१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तन्नेरीलाई पाकाको चुनौती

म्याग्दी — आसन्न प्रदेशसभा निर्वाचनमा जिल्लाका प्रदेशसभाको दुवै क्षेत्रमा तन्नेरीलाई पाकाहरूले टक्कर दिएका छन् । प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा वाम गठबन्धनबाट उम्मेदवार माओवादीका विनोद केसी र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भीमप्रसाद गौचनबीच प्रतिस्पर्धा छ ।

केसी ३० वर्षीय र गौचन ७७ वर्षीय हुन् । उमेरसँगै पञ्चायतकालदेखि राजनीतिको अनुभवी गौचनलाई युवा नेता केसी सजिला प्रतिस्पर्धी भने होइनन् । 

सहिद परिवारबाट ०६२/६३ पछि वाईसीएल हुँदै राजनीतिमा आएका केसी यातायात व्यवसायी पनि हुन् । १९ वर्षकै उमेरमा प्रधानपञ्च भएका गौचन जिल्ला पञ्चायत सभापति र राष्ट्रिय पञ्चायत सदस्यसम्म भएका हुन् । उनको राजनीतिक यात्रा विवादास्पद मानिए पनि तन्नेरी प्रतिस्पर्धीलाई कडा चुनौती भएको अवस्था छ । 

‘विगतदेखि नै हामी वामपन्थीले निरन्तर लिड गरेको क्षेत्र हो, त्यसमाथि प्रतिद्वन्द्वीको विवादास्पद हुनु र राजनीतिले युवा पुस्ताको माग गरेकाले जित कसको पक्षमा पर्छ मैले भन्नै पर्दैन,’ केसीले भने, ‘थारो भैंसीले लैनो हुँदाका कथा हाल्नुभन्दा दीर्घकालीन योजनाबद्ध काम गर्न चाहन्छु । मसँग योजना छन् ।’

वाम गठबन्धनका केसीमाथि समाजमा छिटै घुलमिल गर्न नसक्ने, अध्ययनशील नहुने र राजनीतिमा काँचो भन्ने आरोप छन् । तर, बेनीमा उनले खेलकुद विकासका लागि गरेका छरिता काम मन पराइएका छन् । उनका प्रतिस्पर्धी गौचनसँग ६० वर्षे राजनीतिक अनुभव छन् । उनको कार्यकालमा धेरै अपजस पनि भागमा परेको छ । तर, विकास पूर्वाधारमा धेरै काम गरेको जस उनको पनि जिल्लवासीले मान्छन् । 

गौचनमाथि आफू सरकारी उम्मेदवार रहँदा ०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्ता र शक्तिको दुरुपयोग गर्दा शिख र सिंगामा तीन जना जनपक्षीय उम्मेदवारका कार्यकर्ता मारिएको घटनामा मुख्य दोषी रहेको आरोप लाग्ने गरेको छ ।

सोही विषय समाचार प्रकाशित भएपछि सम्पादक पदम ठकुराठीलाई होली हानी हत्या गर्न खोजेको अभियोगमा उनी र भाइ जगत गौचनले जेल परेका थिए । ‘शिख घटना हुँदा म ५ दिनमा पुग्न सकिने जिल्लाको दुर्गम बस्ती गुर्जामा थिएँ ।’ गौचन आफ्नो सफाइमा भन्छन्, ‘कसरी मैले हत्या गराउनु ?’

 

प्रकाशित : मंसिर ५, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?