ । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले सबै वडामा गैससलाई फोहोर उठाउने जिम्मा दिएको बताए । वडा नं. ५ मा एक संस्थाले विदेशी परियोजनाअन्तर्गत फोहोरबाट अर्गानिक मल उत्पादन गरिरहेको भए पनि बाँकी रहेको फोहोर सिसडोलमै फालिने गरेको छ ।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘सिसडोलमा अब फोहोर फाल्ने स्थान नभएकाले बञ्चरेडाँडामा ल्यान्डफिल साइट नबनेसम्म फाल्ने कुनै उपाय छैन ।’ उनले साइट र त्यहाँसम्म पुग्ने सडक बनाउने जिम्मा नेपाल सरकारको भएकाले यथाशीघ्र निर्माण गर्नुपर्ने बताए । केही दिनअघि महानगरले फोहोर प्रभावित नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनबेंसी नगरपालिकालाई आर्थिक सहायता भन्दै १/१ करोड रुपैयाँ प्रदान गरेको थियो ।

प्रकाशित : मंसिर २, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?