१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ध्वंसात्मक गतिविधि रोक्छु : प्रधानमन्त्री

मोहन बुढाऐर

डडेलधुरा — प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक क्रियाकलाप पूर्ण निस्तेज पार्ने बताएका छन् । उनले सुरक्षा व्यवस्था कडा पार्दै आक्रमण तथा विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्ति, समूहलाई कडा कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

ध्वंसात्मक गतिविधि रोक्छु : प्रधानमन्त्री

‘चुनाव प्रभावित पार्ने गरी भएका आक्रमणका घटनाको म घोर भत्र्सना गदर्छु,’ प्रेस युनियन डडेलधुराले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस्ता गतिविधिमा संलग्नलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने छु ।’ प्रधानमन्त्री देउवाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने गरी सुरक्षा व्यवस्था मिलाइने बताए । ‘म तुरुन्तै राजधानी फर्कंदै छु, काठमाडौं पुग्नेबित्तिकै सुरक्षा बैठक बोलाउँछु,’ उनले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कडा सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउन निर्देशन दिनेछु ।’

उनले निर्वाचन तोकिएकै समयमा शान्तिपूर्ण ढंगले गराउनु सरकारको कर्तव्य भएको बताए । ‘यस प्रकारका आक्रमणका घटनाले निर्वाचन कार्यतालिका प्रभावित हुँदैन,’ उनले भने, ‘निर्वाचन प्रभावित हुने कुरामा कसैले शंका नगरे हुन्छ ।’

प्रदेश ७ को राजधानी कहाँ रहला भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले यसबारे प्रदेश सभाले निर्णय गर्ने बताए ।

चार दिनदेखि गृहजिल्ला डडेलधुरामा रहेका देउवाले पश्चिम सेती र पञ्चेश्वर जलविद्युत् आयोजना निर्माण गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

जिल्लाको भित्री मधेसअन्तर्गत पर्ने आलितालको घरेलुस्थित चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरूले मुलुकको विकास र भलो गर्न नसक्ने आरोप लगाए । प्रधानमन्त्री देउवाले वन मुद्दा लागेकाहरूको मुद्दा फिर्ता लिने प्रतिबद्धता पनि जनाए ।

उपत्यकामा थप कडाइ
काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै पछिल्लो समय देशका विभिन्न स्थानमा विस्फोटका घटना बढेपछि प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था थप कडा पारेको छ । महानगरीय प्रहरी परिसरले उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा शुक्रबारदेखि आकस्मिक जाँच र खानतलासी व्यापक बनाएको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख एआईजी जयबहादुर चन्दले सूचना संकलन तीव्र पार्नुका साथै व्यापक प्रहरी परिचालन गरिएको बताए । तीनै जिल्लाका प्रहरी परिसरले नेकपा (विप्लव) बाट सुरक्षा खतरा रहेको भन्दै पार्टी निकट व्यक्तिमाथि निगरानी बढाएका छन् ।

प्रहरी परिसर काठमाडौंले नेकपा (विप्लव) का तीन कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

तीन जनालाई पक्राउपछि सामान्य सोधपुछ गरेर छाडेको छ । परिसरले निर्वाचन सुरक्षामा खलल पुर्‍याउने गतिविधि गरेको भन्दै दोलखा मेलुङ घर भई बागबजार बस्ने पूर्ण श्रेष्ठ, बर्दिया पातलपुर घर भई स्वयम्भू बस्ने टीकाराम चौधरी र सिन्धुपाल्चोक लिशंखु घर भई बूढानीलकण्ठ बस्ने मिलन लामालाई पक्राउपछि अनुसन्धान गरी छाडेको हो । प्रहरीले उक्त समूहका जिल्ला सदस्य जितेन्द्र महर्जनलाई पक्राउ गरी सामाजिक सुरक्षा ऐनअन्तर्गत मुद्दा दायर गरेको छ । चितवन टाँडी घर भई बालाजु बस्ने खेमराज थपलिया र अछाम धमाली घर भई भक्तपुर बस्ने दीपेश शाहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यसैबीच निर्वाचनविरोधी गतिविधिमा संलग्न २ सय ४४ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट पक्राउ गरेको छ । तीमध्ये अधिकांश विप्लव सम्बद्ध कार्यकर्ता छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार सबैभन्दा धेरै दाङबाट २२ र कास्कीबाट १९ जना पक्राउ परेका छन् । उम्मेदवार लक्षित विस्फोटका घटना बढेपछि सुरक्षामा थप कडाइ गरिएको गृहप्रवक्ता नारायण शर्माले बताए । गृहले विज्ञप्ति जारी गर्दै निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडा कारबाही गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित : मंसिर ४, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?