१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘भोज र पैसाले चुनाव जितिन्न’

जितेन्द्र साह

विराटनगर — मोरङको ग्रामीण भेकका मतदाताले भोज, मदिरा र पैसा खुवाएर भोट बटुल्न खोज्नेलाई आसन्न चुनावमा पराजित गर्ने दृढता व्यक्त गरेका छन् । ‘भोजभतेर, तडकभडक गर्ने र पैसाको बलमा भोट किन्न खोज्नेलाई गाउँबाटै लखेट्छौं,’ ४० वर्षीया पार्वती सहनीले भनिन्, ‘छरछिमेकलाई समेत त्यस्ता नेता, उनीहरूका कार्यकर्ता र दलालबाट सतर्क रहन भनेका छौं ।’


मोरङको धनपालथान गाउँपालिका–६ धर्मटोलकी यी दलित महिलाले राजनीतिलाई व्यापार बनाइएकोमा आक्रोश व्यक्त गरिन् । दुई छोरीकी आमा सहनीले भनिन्, ‘अहिले जति खर्च गर्छन्, जितेर गएपछि जनताकै नाउँमा आएको रकममा भ्रष्टाचार गरेर चौब्बर असुल्छन् ।’
गरिबका छोराछोरी पढ्ने सरकारी विद्यालय, उपचार गराउन जाने सरकारी स्वास्थ्य केन्द्र र चढ्ने सार्वजनिक सवारीमा सुविधा थप्ने एवं गाउँमै रोजगारको बन्दोबस्त गर्न सक्ने क्षमता भएकालाई भोट दिने उनले बताइन् । उनले भनिन्, ‘धनले होइन, कामले मन जितुन्, भोट माग्नै पर्दैन ।’

गाउँमा वर्षभरि काम नपाइने हुनाले सहनी परिवार मजदुरी गर्नलाई वरिपरिको सहरबजार पुग्छन् । यो गाउँपालिका मोरङको निर्वाचन क्षेत्र नं ५ मा पर्छ । ८९ हजार २ सय ८७ मतदाता भएको उक्त निर्वाचन क्षेत्रमा धनपालथान एवं जहदा गाउँपालिकाका सबै वडा, रंगेली नगरपालिकाको वडा नं ४ देखि ७ एवं विराटनगर महानगरपालिकाका वडा न.ं१३ देखि १८ सम्म पर्छ । धनपालथान गाउँपालिकामा मात्रै २३ हजार २ सय ४१ मतदाता छन् । धनपालथान–७, कदमाहा टोलका १९ वर्षीय सुमन गिरीले भोट माग्न आउनेसँग विकासको लिखित प्रतिबद्धता गराउने बताए । ‘जितेर गएपछि काम नगर्ने जनप्रतिनिधिलाई भेटेकै थलोमा घेरा हालेर वाचाको स्मरण गराइरहन्छौं,’ उनले भने ।

गिरी परिवारका चार सदस्य गाउँघरमा सानोतीनो ठेक्कापट्टा, खेतीपाती एवं फुर्सदमा निर्माणसम्बन्धी मजदुरी गर्न सहरतिर जान्छन् । ‘जबसम्म समाजमा सामान्य ढंगले बाँचिरहेका इमान्दार व्यक्तिको कदर हुन्न, तबसम्म राजनीतिको आडमा अपराध तथा भ्रष्टाचार भइरहन्छ,’ गिरीले भने, ‘सम्पत्ति भएकाको मात्र इज्जत हुने हुनाले अधिकांश राजनीतिकर्मी पैसा कमाउनलाई पद र शक्तिको चाहना राख्छन् ।’

सेवा गर्ने बहानामा जनता ठग्नेलाई मत नदिने मोरत्त्को कटहरी–४ की ३५ वर्षीया रेश्म खातुनले बताइन् । ‘जितिसकेझैं गरी माला लगाएर लावालस्करसहित झन्डा फहराउँदै भोट माग्न आउँछन्,’ उनले भनिन् । मजदुरी एवं हाटबजार गरेर आफ्नै पौरखले उनी चार सन्तानको हेरचाह गरिरहेकी छन् । हरेक घरपरिवारका सदस्यलाई यो र ऊ गरिदिने भन्दै नेताहरू हिँडिरहेकोमा उनलाई दिक्क लागेको छ । ‘नसक्ने वचन किन दिँदै हिँड्छन्,’ उनले भनिन्, ‘विकासका लागि आउने बजेटलाई इमान्दारीपूर्वक खर्च गरिदिएमा जनता स्वत: सुखी भइहाल्छन् नि ।’ मोरङको निर्वाचन क्षेत्र नं ४ मा कटहरी गाउँपालिका पर्छ । ९९ हजार १ सय २३ मतदाता भएको उक्त निर्वाचन क्षेत्रमा कटहरी एवं ग्रामथान गाउँपालिकाका सबै बडा, बेलबारी नगरपालिकाको वडा नं ५ देखि ७ र विराटनगर महानगरपालिकाको १, २, ३, ८, १० र १९ वडा पर्छ ।

कटहरीकै कुल मतदाता संख्या २३ हजार १ सय २६ हो । कटहरी–२, हल्दीबारीका ५० वर्षीय पञ्चु राजबंशीले चुनाव जितेपछि पाँच वर्षसम्म नोटले भोरा भर्ने बाहेक कसैले केही गर्लान्जस्तो नलागेको बताए । ‘विराटनगर नजिकैको हाम्रो टोलमै हेर्नुस्, न स्वास्थ्य चौकी छ, न त बच्चाबुच्चीका लागि प्राथमिक विद्यालय,’ उनले भने, ‘बच्चाबुच्ची सहरबजारतिर पढ्न जानुपर्छ, पानी पर्‍यो भने घरमै बस्नुपर्छ ।’

नेताहरूले भोटकै लागि गरिरहेको मायाप्रेमको नौटंकी देखेर लाज लाग्ने गरेको मोरङको जहदा गाउँपालिका–६ का १८ वर्षीय शिवनाथ सन्थालले बताए । जहदामा कुल २२ हजार ८ सय ७६ मतदाता छन् । ‘अरू बेला गरिबलाई देखेर नाक खुम्चयाउने नेताहरू यतिखेर कति न माया गरेजस्तै गरी हाम्रो काँधमा हात हालेर गफ गर्छन्, अनुहारमा लागेको फोहोर सफा गर्छन्,’ उनले भने ।

प्रकाशित : मंसिर ३, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?