१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

गिरीलाई यादवको चुनौती

भरत जर्घामगर

सिरहा — दुवै संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका कांग्रेसका बौद्धिक नेता प्रदीप गिरी यसपटक प्रतिनिधिसभामा सिरहा क्षेत्र १ बाट उम्मेदवार छन् । पछिल्लो स्थानीय निर्वाचनमा वाम गठबन्धनको वर्चस्व रहेको क्षेत्रमा उनको उम्मेदवारीले विशेष चर्चा पाएको छ ।

वाम गठबन्धनले मतदातासँग प्रत्यक्ष भिजेका एमाले नेता गंगाप्रसाद यादवलाई गिरीको प्रतिस्पर्धामा उतारेको छ । दुवै प्रतिस्पर्धी एकै ठाउँ बस्तीपुरका हुन् । गिरी साविक बस्तीपुर ६ र यादव ७ नम्बर वडाका बासिन्दा हुन् । साविक बस्तीपुर गाविस लहान नगरपालिकामा गाभिएपछि १३ र १४ वडामा विभाजित गरिएको छ ।

७८ वर्षीय गिरीले कांग्रेस राजनीतिसँगै देश र विदेशमा समाजवादी चिन्तक र बौद्धिक नेताको परिचय बनाएका छन् । एमाले केन्द्रीय सदस्य ५६ वर्षीय यादव कुशल संगठक र ‘झुपडीमा भिजेका’ नेताका रूपमा परिचित छन् । गिरी पहिलोपटक २०५१ को आमनिर्वाचनमा पश्चिमी सिरहाको साविक क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा उनी समानुपातिक सभासद भए ।

यादव पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका तर्फबाट २०४३ मा बस्तीपुरको उपप्रधानपञ्च र २०५४ मा एमालेबाट बस्तीपुर गाविस अध्यक्षमा निर्वाचित भएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी साबिक क्षेत्र १ बाट पराजित भएका थिए । यादवले गरिब दु:खीको पक्षमा सदैव खटिरहेको, चुस्त संगठन र वाम गठबन्धनको तालमेलका आधारमा आफैंले जित्ने दाबी गरेका छन् ।

२०४८, २०५१ र दोस्रो संविधानसभा निर्वाचनमा जित हासिल गरेको कांग्रेसले यो क्षेत्रलाई आफ्नो पकड मान्दै आएको छ । सिरहाको प्रमुख बजार लहान नगरपालिकासमेत यही क्षेत्रमा परेको छ । विगतमा गढ मानिए पनि स्थानीय निर्वाचनको परिणाम र वाम तालमेलले कांग्रेसलाई रक्षात्मक बनाइदिएको छ । एक नगरपालिका, तीन गाउँपालिका र धनगढीमाई नगरपालिकाको २ वडा रहेको क्षेत्र १ मा लहान नगरपालिकाका ९ वडाबाहेक कुनै तहमा पनि कांग्रेसले जित्न सकेको छैन ।

स्थानीय निर्वाचनमा लहान नगरपालिका र सखुवानानकारकट्टी गाउँपालिकामा एमाले तथा भगवानपुर र लक्ष्मीपुर पतारी गाउँपालिका संघीय समाजवादी फोरमले जितेका छन् । लहान र लक्ष्मीपुर पतारीमा कांग्रेस दोस्रो तथा भगवानपुर र सखुवानानकारकट्टी गाउँपालिकामा तेस्रो स्थानमा छ । ४ वटै स्थानीय तहमा गरी एमालेको २० हजार ३ सय ७५, फोरमको १५ हजार ६६, कांग्रेसको १५ हजार १२ तथा माओवादी केन्द्रको पोल्टामा ३ हजार ६ सय २१ मत परेको थियो ।

यस क्षेत्रका प्रभावशाली नेता लहानका पूर्वनगरप्रमुख लगनलाल चौधरीसमेत राप्रपा छाडेर एमालेबाट प्रदेशसभा उम्मेदवार बनेका छन् । संघीय समाजवादी फोरमले पूर्वबिनाविभागीय मन्त्री एवं पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र २ बाट विजयी राजलाल यादवलाई प्रतिस्पर्धामा उतारेको छ ।

‘स्थानीय तहमा गुमाएको जनाधार पुन: कायम गर्न नयाँ ढंगले संगठन निर्माण र कार्यकर्ता परिचालन गरिसकेका छौं,’ कांग्रेस सिरहा क्षेत्र १ का सभापति अचमितलाल चौधरीले भने, ‘हाम्रा उम्मेदवार गिरीको राष्ट्रिय छवि र लोकप्रियताको कारण मतदाता आकर्षित गर्न सजिलो भएको छ ।’

प्रकाशित : मंसिर ४, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?