२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

भिड्दै विद्यार्थी नेता

हरि गौतम

रुकुम (पश्चिम) — खड्गबहादुर डाँगी नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष छन् । उनी कांग्रेसबाट जिल्लाको प्रदेशसभा ‘ख’ का उम्मेदवार हुन् । उनीसँग भिडदै छन् पूर्वविद्यार्थी नेता गोपाल शर्मा । अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष शर्मा वाम गठबन्धनका उम्मेदवार हुन् ।

डाँगी अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् भने शर्मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक छन् । उनीहरू दुवै चौरजहारी नगरपालिकाका बासिन्दा हुन् । डाँगी १० का हुन् भने शर्मा ५ नम्बर वडाका । उमेर पनि समान, ३९ वर्ष । 

उक्त क्षेत्रमा ३ जनाको उम्मेदवारी परे पनि प्रतिस्पर्धा डाँगी र शर्माबीचमै हुने देखिन्छ । चुनाव प्रचारप्रसारमा व्यस्त दुवैजनाले आफूले जित्ने दाबी गरेका छन् । डाँगीले मूल्य, मान्यता र निष्ठाको राजनीति गरेकै कारण आफूलाई मत आउने तर्क गरे । ‘मैले २२ वर्ष समाजसेवामै समर्पित गरेको छु,’ उनले भने, ‘यो बीचमा आएका कैयन अवसर पनि जनताकै निम्ति त्यागेकाले परिणाम मेरै पक्षमा हुनेमा ढुक्क छु ।’ प्रचारप्रसार क्रममा सबैतिरबाट साहानुभूति र सद्भाव पाएको उनको भनाइ छ । गठबन्धन उम्मेदवार शर्माले जिल्लामा माओवादीको जनाधार बलियो रहेको, त्यसमा पनि एमाले थपिएपछि आफ्नो विजय पक्का भइसकेको बताए । ‘जनताको माग र आवश्यकताको पहिचान जति यो गठबन्धनले गरेको छ त्यति अरूले गर्दैनन्, यसबीच भएका विकास निर्माण र थालिएका कामले यही भन्छन्,’ उनले भने, ‘जनताको माग सम्बोधनका लागि पनि गठबन्धनको जित हुनेमा शंका छैन ।’ गठबन्धनले रुकुमलाई समृद्ध बनाउन समग्र विकासको अवधारणा र नीति तयार पारेको शर्माको भनाइ छ । 

मुसीकोट नगरपालिकाका वडा १२, १३, १४, त्रिवेणी र सानीभेरी गाउँपालिका तथा चौरजहारी नगरपालिका प्रदेश ‘ख’ मा पर्छन् । उक्त क्षेत्रमा ४२ हजार ३ सय ७७ मतदाता छन् । स्थानीय तहमा उक्त क्षेत्रका ३ स्थानीय तह माओवादीले जितेको छ । मुसीकोट नगरपालिकाका वडामध्ये १३ माओवादी र १२, १४ नम्बर वडा कांग्रेसले जितेका छन् ।

प्रकाशित : मंसिर ६, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?