२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विकासको जस लिँदै भोट दाबी

गुल्मी — दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको माहोल तातेको छ । क्षेत्र नम्बर १ मा एमाले सचिव प्रदीप ज्ञवाली वाम गठबन्धनबाट र कांग्रेसका चन्द्र भण्डारी प्रतिस्पर्धामा छन् भने क्षेत्र नम्बर २ मा गठबन्धनबाट एमाले सचिव गोकर्ण विष्ट र कांग्रेसका चन्द्र केसी आमने–सामने छन् ।

दुवै विकास निर्माणमा योगदान पुर्‍याएको बताउँदै भोट माग्न व्यस्त छन । चार दिनअघि रेसुङ्गा नगरपालिका–२ धागीथुममा घरदैलोमा भेटिएका यी उम्मेदवार २ सय मिटर वरपर थिए । ग्रामीण क्षेत्रमा वडा भेला गरेर आफ्ना कुरा राखेका उनीहरूले सदरमुकाममा भने घरदैलोमा जोड दिएका थिए । त्यस क्षेत्रमा सदरमुकाम रेसुङ्गा नगरपालिकाका ६ वडा रहेका छन् ।पूर्वऊर्जामन्त्री विष्ट विद्युत् चुहावट नियन्त्रणका कारण चर्चामा थिए । जिल्लामा अधिकांश ठूला आयोजना र निर्माणका काम आफ्नै पालामा भएको दाबी उनले गरे । पूर्वजिविस सभापति केसीले २०४९ सालमा ७ दिन खर्चेर जिल्लामा पहिलो डोजर भित्र्याएको जनाउँदै पूर्वाधार निर्माणको थालनी गरेको बताए । ‘त्यही डोजरले जिल्लाका अधिकांश सडकको ट्रयाक खोलेको हो,’ उनले भने, ‘सडक, शिक्षा, खानेपानी र स्वास्थ्य क्षेत्रमा सुधारको सुरुवात गरेको हुँ ।’

यसअघिका प्रतिबद्धता धेरै पूरा गरेका कारण मतदाताले आफूलाई पत्याउने विष्टको भनाइ छ । प्रत्येक वडामा स्वास्थ्यचौकी र विद्यालय भवन निर्माण र ग्रामीण विद्युतीकरणमा योगदान पुर्‍याएको उनले दाबी गरे । तम्घास–सिमलटारी–प्यूठान–भालुबाङ सडकको बहुवर्षीय ठेक्कादेखि एक दर्जन ठूला सडक निर्माण आफ्नो पालामा भएकाले मतदाताले पत्याउने विष्टले बताए । केसीले पनि यी पूर्वाधारको सुरुवात आफूले गरेको दाबीसहित मत मागिरेहका छन् । यहाँ प्रतिस्पर्धीबीच आरोप–प्रत्यारोप सुनिँदैन ।

विष्टले साबिक ३ नम्बर क्षेत्रबाट २०५६ को आमनिर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए भने २०६४ मा माओवादी उम्मेदवार चन्द्रबहादुर थापासित पराजित भएका हुन् । २०३३ सालदेखि पार्टीको महासमिति सदस्य रहेका केसी भने १८ वर्षपछि चुनावी मैदानमा छन् । २०५६ मा उनी झिनो मत अन्तरले पराजित भएका थिए । २०५६ सालमा दुवैले निर्वाचन क्षेत्रमा पैदल प्रचार कार्यक्रम गरेका थिए । अहिले सबै वडामा गाडी पुग्छन् । उनीहरू पनि गाडी चढेर घरदैलोमा पुगिरहेका छन् ।

गत संविधानसभा निर्वाचनमा विष्टले प्रतिद्वन्द्वीलाई दोब्बर मतान्तरले पराजित गरेका थिए । त्यसबेला बाँकी सबै प्रतिस्पर्धीले प्राप्त गरेको मत जोडदासमेत उनको धेरै थियो । यसपालि माओवादीसित गठबन्धन भएकाले थप बलियो बनाएको उनले बताए । जिल्ला आउजाउ गरिरहने भएकाले मतदातासित आफ्नो ‘ग्याप’ नभएको उनले बताए । यहाँ वाम गठबन्धनबाट प्रदेश ‘क’ मा एमालेका खड्ग केसी र ‘ख’ मा माओवादीबाट दिनेश पन्थी उम्मेदवार छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार केसी यसपालि मतदाताले पालो दिनुपर्नेमा जोड दिन्छन् । ‘१८ वर्ष एउटैले राज गरे,’ उनले भने, ‘यसपालि मलाई अवसर दिनुपर्छ ।’ यस क्षेत्रमा ९५ हजार मतदाता रहेका छन् ।
 
यस्तो छ विगत
कांग्रेसका निवर्तमान जिल्ला पार्टी सभापति केसीको राजनीतिक यात्रा २०२९ सालमा नेविसंघको जिल्ला सचिव हुँदै सुरु भएको थियो । लगत्तै २०३१/०३२ मा त्रिचन्द्र क्याम्पसमा भएको विद्यार्थी आन्दोलनमा सहभागी भए । २०३६ सालको जनमत संग्रहमा उनलाई राजकाज मुद्दा लाग्यो । त्यसपछि विभिन्न चरण गरेर उनले ३ वर्ष जेल जीवन बिताएको जनाए । 

प्रजातन्त्र स्थापनापछि भएको पहिलो स्थानीय निकाय निर्वाचन जितेर उनी २०४९ देखि ०५४ सम्म जिविस सभापति बनेका थिए । २०५६ मा आमनिर्वाचन लडेर पराजित भएका थिए ।
२०३५/०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका विष्ट त्यस क्रममा १८ पटकसम्म जेल बस्नु परेको छ । उनी युवासंघका २ पटक अध्यक्ष भइसकेका हुन् । त्यसपछि पार्टी केन्द्रीय सदस्य बनेका उनी स्थानीय निकायमा भौतिक पूर्वाधार विभाग प्रमुख बने । त्यसपछि विद्यार्थी, युवाफाँट हेरेका उनी हाल पार्टी सचिवको जिम्मेवारीमा छन् । जिल्लाबाट २०५६ र २०७० को चुनाव जितेर केन्द्रमा प्रतिनिधित्व गरेका उनी ऊर्जामन्त्री बनिसकेका छन् ।

प्रकाशित : मंसिर ६, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?