कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नेपाली जमघटमा चिनियाँ बोली

काठमाडौं — अलिअलि गर्दै हल भरियो । स्वागतमा उभिएकी थिइन् एक चिनियाँ युवती । ‘निहाऊ !’ एकले अर्कालाई अभिवादन चिनियाँ भाषामै गरे र थप कुराकानी पनि चिनियाँ लवजमै सुनिन थाल्यो ।

मंगलबार अपराह्न होटल अन्नपूर्णको कुमारी हलमा सयौं नेपाली जिब्रोले चिनियाँ भाषा बोलेको दृश्य देख्नेहरू अचम्मित देखिन्थे । ‘यो हामी चीनमा पढेर आएका विद्यार्थीको जमघट हो,’ दन्त चिकित्सक डा. सुवास घिमिरेले भने । चीनमा उच्च शिक्षा लिन थाल्नुअघि एक वर्ष चिनियाँ भाषा पढ्नैपर्ने नीतिले त्यहाँ पढेर आउने नेपाली रैथानेझैं खररै चिनियाँ भाषा बोल्न सक्छन् । ‘पढ्न चीन जाँदा शिक्षा मात्रै होइन, सांस्कृतिक आदानप्रदान पनि प्रशस्तै हुन्छ,’ डा. हरिशचन्द्र शाह भन्छन्, ‘सन् १९५७ देखि नेपाली चीनमा पढ्न जान थालेका थिए र अहिले त्यहाँ पढेर आउनेको संख्या ५ हजार नाघिसकेको छ ।’

डा. शाह आफैं २०३४ सालमा चिनियाँ चिकित्सा र अकुपन्चर विषय पढेर नेपाल फर्केका हुन् । त्यतिबेला सिकेको चिनियाँ भाषा उनले आजपर्यन्त बिर्सेका रहेनछन् । चीनमा पढेका नेपाली विद्यार्थीको चौथो सम्मेलन उद्घाटनमा उनले चिनियाँ भाषामै सम्बोधन गरे ।

चीनमा चिकित्सा, इन्जिनियरिङ र बिजनेसलगायत विधामा धेरैजसो विद्यार्थी आकर्षित भइरहेको घिमिरेको अनुभव छ । चीनबाट फर्केपछि नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेका विद्यार्थीले गठन गरेको ‘नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्’ ले बर्सेनि भेला गर्दै आएको छ । परिषदका अध्यक्ष छन् उनै हरिशचन्द्र शाह । ‘देशबाहिर एकै खालको सांस्कृतिक र शैक्षिक अनुभवबाट गुज्रिएका हामीहरू भेला भएर दुई देशको मित्रता अझ प्रगाढ बनाउन के गर्न सकिन्छ भनेर छलफल गर्छौं,’ उनले सुनाए, ‘चीनमा ज्ञान लिएर फर्केका हामीहरूले नेपालमा धेरै काम गरिसकेका पनि छौं, त्यसको पनि लेखाजोखा गरेर अघि बढ्ने योजना पनि बुन्दै छौं ।’

चिनियाँ दूतावासले यी विद्यार्थीको सम्मेलन आयोजना गर्न सघाउ पुर्‍याएको थियो । चीनमा पढेर आएका यति धेरै विद्यार्थीले यतिका प्रगति गरेको देख्दा निकै खुसी लागेको नेपालका लागि चिनियाँ राजदूत यु होङले बताइन् ।

प्रकाशित : मंसिर ६, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?