पौष्टिक आहारको कमी : एक तिहाइ बालबालिका पुड्का

अतुल मिश्र

काठमाडौं — सन्तुलित खाना नपाउँदा ५ वर्षमुनिका एक तिहाइभन्दा बढी बालबालिका पुड्का हुने गरेका छन् । नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा आवश्यक पोषण नपाउँदा बालबालिकाको उचाइ उमेरअनुसारको हुने नगरेको औंल्याइएको छ ।

सर्वेक्षणका अनुसार एक सयमध्ये ३६ बालबालिकाको उचाइ उमेरअनुसारको छैन । सर्वेक्षणले सयमा १० बालबालिका ख्याउटे हुने गरेको र २७ जना कम तौलका हुने गरेको पनि देखाएको छ । एक सय जनामा सर्वेक्षण गर्दा आवश्यकभन्दा बढी तौल भएका एक बालबालिका पाइएको पनि सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनले कुपोषणले शारीरिक मात्र नभई मानसिक क्षमतामा समेत ह्रास ल्याउने उल्लेख गरेको छ । पाँच वर्षमुनिका २ हजार ४ सय ९१ बालबालिकाको उचाइ र तौलको विश्लेषण गरी यो नतिजा निकालिएको हो । सर्वेक्षणले प्रदेश ६ मा ५५ प्रतिशत बालबालिकाको उमेरअनुसार कम उचाइ भएको देखाएको छ । प्रदेश ५ मा ३९, प्रदेश २ मा ३७, प्रदेश ७ मा ३६, प्रदेश १ मा ३३ र प्रदेश ३ र ४ मा २९ प्रतिशत बालबालिकामा यो समस्या देखिएको छ । सर्वेक्षणले उच्च आय भएको वर्गमा १७ प्रतिशत तथा कम र निम्न आय भएको वर्गमा ४९ प्रतिशत बालबालिकामा उमेरअनुसार उचाइ नपुगेको देखाएको छ । विशेषज्ञका अनुसार शिशुको पहिलो एक हजार दिनमा अपर्याप्त पोषण र निरन्तर हुने रोग संक्रमणले गर्दा बालबालिकामा अपरिवर्तनीय पुड्कोपना (स्टन्टिङ) आउँछ । 

पुड्कोपना भएका बालबालिकामा पछि बढी तौल बढ्ने वा मोटो हुने जोखिमसमेत रहन्छ । 
कुपोषणले मानसिक विकासमा समेत असर पार्ने र मस्तिष्कको तीक्ष्णता प्रभावित हुने विज्ञ बताउँछन् । ‘मस्तिष्कको विकास मुख्य रूपमा पाँच वर्षको उमेरसम्म हुन्छ,’ स्नायु शल्य चिकित्सक डा. वसन्त पन्त भन्छन्, ‘पोषणको कमीले पुड्कोपना मात्र आउँदैन, यसले मानसिक क्षमतालाई समेत जीवनभर प्रभावित गर्छ ।’

मस्तिष्कको ८० प्रतिशत विकास २ वर्षको उमेरसम्म हुने भएकाले त्यो समयमा कुपोषण भएमा मस्तिष्कको विकासमा असर पर्ने र यो कमी जीवनभर पूरा हुन नसक्ने डा. पन्त बताउँछन् । नेपालीहरू वंशाणुगत रूपमा पुड्को नरहेको उल्लेख गर्दै डा. पन्त भन्छन्, ‘शारीरिक र मानसिक विकासका लागि बाल्यकालमा चाहिने उपयुक्त पोषण अभावले पुड्को र औसत मानसिक क्षमताका हुनेको संख्या ठूलो छ ।’ 

बाल स्वास्थ्य महाशाखाअन्र्तगत पोषण शाखाका प्रमुख रामकुमार पोखरेल पुड्का आमाबुबाका सन्तान पनि पुड्को हुन्छन् भन्ने मान्यता गलत भएको बताउँछन् । ‘५ वर्षसम्ममा उपयुक्त पोषण पाएमा पुड्का आमाबाबुका सन्तान पुड्का हुँदैनन् ।’ विशेषज्ञका अनुसार कुपोषणले पुड्का भएकाहरूमा मुटु रोग, मधुमेहजस्ता नसर्ने रोगको जोखिम समेत बढी हुन्छ ।

 

प्रकाशित : मंसिर ३, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?